क्यानडाको टुम्लर रिज स्कूल गोलीकाण्डमा १८ वर्षीय जेसी भान रुट्सेलार दोषी

स्थानीय समयअनुसार मंगलबार दिउँसो १ः३० स्कूलमा गोली चलिरहेको सूचना आयो । प्रहरी २ मिनेटमै पुगेर भित्र प्रवेश गर्‍यो । जेसी मृत अवस्थामा फेला परेका थिए । उनको साथमा एउटा लामो राइफल र ह्यान्डगन थियो ।

माघ २९, २०८२

कान्तिपुर संवाददाता

What you should know

काठमाडौँ — क्यानडाको ब्रिटिस कोलम्बियास्थित टुम्लर रिज सेकेन्डरी स्कूलमा भएको गोलीकाण्डमा १८ वर्षीय जेसी भान रुट्सेलार दोषी रहेको ठहर प्रहरीले गरेको छ । प्रहरीका अनुसार जेसी घटनास्थलमै मृत्यु अवस्थामा अवस्थामा भेटिएका थिए ।

उनले पहिले आफ्नै घरमा ३९ वर्षकी आमा र ११ वर्षका सौतेनी भाईलाई गोली हानेका थिए । 

त्यसपछि स्कुलमा सामुहिक गोली चलाउँदा ६ जना मारिए । जसमा ३९ वर्षीया एक महिला शिक्षिका, १२ वर्षीया तीन  छात्रा र क्रमशः १२ र १३ वर्षका छात्र छन् । घटनामा कम्तीमा २५ जना घाइते भएका छन् ।

पुरुषका रुपमा जन्मिएका जेसीले ६ वर्षदेखि आफुलाई महिला पहिचान गर्न थालेको आरसीएमपीका डेप्युटी कमिस्नर ड्वेन म्याकडोनाल्डले बताए । ‘जेसी जैविक पुरुष जन्मिएका थिए, ६ वर्षअघि महिलातर्फ रुपान्तण हुन थाले,’ उनले भने ।

स्थानीय समयअनुसार मंगलबार दिउँसो १ः३० स्कूलमा गोली चलिरहेको सूचना आयो ।  प्रहरी २ मिनेटमै पुगेर भित्र प्रवेश गर्‍यो ।  जेसी मृत अवस्थामा फेला परेका थिए । उनको साथमा एउटा लामो राइफल र ह्यान्डगन थियो । 

प्रहरीका अनुसार विगतमा जेसीको मानसिक स्वास्थ्यमा समस्या देखिएको रिपोर्ट आएको थियो । त्यस्तै, उनको घरबाट हतियार पनि बरामद भएको थियो । बन्दुकको लाइसेन्स अवधि पनि समाप्त भइसकेको थियो । 

प्रधानमन्त्री मार्क कार्नीले यस घटनालाई ‘अकल्पनीय क्रूरता’ भनेका छन् । बस्तीका काउन्सिलर क्रिस नोर्बुरीले बीबीसी रेडियोसँग कुराकानी गर्दै यस घटनाले सम्पूर्ण बस्तीलाई नै  स्तब्ध पारेको बताए ।

‘यो अति नै सुरक्षित समुदाय हो । यहाँ हामीले ढाकामा ताला पनि लगाउने गर्दैनौं। अपराको चिन्ता लिनुपर्दैन थियो । तर, नसोचेको घटना भयो ।’ टुम्लर रिज निकै सानो बस्ती हो । यहाँ झन्डै २४०० बासिन्दा छन्, स्कूलमा ७ देखि १२ कक्षाका १६० विद्यार्थी पढ्छन् । 

कान्तिपुर

Link copied successfully