बंगलादेशका अन्तरिम सरकारप्रमुखले भने, ‘ निर्वाचन नयाँ बंगलादेशको जन्मदिन’

दिउँसो दुई बजेसम्म ढाकाका ५ निर्वाचन क्षेत्र (ढाका–१, ढाका २, ढाका ३, ढाका १९ र ढाका–२० ) मा ४० प्रतिशतभन्दा धेरै मत खसेको अतिरिक्त सहायक कमिस्नर महबुब उल्लाह मजुम्दरले द डेली स्टारलाई जानकारी दिएका छन् । 

माघ २९, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार प्रोफेसर मोहम्मद युनुसले आजको निर्वाचन र जनमतसंग्रहलाई राष्ट्रिय उल्लास र नवीकरणको क्षणका रुपमा व्याख्या गरेका छन् ।

ढाकाको गुलशन मोडेल हाई स्कूल एन्ड कलेजमा बिहान १०∶२६ मा मतदान गरेपछि पत्रकारहरूसँग बोल्दै उनले भने, ‘यो नयाँ बंगलादेशको जन्मदिन हो, हामी दिनभर यो जन्मदिन मनाउनेछौं ।’

उनले थपे,‘आजको प्रक्रियाले विगतलाई अस्वीकार गरेको छ । कालो सपनाको विगत पूरै फालिसक्यौं । अब हरेक चरणमा नयाँ बङ्गलादेश निर्माणको अवसर प्राप्त भएको छ ।’

उनले जनमतसंग्रहले पुरै बंगलादेशलाई बदल्ने आशा व्यक्त गरे । 

’जनमतसंग्रहबाट सम्पूर्ण बङ्गलादेश बदलिनेछ,’ उनले भने,‘मलाई निकै खुसी लागेको छ, यो सबैका लागि ठूलो उल्लासको दिन हो—स्वतन्त्रताको दिन, कालो सपनाको अन्त्य र नयाँ सपनाको सुरुवात हो ।’

बंगलादेशमा संसदीय निर्वाचनसँगै जुलाई वडापत्र २०२५ का विषयमा जनमत संग्रह पनि चलिरहेको छ । यसमा मतदाताको उपस्थिती उल्लासमय देखिन्छ । 

दिउँसो दुई बजेसम्म ढाकाका ५ निर्वाचन क्षेत्र (ढाका–१, ढाका २, ढाका ३, ढाका १९ र ढाका–२० ) मा ४० प्रतिशतभन्दा धेरै मत खसेको अतिरिक्त सहायक कमिस्नर महबुब उल्लाह मजुम्दरले द डेली स्टारलाई जानकारी दिएका छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully