बंगलादेशमा मतदानका लागि मानिसहरु गाउँमा, ढाकामा सवारी चाप घट्‍यो

युरोपेली संघको निर्वाचन पर्यवेक्षण मिसन (ईयु–ईओएम) ले चुनावी वातावरण निकै सकारात्मक रहेको निष्कर्ष निकालेको छ ।

माघ २८, २०८२

कान्तिपुर संवाददाता

What you should know

काठमाडौँ — बंगलादेशमा मतदानका लागि मानिसहरु गाउँ गएपछि ढाकामा सवारी चाप घटेको छ । त्यसैगरी, भोलि हुने मतदानका लागि ढाकाका चेकपोइन्ट र मुल सडकहरूमा गस्ती तिव्र पारिएको छ ।

शान्तिपूर्ण मतदान वातावरण सुनिश्चित गर्न र कुनै पनि अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको हो ।बिहानैदेखि राजधानीमा सवारी साधनको आवागमन उल्लेखनीय रूपमा पातलो छ, किनकि धेरै बासिन्दाहरू मतदान गर्न आफ्नो गाउँ घरतिर छन् । 

शहरका विभिन्न स्थानमा प्रहरीले सवारी साधनहरू र शंकास्पद व्यक्तिहरूलाई खानतलासी गरिरहेको द डेली स्टारले जनाएको छ ।

कावरन बजार, मिरपुर, उत्तरा, रामपुरा, बनानी र बड्डा लगायत क्षेत्रहरूमा चकजाँच कडा छ । मोतीझील डिभिजनका उप कमिस्नर मुहम्मद हारुन अर रशिदले सुरक्षा सुनिश्चित गर्न महत्वपूर्ण बिन्दुहरूमा चेकपोइन्टहरू स्थापना गरिएको र गस्ती टोलीहरू तैनाथ गरिएको बताए  ।

'मतदान केन्द्रमा आधारित कर्तव्यका लागि तोकिएका प्रहरी कर्मचारीहरूलाई सोही अनुसार खटाइनेछ । प्रहरी बाहेक सेना र सीमा रक्षक बंगलादेशका सदस्यहरूले पनि आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छन्," उनले भने,' स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गर्न सेनाले सहयोग गर्ने पनि बताए ।'

१२ करोड ७० लाख मतदाता रहेको बंगलादेशमा जुलाई-अगस्ट २०२४ को जेनजी विद्रोहपछि पहिलोपटक संसदीय निर्वाचन हुन लागेको हो । बिहीबारै संसदीय निर्वाचनसँगै जुलाई चार्टर अनुमोदन गर्ने विषयमा जनमतसंग्रह पनि हुनेछ ।

निर्वाचन आयोगका अनुसार यस निर्वाचनमा ५ करोड ६० लाख मतदाना १८ देखि ३७ वर्ष उमेर समुहका छन् । त्यसमध्ये ४५ लाख मतदाता नयाँ छन् । 

बंगलादेशको संसद्को कुल ३ सय ५० सिटमध्ये अहिले ३ सय स्थानमा मतदान हुनेछ । ५० सिट महिलाका लागि आरक्षित छ । पार्टीको शेयरका आधारमा उनीहरुका उम्मेदवार यहाँ चयन हुन्छन् । 

युरोपेली संघको निर्वाचन पर्यवेक्षण मिसन (ईयु–ईओएम) ले चुनावी वातावरण निकै सकारात्मक रहेको निष्कर्ष निकालेको छ । 

‘हामीले देशका सबै जिल्ला र क्षेत्रका उम्मेदवारहरू र अधिकारीहरूसँग कुरा गरिरहेका छौं र वातावरण सामान्य र निकै सकारात्मक छ,’ प्रमुख पर्यवेक्षक इभार्स इजाब्सले मंगलबार बिहान ढाकामा आयाजित पत्रकार सम्मेलनमा भने । उनले निर्वाचन भयरहित र तटस्थ हुने आशा व्यक्त गरे ।

युरोपेली संघले बंगलादेशमा अहिलेसम्मकै सबैभन्दा ठूलो निर्वाचन पर्यवेक्षण मिसन पठाएको छ, जसमा २०० भन्दा बढी पर्यवेक्षकहरू छन् । जनवरीको सुरुदेखि नै कम्तीमा ६० दीर्घकालीन पर्यवेक्षकहरूले यस क्षेत्रमा काम गरिरहेका छन् । निर्वाचनमा नर्वे, स्विट्जरल्याण्ड र क्यानडाका पर्यवेक्षकहरू पनि सहभागी छन् ।

कान्तिपुर

Link copied successfully