बुधबारै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट्ने कार्यक्रम छ । यस भेटमा ईरानको आणविक कार्यक्रम र गाजाको भविष्यबारे छलफल हुने अपेक्षा गरिएको छ ।
काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीचको भेटअघि इजरायलले आफ्नो नियन्त्रणमा रहेको प्यालेस्टाइनी भूभाग वेस्ट बैंकमा आक्रमण गरेको छ ।
हेबर्नसहितका इलाकामा इजरायली सुरक्षा कर्मीले टियर ग्याँस फालेका छन् ।
यसै साता इजरायलले वेस्ट बैंकमा आफ्नो प्रभाव बिस्तार गर्ने लक्ष्यसहित नयाँ बसोबास कानुन ल्याएको थियो । प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय एजेन्सीले यस कानुनको निन्दा गरेको छ । यसले प्यालेस्टिनीहरुको भविष्यलाई थप बर्बाद गर्ने निष्कर्ष राष्ट्रसंघको छ ।
अन्तर्राष्ट्रिय कानुन विपरीतको यस कदमले दुई- देश समाधानलाई थप जटिल बनाउने राष्ट्रसंघले जनाएको छ । नयाँ कानुनअनुसार यहुदीहरुले यस अवैध नियन्त्रणमा रहेकोक्षेत्रमा सहजै जग्गा–जमिन किन्न सक्नेछन् । सन् १९६७ देखि इजरायलले यस क्षेत्रलाई आफ्नो नियन्त्रणमा राखेको छ । त्यसैगरी, इजरायलले गाजामा पनि आक्रमण गरेको छ । दक्षिणी गाजाको खान युनुस क्षेत्रमा गोली चलाएको हो ।
बुधबारै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट्ने कार्यक्रम छ । यस भेटमा ईरानको आणविक कार्यक्रम र गाजाको भविष्यबारे छलफल हुने अपेक्षा गरिएको छ ।
गाजामा अक्टुबर २०२३ देखि इजरायलको आक्रमणमा परेर कम्तिमा ७२ हजार ४७ जनाको मृत्यु भइसकेको छ । झन्डै १ लाख ७१ हजार मानिस घाइते छन् ।
