जापानमा सत्तारुढ पार्टीलाई दुई तिहाई मत, शेयर बजारमा नयाँ किर्तिमान

ताकाइचीले सुरक्षा नीतिलाई पनि संशोधन गरिने बताएकी छिन् । जसले जापानको आक्रमक सैन्य क्षमता बढाउनेछ । त्यस्तै, हतियार निर्यातमाथि रोकलाई हटाउनेछ । यस कदमले दोस्रो विश्वयुद्धपछि संविधानले परिकल्पना गरेको शान्तिवादी मान्यताबाट जापानलाई टाढा लैजानेछ ।

माघ २६, २०८२

कान्तिपुर संवाददाता

Japan's ruling party wins two-thirds of the vote, shares hit new record

What you should know

काठमाडौँ — जापनमा प्रधानमन्त्री साने ताकाइचीको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले दुई तिहाई मत ल्याएको छ । आइतबारको चुनावमा एलडीपीले ४६५ सिटमध्ये ३१६ सिट जित्यो । 

सन् १९४७ यता जापानको तल्ला सदनमा कुनै पनि पार्टीले बहुमत ल्याएको यो पहिलोपटक हो । त्यसैगरी, एलडीपीको गठबन्धनमा रहेको जापान इनोभेसन पार्टीले ३६ निर्वाचन क्षेत्रहरूमा विजय हासिल गरेको छ । यससँगै सत्तारुढ गठबन्धन कुल ३५२ सिटमा विजयी भयो । 

ताकाइचीसामु अब जापानको अर्थतन्त्रलाई मजबुत बनाउनुपर्ने चुनौती छ । मध्य फेब्रअरीमा संसद् बैठक सुरु हुनासाथ उनले बजेट विधेयकका लागि काम गर्नुपर्ने छ ।

न्युन आय र बढ्दो मूल्यवृद्धिले दैनिक जीवनमा निम्त्याएका समस्या समाधान गर्नेगरी बजेट ल्याउनु उनको सरकारको प्रमुख चुनौती हो । उनले सुरक्षा नीतिलाई पनि संशोधन गरिने बताएकी छिन् । जसले जापानको आक्रमक सैन्य क्षमता बढाउनेछ । त्यस्तै, हतियार निर्यातमाथि रोकलाई हटाउनेछ । यस कदमले दोस्रो विश्वयुद्धपछि संविधानले परिकल्पना गरेको शान्तिवादी मान्यताबाट जापानलाई टाढा लैजानेछ ।

विदेशीमाथि कडाई गर्ने, उनीहरुका गतिविधि नियन्त्रण गर्नेलगायत नीतिले जनअधिकारलाई अवमुल्यन गर्ने चिन्ता विज्ञहरुले प्रकट गरेका छन् । ताकाइचीले रक्षा खर्च पनि बढाउने बताइरहेकी छिन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षामा धेरै खर्च गर्न जापानलाई दबाब दिइरहेका छन् । 

शेयर कारोबारमा नयाँ किर्तिमान 

ताकाइचीको जीतपछि जापानमा शेयर कारोबारमा नयाँ किर्तिमान बनेको छ ।  सोमबारको सुरुवाती कारोबारमा निक्केई २२५ सूचकांक ५% भन्दा बढीले बढ्यो । यसले पहिलो पटक ५७,००० को अंक पार गर्‍यो ।

देशमा स्थिरता आउने र व्यवसाय फास्टाउने अपेक्षा गरिएको छ । ताकाइचीले जिम्मेवार तथा आक्रामक वित्तिय नीति अघि बढाउने बताउँदै आएकी छिन् । त्यस्तै, चार महिनाअघि गठन भएको मन्त्रिपरिषद् पुनर्गठन नगर्ने बताएकी छिन् ।

लगानी विश्लेषक युका मारोसेकले ताकाइचीका नीतिहरूले जापानी अर्थतन्त्रलाई बढावा दिनसक्ने बताएका छन् ।

ताकाइचीले कर कटौती गर्ने बताएकी छिन् । घरभाडा र दैनिक सामाग्रीको चर्को मूल्य तिरिरहेका जापानीहरुलाई यसबाट राहत मिल्नेछ । उनले अतिरिक्त खर्च जुटाएर  जापानी अर्थतन्त्रलाई बढावा दिने वाचा गरेकी छिन् । तर, यो पैसा कहाँबाट आउँछ भन्ने स्पष्ट गरेकी छैनन् ।

जापानमा अहिल्यै पनि ऋण ठूलो छ । पहिल्यै कमजोर भइसकेको अर्थतन्त्र थप ऋण लिदाँ अस्थिर हुने चेतावनी विश्लेषकहरुले दिइरहेका छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully