ईरान रिफ्रम फ्रन्टका अजर मन्सौरी, पूर्व कूटनीतिज्ञ मोहसेन अमिनजादेह र पूर्व सांसद् इब्राहिम असगरजादेह देशको राजनीतिक र सामाजिक व्यवस्थालाई खलल पार्ने प्रयास गरेको अभियोगमा पक्राउ
What you should know
काठमाडौँ — ईरानी अधिकारीहरूले गत महिना भएको सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको भन्दै चारजना सुधारवादी राजनीतिज्ञलाई पक्राउ गरेका छन् ।
पक्राउ पर्नेहरूमा ईरान रिफ्रम फ्रन्टका अजर मन्सौरी, पूर्व कूटनीतिज्ञ मोहसेन अमिनजादेह र पूर्व सांसद् इब्राहिम असगरजादेह रहेका छन् । अर्का एक व्यक्तिको नाम अधिकारीहरुले गोप्य राखेको अलजजिराले जनाएको छ ।
अमिनजादेह पूर्व उप–विदेशमन्त्री समेत हुन् । त्यस्तै असगरजादेह ईस्लामिक क्रान्तिताका विद्यार्थी नेता थिए ।
उनीहरुमाथि इजरायल र संयुक्त राज्य अमेरिकाको स्वार्थमा काम गरेको आरोप लगाइएको छ । देशको राजनीतिक र सामाजिक व्यवस्थालाई खलल पार्ने प्रयास गरेको अभियोग पनि उनीहरुमाथि छ ।
मिजान समाचार एजेन्सी एजेन्सीका अनुसार उनीहरुमाथि देशले इजरायल र अमेरिकाबाट सैन्य खतरा सामना गरिरहेको समयमा राजनीतिक र सामाजिक परिस्थितिलाई बिगार्ने उद्देश्यले व्यापक गतिविधिहरू आयोजना र नेतृत्व गरेको आरोप छ ।
इरानको रिफर्म फ्रन्टले मन्सौरी घरबाटै पक्राउ परेको जनाएको छ । जनवरीमा भएको अशान्तिको क्रममा हजारौं इरानीहरूको मृत्यु भएको थियो ।
इरानमा सरकारी दमनले आक्रोश बढ्दै गएको बेला यी गिरफ्तारीहरू भएका हुन् । २८ डिसेम्बरमा सुरु भएको आन्दोलनमा समाजका हरेक तप्का सहभागि भएपछि सरकारले यसलाई दबाउन ठूलो बल प्रयोग गर्योे । दमनको घटना लुकाउनका लागि उसले इन्टरनेटमाथि प्रतिबन्ध पनि लगाएको छ ।
इरानी अधिकारीहरूले विदेशीको इशारामा आन्दोलन भएको बताउँदै आएका छन् । सरकारले जनवरीको अन्त्यमा आन्दोलनका क्रममा ३,११७ जना मारिएको जानकारी दिएको थियो ।
तर बेलायतबाट मानव अधिकारबारे पैरवी गर्ने संस्था ईरान इन्टरनेशनलको वेवसाइटले आन्दोलनमा मृत्यु हुनेको संख्या ३० हजारभन्दा धेरै रहेको जनाएको छ । आन्दोलनमा सबैभन्दा ठूलो दमन ८ र ९ जनवरीमा भएको थियो र यहीबेला सबैभन्दा धेरै मानिस मारिएका थिए ।
