निकै चासोका साथ हेरिएको चुनावमा प्रगतिशील सुधारवादी, सैन्य–समर्थित रूढीवादी र जनवादी शक्तिहरू प्रतिस्पर्धा गरिरहेका छन्।
काठमाडौँ — थाइल्यान्डमा आम निर्वाचनका लागि मतदान सुरु भएको छ।
आइतबार स्थानीय समय अनुसार बिहान ८ बजे मतदान केन्द्रहरू खुलेका र साँझ ५ बजे बन्द हुने अलजजिराले बताएको छ।
निकै चासोका साथ हेरिएको चुनावमा प्रगतिशील सुधारवादी, सैन्य–समर्थित रूढीवादी र जनवादी शक्तिहरू प्रतिस्पर्धा गरिरहेका छन्।
५ करोड ३० लाख दर्ता मतदाता रहेको थाइल्यान्डमा सुस्त आर्थिक वृद्धिदर र बढ्दो राष्ट्रवादी भावनाबारे चर्को बहस भएको थियो।
चुनावमा ५० भन्दा बढी दल सहभागी भए पनि मुख्यगरि पीपुल्स पार्टी, भुमजाइथाई र फ्यु थाइ नै मुख्य प्रतिस्पर्धी मानिन्छ।
५ सय सिटका लागि भइरहेको यो चुनावबाट कुनै पनि दलले स्पष्ट बहुमत हासिल गर्ने सम्भावना कम रहेको सर्वेक्षणहरूले देखाइरहेको बताइएको छ।
यद्यपि, प्रगतिशील पीपुल्स पार्टीले सबैभन्दा धेरै सिट जित्ने अपेक्षा गरिएको छ। तर सेनाको र अदालतहरूको प्रभाव घटाउने, आर्थिक एकाधिकार तोड्ने जस्ता वाचा समेटिएको यो दलको एजेन्डा प्रतिद्वन्द्वीले मन नपराएको उल्लेख गरिएको छ।
यो दल २०२३ मा प्रतिनिधिसभामा सबैभन्दा धेरै सिट जितेको ‘मुभ फर्वार्ड पार्टी’को उत्तराधिकारी हो। तर सैनाद्वारा नियुक्त सिनेटले सत्ता हस्तान्तरण रोकेको थियो।
थाइल्याण्डको राजकीय अपमानसम्बन्धी कडा कानुनमा सुधार गर्न माग गरेपछि उक्त दललाई अदालतले विघटन गरेको थियो।
