पुनर्निर्माणको बाटोमा सिरिया, साउदीसँग उर्जा, दूरसञ्चार र उड्डयनमा लगानी सम्झौता

डिसेम्बर २०२४ मा सिरियामा भएको आन्दोलनले तत्कालीन राष्ट्रपति बसर अल–असदलाई अपदस्थ गरेको थियो । त्यसयता, सत्ता सम्हालेका राष्ट्रपति अहमद अल साराले पुनर्निर्माणको मुद्दालाई प्राथमिकतामा राखेका छन् ।

माघ २५, २०८२

कान्तिपुर संवाददाता

Syria on the road to reconstruction, investment agreements with Saudi Arabia in energy, telecommunications and aviation

What you should know

काठमाडौँ — सिरिया र साउदी अरेबियाले उड्डयन, ऊर्जा, हाउजिङ र दूरसञ्चार क्षेत्रहरूमा अर्बौंको लगानी सम्झौतामा हस्ताक्षर गरेका छन् । दमास्कसको नयाँ नेतृत्वले केही समयअघि सिरियाली लगानी प्राधिकरण गठन गरेको थियो । 

यसको लक्ष्य १४ वर्षको विनाशकारी गृहयुद्धपछि पुनर्निर्माणको यात्रामा विदेशी लगाउनी भित्र्याउने हो । प्राधिकरणका प्रमुख  तलाल अल–हिलालीले शनिबार धेरै सम्झौताहरूको घोषणा गरे, जसमा एलेप्पोमा नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको विकास, कम लागतको सिरियाली–साउदी एयरलाइनको सुरुवात, र देशलाई क्षेत्रीय केन्द्रमा परिणत गर्ने लक्ष्यसहितको दूरसञ्चार परियोजना (सिल्क–लिंक) समावेश छ । 

डिसेम्बर २०२४ मा सिरियामा भएको आन्दोलनले तत्कालीन राष्ट्रपति बसर अल–असदलाई अपदस्थ गरेको थियो । त्यसयता, सत्ता सम्हालेका राष्ट्रपति अहमद अल  साराले पुनर्निर्माणको मुद्दालाई प्राथमिकतामा राखेका छन् ।

सारालाई साउदी अरेबिया, मध्यपूर्वका अन्य देश र अमेरिकाले समर्थन गर्दै आएका छन् ।

यसअघि गत डिसेम्बरमा अमेरिकाले सिरियामाथि लगाएका प्रतिबन्धहरु हटाएको थियो । त्यसयता, सिरियाका विभिन्न क्षेत्रमा यति ठूलो लगानी भित्रिएको यो पहिलोपटक हो । 

साउदी लगानी मन्त्री खालिद अल–फलिहले अलेप्पोमा दुई विमानस्थलहरू विकास गर्न २ अर्ब डलर (७.५ अर्ब साउदी रियाल) एलाफ कोष खडा गरिएको बताए । यसमा साउदीको निजी क्षेत्रले पनि लगानी गर्ने उनले बताए । 

सिरियाका सञ्चार तथा सूचना प्रविधि मन्त्री अब्दुलसलाम हायकलले आफ्नो देशको दूरसञ्चार क्षेत्रमा लगभग १ अर्ब डलर आउने बताएका छन् । एसिया र युरोपबीचको सम्पर्क सञ्जाल बढाउन हजारौं किलोमिटर केबल बिछ्याउने योजना रहेको पनि उनले बताए ।

त्यसैगरी, साउदी एयरलाइन फ्लाइनास र सिरियाली नागरिक उड्डयन प्राधिकरणले ‘फ्लाइनास सिरिया’ नामक नयाँ एयरलाइन स्थापना गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् । सिरियाली पक्षको ५१ प्रतिशत स्वामित्व रहने यस एनलाइनलाई २०२६ को अन्तिम त्रैमासिकमा सञ्चालन गर्ने लक्ष्य राखिएको छ । 

सिरियाको ऊर्जा मन्त्रालयले साउदी अरेबियाको एसीडब्ल्यूए पावरसँग पनि पानी सम्झौतामा हस्ताक्षर गरेको छ । एसीडब्ल्युए मध्य पूर्व र बाहिरका देशहरूमा विद्युत उत्पादन र पानी उत्पादन प्लान्टहरूमा परियोजनाहरू सञ्चालन गर्नका लागि परिचित छ ।

कान्तिपुर

Link copied successfully