आक्रमणको सम्पूर्ण योजना र तालिम अफगानिस्तानमै भएको पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीको भनाइ छ।
काठमाडौँ — पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले इस्लामाबाद हमलाका मास्टरमाइन्ड (मुख्य योजनाकार)लाई पक्राउ गरिएको बताएका छन्।
शुक्रबार इस्लामाबादको इमामबाडास्थित शिया मस्जिदमा भएको आत्मघाती आक्रमणमा ३१ जनाको मृत्यु भएको थियो।
गृहमन्त्री नकवीले शनिबार पत्रकार सम्मेलनका दौरान उक्त आक्रमणका मास्टरमाइन्ड आईएसआईएससँग जोडिएको एक अफगानी नागरिक भएको बताएको बीबीसी हिन्दीले उल्लेख गरेको छ।
घटनामा चारजनालाई पक्राउ गरिएको छ, जसमाथि मस्जिदमा भएको आत्मघाती बम आक्रमणमा सहयाेग गरेको आशंका गरिएको छ। पक्राउ परेका चारजनामध्ये आक्रमणमा ती मास्टरमाइन्ड पनि सामेल भएको नकवीको दाबी छ। आक्रमणको सम्पूर्ण योजना र तालिम अफगानिस्तानमै भएको उनको भनाइ छ।
नकवीले भने,‘अहिले हामीसँग यस्ता मान्छे हिरासतमा छन्, जसले यसपटक आक्रमणकारीलाई कसरी ल्याइयो र तालिम दिइएको थियो भनेर पूरा जानकारी दिएका छन्।’
उनले पाकिस्तानमा रहेका आतंकवादीको जरो अफगानिस्तानमा रहेको समेत दाबी गरे। यद्यपि, अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानको यस्तो दाबीको खण्डन गर्दै आइरहेको छ।
