एक कार्यकारी आदेशमा ट्रम्पले भनेका छन्, ‘भारतले रूसबाट प्रत्यक्ष वा अप्रत्यक्षरूपमा तेल आयात बन्द गर्ने प्रतिबद्धता जनाएको छ।’
काठमाडौँ — अमेरिका र भारतबीच भएको अन्तरिम व्यापार सम्झौताको औपचारिक घोषणा भएको छ।
दुवै देशले शनिबार सम्झौतबारे संयुक्त वक्तव्य जारी गरेको बीबीसी हिन्दीले जनाएको छ।
गत २ फेब्रुवरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग व्यापार सम्झौता भएको घोषणा गरेका थिए। योसँगै भारतविरुद्धको ५० प्रतिशत ट्यारिफलाई घटाएर १८ प्रतिशत बनाउने घोषणा पनि गरिएको थियो।
यद्यपि, यो सम्झौताबारे विस्तृत जानकारी उतिबेला दिइएको थिएन्। तर, अब संयुक्त वक्तव्य जारी भएपछि धेरैकुरामा प्रस्टता आएको छ।
भारतका वाणिज्य मन्त्री पीयूष गोयलले एक्समार्फत सम्झौता सार्वजनिक गर्दै यो सम्झौताले भारतीय निर्यातकर्ता, किसान तथा माछा मार्नेहरुका लागि ३० ट्रिलियन डलरको बजार खुला गरिदिएको उल्लेख गरेका छन्।
व्हाइट हाउसका तर्फबाट जारी एक कार्यकारी आदेशमा ट्रम्पले भनेका छन्, ‘भारतले रूसबाट प्रत्यक्ष वा अप्रत्यक्षरूपमा तेल आयात बन्द गर्ने प्रतिबद्धता जनाएको छ।’
भारतले भने अमेरिकाबाट ऊर्जा उत्पादन खरिद गर्ने बताएको छ। यसका अलावा आगामी १० वर्षमा रक्षा सहयोग बढाउन अमेरिकासँग एक सम्झौतामा सहमति जनाएको उल्लेख गरेको छ।
