रुस र युक्रेनबीचको वार्ता भूमी विवादमा अड्किएको छ । यसअघि पहिलो चरणको वार्तामा पनि यही मुद्दा पेचिलो बनेको थियो ।
काठमाडौँ — रुस र युक्रेनबीच ३ सय १४ जना युद्धबन्दीलाई साटासाट गर्ने सहमति बनेको छ । अबुदाबीमा दोस्रो चरणको शान्ति वार्ताको पहिलो दिन यस्तो सहमति बनेको हो ।
युक्रेनका राष्ट्रपति भोलोदेमेर जेलेन्स्कीले बन्दी साटासाट गर्ने सहमति बनेको र यो महत्वपूर्ण रहेको बताए । ‘बन्दीहरु घर फर्कन पाउनुपर्छ,’ जेलेन्स्कीले संक्षिप्त कुराकानीमा भने ।
युद्ध सुरु भएयता अमेरिकाको मध्यस्थतामा पहिलोपटक रुस र युक्रेन वार्ताको टेबुलमा बसेका हुन् । पहिलो चरणको वार्ता जनवरी २४ मा सुरु भएको थियो । दोस्रो चरणको वार्ता बुधबार सुरु भएको हो ।
मध्यपूर्वका लागि अमेरिकी विशेष दूत स्टिभ विटकोफले शान्ति वार्ता परिणाममुखी बनेको बताए । ‘ ३ सय १४ बन्दी सटासाट भएको छ । महत्वपूर्ण काम बाँकी नै भएपनि यो कदमले युद्ध अन्त्यका लागि वार्ता अघि बढिरहेको देखाउँछ,’ उनले भने ।
रुस र युक्रेनबीचको वार्ता भूमी विवादमा अड्किएको छ । यसअघि पहिलो चरणको वार्तामा पनि यही मुद्दा पेचिलो बनेको थियो । रुसले डोन्बस क्षेत्रबाट युक्रेनी सेना हट्नुपर्ने माग राखेको छ । जसलाई युक्रेनले मानेको छैन ।
