आफ्नो एयरक्राफ्ट क्यारियरतर्फ आएको इरानी ड्रोन खसालिएको अमेरिकाको दाबी

घटनामा कुनै पनि अमेरिकी उपकरणमा क्षति नपुगेको तथा कुनै पनि सैनिक घाइते नभएको बताइएको छ।

माघ २१, २०८२

कान्तिपुर संवाददाता

US claims to have shot down Iranian drone that was heading towards its aircraft carrier

What you should know

काठमाडौँ — अमेरिकाले आफ्नो एयरक्राफ्ट क्यारियरतर्फ आएको एक इरानी ड्रोन खसालिएको दाबी गरेको छ। 

मंगलबार अरब सागरमा एयरक्राफ्ट क्यारियर यूएसएस अब्राहम लिंकनतर्फ आएको इरानी ड्रोन खसालिएको अमेरिकी सेनाका प्रवक्ता क्याप्टेन टिम हकिन्सले बताएको समाचार बीबीसीले उल्लेख गरेको छ।  

यूएसएस अब्राहाम लिंकन  एयरक्राफ्टबाट उडेको एफ–३५सी स्टेल्थ फाइटर जेटले एयरक्राफ्ट र त्यहाँ तैनाथ कर्मचारीहरूको सुरक्षा गर्न ‘आत्मरक्षाका लागि’ उक्त ड्रोन खसालेको हकिन्सले जिकिर गरे।

ड्रोन नजिकिँदा जहाज इरानी तटबाट करिब ५०० माइल टाढा रहेको र घटनामा कुनै पनि अमेरिकी उपकरणमा क्षति नपुगेको तथा कुनै पनि सैनिक घाइते नभएको बताइएको छ। यसबारे तेहरानले भने अहिलेसम्म कुनै टिप्पणी गरेको छैन।

पछिल्लो समय वासिङ्टन र तेहरानबीच तनाव चर्किएको छ। अमेरिकाले इरान नजिकको सागरमा  एयरक्राफ्ट क्यारियर लिएर राखेको छ। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो आणविक कार्यक्रम सीमित गर्ने सम्झौतामा वार्ता नगरे सैन्य कारबाही गर्ने धम्की दिँदै आएका छन्।

तेहरानमा भएको सरकारविरोधी प्रदर्शनमाथि घातक दमन भएको भन्दै इरानमाथि सैन्य कारबाही गर्ने चेतावनी पनि उनले दिएका थिए।

यसअघि इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले आफ्नो  देशमाथि कुनै पनि आक्रमण भए ‘क्षेत्रीय युद्ध’ हुने चेतावनी दिएका थिए। यद्यपि, अमेरिका र इरानबीचको वार्ता यसै साता हुने तय भएको छ।

इरानले आफ्नो आणविक कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण भएको दाबी गर्दै आएको छ र उसले आणविक हतियार विकास गर्न खोजिरहेको आरोप अस्वीकार गर्दै आएको छ।

कान्तिपुर

Link copied successfully