भारतसँग अमेरिकाको व्यापार सहमति, भन्सार शुल्क १८ प्रतिशतमा झारियो 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यस निर्णयबाट खुसी रहेको बताएका छन् । ‘मित्र ट्रम्पसँग कुराकानी गर्न पाउँदा निकै खुसी लागेको छ । भारतमा बनेका सामाग्रीमाथि अब भन्सार घटेर १८ प्रतिशतमात्रै लाग्नेछ, यसले हर्षित छु’ मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘भारतका १ अर्ब ४० करोड जनताको तर्फबाट ट्रम्पलाई यस घोषणाका लागि धन्यवाद् छ ।’

माघ २०, २०८२

कान्तिपुर संवाददाता

US trade deal with India, customs duty reduced to 18 percent

What you should know

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय सामाग्रीमाथि लाग्दै आएको भन्सार शुल्क २५ प्रतिशतबाट १८ प्रतिशतमा झारिएको घोषणा गरेका छन् । रुसबाट तेल खरिद बन्द गर्न भारत तयार भएसँगै ट्रम्पले यस्तो घोषणा गरेका छन् ।

भारतले अब अमेरिकामाथि लगाएका व्यापार अवरोधहरुलाई पनि कम गर्नेछ । त्यस्तै, रुसको साटो अमेरिका र भेनेजुएलासँग तेल किन्नेछ ।

‘नरेन्द्र मोदीको आग्रहमा उनीसँगको मित्रता र सम्मानका कारण हामी तत्कालै अमेरिका र भारतबीच व्यापार सम्झौता गर्न सहमत छौंं,’ मोदीसँगको टेलिफोन संवादपछि ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन् ।

५ सय बिलियन डलरभन्दा धेरै मुल्य बराबरको अमेरिकी उर्जा, प्रविधि, कृषि र अन्य उत्पादक किन्नका लागि पनि मोदी प्रतिवद्ध रहेको ट्रम्पले बताएका छन् । 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यस निर्णयबाट खुसी रहेको बताएका छन् । ‘मित्र ट्रम्पसँग कुराकानी गर्न पाउँदा निकै खुसी लागेको छ । भारतमा बनेका सामाग्रीमाथि अब भन्सार घटेर १८ प्रतिशतमात्रै लाग्नेछ, यसले हर्षित छु’ मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘भारतका १ अर्ब ४० करोड जनताको तर्फबाट ट्रम्पलाई यस घोषणाका लागि धन्यवाद् छ ।’

विश्का दुई ठूलो प्रजातान्त्रिक देशबीच लामो समय चलेको व्यापार तनावपछि यस्तो सहमति भएको हो । गत अगस्टमा ट्रम्पले भारतबाट अमेरिकामा आयात हुने सामाग्रीमा भन्सार शुल्क दोब्बर बनाएर ५० प्रतिशत पुर्‍याउने चेतावनी दिएका थिए ।

भारतलाई रुसी तेल खरिद नगर्नका लागि दबाब दिन यसरी भन्सार शुल्क बढाइएको थियो । यसै महिनाको सुरुवातमा अमेरिकाले रुससँग तेल खरिद बन्द गर्नका लागि फेरि दबाब दिएको थियो । 

भेनेजुएलाको तेल खरिद गर्न पनि अमेरिकाले आव्हान गरेको थियो । भारतले वर्षौंदेखि भेनेजुएलासँग तेल किनिरहेको थियो । पछिल्लोपटक एक वर्षअघिसम्म पनि भारतले भेनेजुएलाबाट तेल किनेको थियो । तर, अमेरिकामा ट्रम्प राष्ट्रपति चुनिएर आएसँगै भेनेजुएलाको तेल खरिद गर्नेहरुमाथि उनले प्रतिबन्ध लगाउन थाले । त्यसपछि भारत पछि हट्यो । 

अहिले त्यहाँका राष्ट्रपति निकोलास मदूरोलाई अपहरण गरेर अमेरिकाले मुद्दा चलाइरहेको छ । अब भेनेजुएलाको तेललाई अमेरिकाले नै विश्वबजारमा बेच्ने तयारी थालेको छ । यस विषयमा भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिग्वेजले पनि सहमति दिएकी छिन् । 

भारतमा तेल आयात उच्च छ । यहाँ झन्डै ९० प्रतिशत तेल विदेशबाट आउँछ । सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि पश्चिमा बजारमा रुसी तेलको निर्यात बन्द भयो । त्यसयता, रुसले सस्तोमा भारतलाई तेल बेच्दै आएको छ । जसकारण, रुससँग भारतको निर्भरता बढ्यो ।

तर पछिल्ला महिनामा भारतले यस निर्भरतालाई कम गर्न थालेको छ । जनवरीमा उसले दैनिक १२ लाख ब्यारेल तेल रुससँग किनिरहेको छ  । यसलाई फेब्रुअरीमा १० लाख र मार्चमा ८ लाखमा झार्ने भारतको लक्ष्य छ ।

वासिङटनले भन्सार शुल्क वृद्धि गरेयता भारतीय बजार नराम्रोसँग प्रभावित भएको छ । यहाँबाट ठूलो संख्यामा विदेशी लगानीकर्ता बाहिरिएका छन् । 

युरोपेली युनियनसँग स्वतन्त्र व्यापार सम्झौता गरेको केही दिनभित्रै अमेरिकासँग भारतले भन्सार कटौतीको सहमति गरेको हो । नयाँ सम्झौताअनुसार भारतबाट ईयुअन्तर्गतका २७ वटा देशहरुमा जाने ९९.५ प्रतिशत सामाग्रीमा भन्सार शुल्क कम वा शु्न्य हुनेछ ।

त्यस्तै,  भारतमा आउने ९६ दशमलव ६ प्रतिशत युरोपेली सामाग्रीमा भन्सार शुल्क कम वा शुन्य हुनेछ ।। भारतबाट टेक्सटाइल, औषधीलगायत सामाग्री युरोपमा जाने गरेका छन् । त्यस्तै, युरोपबाट वाइन, कारलगायत विलासी सामाग्री भारत भित्रन्छन् ।

कान्तिपुर

Link copied successfully