नाइजर विमानस्थलमा आईएसको हमला, विस्फोट गराउँदै यात्रु जहाजबीच लडाकु हिँडेको फुटेज सार्वजनिक

गत साता भएको उक्त हमलाले नाइजरको सुरक्षा अवस्थाबारे अन्तर्राष्ट्रिय चिन्ता फेरि बढाएको छ ।

माघ २०, २०८२

कान्तिपुर संवाददाता

ISIS attacks Niger airport, footage released of militants walking between passenger planes, causing explosions

What you should know

डाकर,सेनेगल — अफ्रिकी मुलुक नाइजरको अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणका क्रममा इस्लामिक स्टेट (आईएस) का बन्दुकधारी लडाकुहरुले विस्फोट गराएको भिडियो सार्वजनिक भएको छ । गत साता विमानस्थलको टारम्याकमा उनीहरु स्वतन्त्र रूपमा घुम्दै गरेको भिडियो विश्वभर जिहादी गतिविधि निगरानी गर्ने 'साइट इन्टेलिजेन्स ग्रुप'ले वितरण गरेको रोयटर्सले समाचारमा जनाएको छ ।

लडाकुहरूले विस्फोट गराएपछि र यात्रु विमानहरूबीच स्वतन्त्र रूपमा घुमेको भिडियोमा देख्न सकिन्छ ।

गत साता भएको उक्त हमलाले नाइजरको सुरक्षा अवस्थाबारे अन्तर्राष्ट्रिय चिन्ता फेरि बढाएको छ । सुरक्षा जोखिमका कारण वासिङ्टनले गैर–आपतकालीन सरकारी कर्मचारी र तिनका परिवारका सदस्यहरूलाई पश्चिम अफ्रिकी देश नाइजर छाड्न आदेश दिएको छ ।

यसले क्षेत्रीय सम्बन्धमा थप तनाव पनि सिर्जना गर्न सक्छ । नाइजरका सैनिक नेता अब्दुरहामाने तियानीले बेनिन र आइभोरी कोस्टका राष्ट्रपति साथै फ्रान्समाथि आक्रमणलाई प्रायोजन गरेको आरोप लगाएका छन् ।यद्यपि उनले कुनै प्रमाण प्रस्तुत गरेका छैनन् ।

बेनीन सरकारका एक प्रवक्ताले उक्त आरोप अस्वीकार गरेको छ भने आइभोरी कोस्टले तियानीका टिप्पणीको निन्दा गर्दै नाइजरका राजदूतलाई बोलाएको छ ।

इस्लामिक स्टेटको पश्चिम अफ्रिका शाखाले शुक्रबार आफ्नो दाबी गरेको राजधानी नियामेइको विमानस्थलमा भएको आक्रमणका क्रममा बुधबार रातिदेखि बन्दुकधारी आक्रमण र ठूलो विस्फोटको आवाज विमानस्थल वरिपरि गुञ्जिएको थियो भने बिहीबार बिहान शान्त भएको जनाइएको छ ।

आइतबार साइटले वितरण गरेको भिडियोमा पैदल र मोटरसाइकलमा आएका लडाकुहरूले पार्क गरिएका यात्रु विमान र विमान ह्याङ्गर नजिक हावामा गोली चलाइरहेको देखिन्छ । उनीहरूले एक मानवरहित हवाई सवारी र एक हेलिकोप्टर नजिक विस्फोट गराएका छन्, जसलाई पछि आगोमा जलेको अवस्थामा देखाइएको छ ।

अमेरिकी संकट–अनुगमन समूह एसीएलईडीका अफ्रिका क्षेत्रका वरिष्ठ विश्लेषक लाड सेरवाटका अनुसार उक्त भिडियोले 'आईएस लडाकुहरूले कानुरी भाषा बोलेको देखाउँछ, जुन भाषा प्रायः चाड ताल क्षेत्र वरपर प्रयोग गरिन्छ ।'

आईएसएसपीका लडाकुहरू विभिन्न क्षेत्रबाट आएका भए पनि यसले इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्स (आईएसडब्लुएपी) का बढी अनुभवी ड्रोन अपरेटरहरूले आक्रमणलाई सहयोग गरेको संकेत गर्न सक्ने बताइएको छ

प्यान–अफ्रिकी वायुसेवा कम्पनी एस्काई एयरलाइन्सले टारम्याकमा पार्क गरिएका आफ्ना दुई विमानमा सामान्य क्षति पुगेको जनाएको छ । आइभोरी कोस्टको राष्ट्रिय वायुसेवा एयर कोट डी'आइभोरीले आफ्नो एयर बस ए३१९ मा ठोक्किएर यसको धातु बाहिरी संरचना र दायाँ पखेटामा क्षति पुगेको जनाएको छ ।

दुवै कम्पनीले घटना सञ्चालन समयबाहिर भएकोले कुनै पनि यात्रु वा चालकदल घाइते नभएको बताएका छन् ।

नाइजरले फ्रान्सेली नागरिकसहित २० आक्रमणकारी मारेको र ११ जना घाइते बनाएको जनाएको छ । इस्लामिक स्टेटले भने कुनै आँकडा दिएको छैन ।

नाइजर, उसका साहेल क्षेत्रका छिमेकी मुलुक माली र बुर्किना फासोजस्तै, अल–कायदासँग सम्बन्धित जिहादी समूह र इस्लामिक स्टेटबाट हुने आक्रमण नियन्त्रण गर्न संघर्षरत छ, जसले ती तीन देशमा हजारौंको ज्यान लिएको र लाखौंलाई विस्थापित गरेको छ ।

कान्तिपुर

Link copied successfully