गाजाको स्वास्थ्य मन्त्रालयले गत साता २० हजार मानिसहरु उपचाका लागि विदेशमा यात्रा गर्न प्रतिक्षारत रहेको जनाएको थियो । उनीहरुसँगै कम्तिमा एकजना आफन्त वा हेरचाहमा सक्रिय व्यक्ति पनि उपचारका लागि जानेछन् ।
What you should know
काठमाडौँ — झन्डै दुई वर्षसम्म इजरायलले बन्द गरेको राफा नाका सोमबारबाट खुल्ने भएको छ । दैनिक ६ घण्टा नाका खुल्ने र दैनिक १ सय ५० जना गाजाबाट इजिप्टतर्फ आउने पाउने नियम इजरायलले बनाएको छ । इजिप्टबाट गाजामा ५० जनामात्रै जान पाउनेछन् ।
अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम सम्झौताको दोस्रो चरण कार्यान्वयन गर्नका लागि ईजरायलले यो नाका खोलेको हो । गाजालाई इजिप्टसँग जोड्ने राफा नाका दुई वर्षअघि इजरायल–हमास युद्ध सुरु भएयता बन्द थियो । गत वर्ष छोटो समय अस्थायी युद्धविराम हुँदा यसलाई खोलिएको थियो । यो नाका बन्द हुँदा प्यालेस्टाइनमा रहेका घाइते र बिरामीहरु उपचारका लागि निस्कन पनि पाएका थिएनन् ।
गाजाको स्वास्थ्य मन्त्रालयले गत साता २० हजार मानिसहरु उपचाका लागि विदेशमा यात्रा गर्न प्रतिक्षारत रहेको जनाएको थियो । उनीहरुसँगै कम्तिमा एकजना आफन्त वा हेरचाहमा सक्रिय व्यक्ति पनि उपचारका लागि जानेछन् ।
प्यालेस्टिनी अधिकारीहरुसँग स्विकृति लिएपछि मात्रै मानिसहरुले गाजाबाट इजिप्टको यात्रा गर्न पाउनेछन् । यसरी स्विकृति प्रदान गरिएका मानिसहरुको नामावली इजिप्टले इजरायललाई २४ घण्टाअघि नै जानकारी गराउनेछ ।
यो नाका बन्द भए पनि बिरामीहरुलाई बाहिर ल्याउने कार्यमा विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) र अन्य संस्थाहरुले सहजीकरण गरिरहेका थिए । युद्ध अवधिभर उपचारका लागि झन्डै ७ हजार ६ सय बिरामीलाई यसरी उपचारका लागि बाहिर पठाइएको थियो ।
प्यालेस्टिनी अधिकारीहरुले युद्ध सुरु भएयता झन्डै १ लाख प्यालेस्टिनीले गाजापट्टी छाडेको जनाएका छन् । इजरायलको दक्षिणपन्थी सरकारले गाजाबाट मानिसहरु बाहिर जाने कुरालाई प्रेरित गर्ने र फर्कन नदिने नीति बनाएको छ । त्यहीकारण, अहिले उसले १ सय ५० जना बाहिरिन पाउने, तर ५० जनामात्रै भित्र्न पाउने नियम बनाएको छ ।
अमेरिकी मध्यस्थतामा भएको सम्झौतामा हमाससहितका सैन्य संगठनले हतियार त्याग्ने, इजरायली सेना गाजाबाट फर्कने र गाजाका अत्याधुनिक शहर निर्माण गरिने उल्लेख छ । यस योजनालाई सार्थक बनाउनका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वमा शान्ति कमिटी पनि बनाइएको छ ।
