गाजामा १८ हजार ५ सय ९२ जना बालबालिका मारिएको पनि अध्ययनले जनाएको छ । त्यस्तै, युक्रेनमा पनि सर्वसाधारण मर्ने क्रम बढ्दो रहेको जनाएको छ । त्यसैगरी डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा यौन हिंसाको महामारी चलेको पनि प्रतिवेदनमा उल्लेख छ ।
What you should know
काठमाडौँ — युद्धको असर कम गर्न तथा अपराधीहरुलाई सजाय दिन बनाइएको अन्तर्राष्ट्रिय कानुन तोडिने अवस्थामा पुगेको निष्कर्ष 'वार वाच' नामक अध्ययन प्रतिवेदनले निकालेको छ ।
जेनेभा एकेडेमी अफ इन्टरनेशनल ह्युमनिटेरियन ल एन्ड ह्युम राइट्सले तयार गरेको प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो ।
अध्ययनका क्रममा पछिल्ला १८ महिना विश्वका २३ वटा सशस्त्र द्वन्द्वबारे सर्वेक्षण गरिएको थियो । यस अवधिमा विश्वभर युद्धले १ लाखभन्दा धेरै सर्वसाधारण मारिएको प्रतिवेदनले देखाएको छ । त्यस्तै, बलात्कार र यातनाका घटना पनि देखिएका छन् । तर, अपराधीमाथि कुनै कारबाही हुन सकेको छैन ।
गाजामा १८ हजार ५ सय ९२ जना बालबालिका मारिएको पनि अध्ययनले जनाएको छ । त्यस्तै, युक्रेनमा पनि सर्वसाधारण मर्ने क्रम बढ्दो रहेको जनाएको छ । त्यसैगरी डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा यौन हिंसाको महामारी चलेको पनि प्रतिवेदनमा उल्लेख छ ।
हिंसाका यी र यस्ता घटना नियन्त्रणमा लिनका लागि अन्तर्राष्ट्रिय पहल कम भएको अध्ययनले जनाएको छ । अध्ययनका मुख्य लेखक स्टुवार्ट कासी मस्लेन भन्छन्, ‘कठोर अपराधहरु दोहोरिइरहेका छन् । किनकी विगतका अपराधलाई सहने काम भयो । अन्तर्राष्ट्रिय कानुन एकैपटक हराउँछ वा कायम रहन्छ भन्ने विषय हाम्रा कदमहरुले नै निर्धारण गर्छन् ।’
दोस्रो विश्वयुद्धको अन्त्यपछि युद्ध सम्बन्धी कानुनहरु बनेका थिए । यस कानुन निर्माणमा १९४९ को जेनेभा भेलाले महत्वपूर्ण भूमिका खेलेको छ । मुख्य लक्ष्य गृहयुद्ध र देशहरुबीचको युद्धको असरबाट सर्वसाधारणलाई जोगाउनु हो ।
‘वार वाच’ ले जुलाई २०२४ देखि २०२५ को अन्त्यसम्म विश्वभर भएका २३ वटा सशस्त्र युद्धको सर्वेक्षण गरेको थियो । ‘यो अवधिमा कति सर्वसाधारण मारिए भन्ने हामीलाई थाहा छैन । तर प्रत्येक दुई वर्ष एक लाखभन्दा धेरै सर्वसाधारण मारिन्छ भन्ने जानकारी छ,’ अध्ययनले भनेको छ ।
यस प्रतिवेदनको नतिजामा उल्लेख छ , ‘व्यापक दण्डहिनता र ठूलो स्तरमा अन्तर्राष्ट्रिय मानवीय कानुनको गम्भीर उल्लङ्घन गरिएको छ । जबकि युद्ध अपराधमा मुद्दा चलाउने प्रयासहरू थोरैमात्र भए ।
अनुसन्धानले अक्टबर २०२३ देखि सुरु भएको इजरायलको आक्रमणले प्यालेस्टिनको गाजापट्टीमा कुल जनसंख्या २ लाख ५४ हजारले घटेको पनि अध्ययनले जनाएको छ । अक्टुबर २०२५ मा युद्धविराम भइसकेपछि पनि ठूलो संख्यामा मानिसहरु मारिएको अध्ययनमा उल्लेख छ ।
सन् २०२५ मा युक्रेनमा २,५१४ जना मारिएको पनि वार वाच अध्ययनले जनाएको छ । जो, २०२३ र २०२४ भन्दा धेरै हो । रूसी ड्रोन आक्रमणले जानाजानी सर्वसाधारणलाई निशाना बनाएका छन र लाखौँ परिवारले विजुली तथा आधारभूत सुविधा गुमाएका छन् ।
डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा सशस्त्र द्वनद्वमा यौन तथा लैंगिक हिंसाको अवस्था विकराल छ । अध्ययनले यहाँ महामारीकै अवस्था यौन हिंसा रहेको जनाएको छ । युद्धरत सबै पक्ष यौन हिंसामा संलग्न भएको देखिन्छ । जसकारण,महिला र बालिकाहरु पीडित छन् ।
सुडानमा, अक्टोबर २०२५ मा विद्रोहीहरूले एल फासेर कब्जा गरेपछि यौन हिंसाका क्रुर घटनाहरु देखिए । ‘बचेका महिलाहरूले आरएस लडाकुहरुको सामुहिक बलात्कारमा परेको बयान दिएका छन्,’ अध्ययन प्रतिवेदनले भन्छ, ‘ कहिलेकाँहि परिवारका अन्य सदस्यहरुको उपस्थितीमै यस्तो अपराध गरिएको थियो । ’
जेनेभा सन्धीअनुसार हरेक देशले सबै परिस्थितिमा अन्तर्राष्ट्रिय मानवीय कानुनको सम्मान र पालना गर्नुपर्छ । तर, व्यवहारमा यस्तो देखिएको छैन । जसकारण, युद्धरत समाजमा अपराध बढ्ने गरेको छ ।
‘अन्तर्राष्ट्रिय कानुनका गम्भीर उल्लङ्घन तथा यस्ता घटनामा देखिएको दण्डहिनतासँग लड्नुपर्ने देखिन्छ । यसलाई प्राथमिकतामा राख्नुपर्छ,’ वार वाचको अध्ययनले भन्छ । यसको लेखकहरूले युद्ध अपराध घटाउन केही उपाय अबलम्बन गर्न सकिने सुझाव दिएका छन् ।
त्यसमध्ये एउटा उपाय, ‘अन्तर्राष्ट्रिय कानुन तोडिनसक्ने जोखिम भएका क्षेत्रमा हतियार नबेच्ने वा बिक्री–वितरणमा प्रतिबन्ध लगाउने हो । यसका लागि सबै देश सहमत हुनुपर्छ र कडाईका साथ पालना गरिनुपर्छ ।’
अन्तर्राष्ट्रिय सहकार्य, अर्थतन्त्र, शान्ति, सुरक्षा र मानवअधिकार सुनिश्चित गर्ने हेतुले विभिन्न समयमा राष्ट्रहरूबीच गरिएका सन्धी-सम्झौता नै अन्तर्राष्ट्रिय कानुनका आधार हुन् । संयुक्त राष्ट्रसंघको भेलामा सहभागी भएका राष्ट्रहरुले यी कानुन तर्जुमा गर्नका लागि सन्धी गर्छन् । यी कानुनहरू सम्बन्धित देशले अनुमोदन गरेपछि राष्ट्रिय कानुन बन्छन् ।
