गाजाबाट दैनिक १ सय ५० जना मानिस बाहिरिन पाउनेछन् । उनीहरुले प्यालेस्टिनी अथोरिटीसँग स्विकृति लिनुपर्नेछ । उता, इजिप्टबाट दैनिक ५० जनामात्रै गाजा छिर्न पाउनेछन् ।
What you should know
काठमाडौँ — प्यालेस्टाइनको गाजापट्टीलाई इजिप्टसँग जोड्ने एकमात्रै सीमा नाका राफा सोमबारबाट सञ्चालनमा आएको छ । अमेरिकी सञ्चारमाध्यम सीएनएनले इजरायली सुरक्षाकर्मीलाई उद्रृत गर्दै यसको पुष्टि गरेको हो ।
झन्डै एक वर्षपछि यो नाका सञ्चालनमा आएको हो । यसअघि गत वर्ष जनवरीमा हमास र इजरायलबीच भएको युद्धविराम सम्झौतापछि छोटो समय नाका सञ्चालनमा आएको थियो । तर युद्धविराम भंग भएसँगै मार्चमा फेरि बन्द भयो ।
अक्टुबर, २०२३ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि युद्ध सुरु भएको थियो । त्यसयता, अधिकांश समय यो नाका इजरायलले बन्द गरेको छ ।
आइतबार नाका खोल्नुअघि प्यालेस्टिनी अथोरिटी तथा युरोपेली युनियनका पर्यवेक्षकको स्टेशन रहेको ठाउँमा सिस्टम चेक तथा विभिन्न परीक्षण गरिएको थियो । यो नाका पैदलयात्रीहरुका लागि मात्रै खुलेको हो । उद्धार तथा सहयोग सामाग्री बोेकेका ट्रकहरु अझै पनि यहाँबाट आवत–जावत गर्न पाउने छैनन् ।
गाजाबाट दैनिक १ सय ५० जना मानिस बाहिरिन पाउनेछन् । उनीहरुले प्यालेस्टिनी अथोरिटीसँग स्विकृति लिनुपर्नेछ । उता, इजिप्टबाट दैनिक ५० जनामात्रै गाजा छिर्न पाउनेछन् ।
यो नाका बन्द हुँदा प्यालेस्टाइनमा रहेका घाइते र बिरामीहरु उपचारका लागि निस्कन पनि पाएका थिएनन् । गाजाको स्वास्थ्य मन्त्रालयले गत साता २० हजार मानिसहरु उपचाका लागि विदेशमा यात्रा गर्न प्रतिक्षारत रहेको जनाएको थियो । उनीहरुसँगै कम्तिमा एकजना आफन्त वा हेरचाहमा सक्रिय व्यक्ति पनि उपचारका लागि जानेछन् ।
यो नाका बन्द भए पनि बिरामीहरुलाई बाहिर ल्याउने कार्यमा विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) र अन्य संस्थाहरुले सहजीकरण गरिरहेका थिए । युद्ध अवधिभर उपचारका लागि झन्डै ७ हजार ६ सय बिरामीलाई यसरी उपचारका लागि बाहिर पठाइएको थियो ।
प्यालेस्टिनी अधिकारीहरुले युद्ध सुरु भएयता झन्डै १ लाख प्यालेस्टिनीले सरकार छाडेको जनाएका छन् । इजरायलको दक्षिणपन्थी सरकारले गाजाबाट मानिसहरु बाहिर जाने कुरालाई प्रेरित गर्ने र फर्कन नदिने नीति बनाएको छ । त्यहीकारण, अहिले उसले १ सय ५० जना बाहिरिन पाउने, तर ५० जनामात्रै भित्रन पाउने नियम बनाएको छ ।
अमेरिकी मध्यस्थतामा गत अक्टुबरमा भएको सम्झौतामा हमाससहितका सैन्य संगठनले हतियार त्याग्ने, इजरायली सेना गाजाबाट फर्कने र गाजाका अत्याधुनिक शहर निर्माण गरिने उल्लेख छ । यस योजनालाई सार्थक बनाउनका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वमा शान्ति कमिटी पनि बनाइएको छ ।
बेलायत पूर्व प्रधानमन्त्री टोनी ब्लेयर, खर्बपति मार्क रोबान, विश्व बैंकका प्रमुख अजय बान्गालगायत अन्तर्राष्ट्रिय जगत्मा ख्यातिप्राप्त व्यक्तिहरु उक्त कमिटीमा सदस्य छन् ।
