अस्ट्रेलियामा १६ वर्षमुनिका प्रयोगकर्ताको चार लाख १५ हजार स्न्यापच्याट खाता बन्द

स्न्यापच्याट, मेटा, टिकटक र युट्युब जस्ता प्लेटफर्महरूले नयाँ कानुन अनुसार नाबालिग प्रयोगकर्ताको खाता रोक्नुपर्छ ।

माघ १९, २०८२

कान्तिपुर संवाददाता

415,000 Snapchat accounts of users under 16 suspended in Australia

What you should know

काठमाडौँ — अस्ट्रेलियामा १६ वर्षमुनिका प्रयोगकर्ताहरूको सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने कानुनअनुसार स्न्यापच्याटले चार लाख १५ हजार खाता बन्द गरेको छ। 

कम्पनीले सोमबार यति ठूलो संख्यामा खाता बन्द गरेको जानकारी दिएको हो। यद्यपि, उसले केही किशोर-किशोरीहरूले उमेर प्रमाणीकरण प्रणाली छल्न सक्ने चेतावनी दिएको छ।

कम्पनीले अस्ट्रेलियाली निकायहरूलाई एप्लिकेसनमार्फत प्रयोगकर्ताको उमेर जाँच गर्न बाध्य गर्न आग्रह गरेको छ, जसलाई कम्पनीले ‘थप सुरक्षा उपाय’ भनेको छ ।

स्न्यापच्याट, मेटा, टिकटक र युट्युब जस्ता प्लेटफर्महरूले नयाँ कानुन अनुसार नाबालिग प्रयोगकर्ताको खाता रोक्नुपर्छ । उक्त कानुन १० डिसेम्बर सन् २०२५ मा लागू भएको थियो ।

कम्पनीहरूले कानुन पालना नगरेमा करिब ४९ करोड ५० लाख अस्ट्रेलियन डलर जरिवाना तिर्नुपर्ने छ ।

अस्ट्रेलियाको अनलाइन सुरक्षा नियामकले गत महिनामा प्रविधि कम्पनीहरूले चार लाख ७० हजार खाता पहिले नै ब्लक गरेको बताएको थियो ।

जनवरी अन्त्यसम्म, स्न्यापच्याटले १६ वर्षमुनिका चार लाख १५ हजार खाता बन्द  गरेको जनाएको छ । कम्पनीले भनेको छ, ‘हामी दैनिक रूपमा अझ धेरै खाता बन्द गर्दैछौं ।’

तर कम्पनीले कानुनमा ‘महत्त्वपूर्ण कमजोरी’ रहेको र उमेर अनुमान प्रणालीले दुई–तीन वर्षको दायरामा मात्र सही नतिजा दिन सक्ने बताएको छ ।

यसको अर्थ, केही १६ वर्षमुनिका किशोर-किशोरीहरूले सुरक्षा प्रणाली छल्न सक्छन् भने केही १६ वर्षभन्दा बढी उमेरका प्रयोगकर्ताले अनावश्यक रूपमा पहुँच गुमाउन सक्छन् ।

स्न्यापच्याटले मेटासँग मिलेर अस्ट्रेलियालाई एप्लिकेसन पसलमा उमेर जाँच अनिवार्य गर्न सुझाव दिएको छ । कम्पनीका अनुसार प्रमाणीकरण प्रणालीले सुरक्षा थप मजबुत बनाउनेछ ।

कम्पनीले पूर्ण प्रतिबन्ध उपयुक्त उपाय नभएको र आफ्नो प्लेटफर्मलाई सामाजिक सञ्जाल प्रतिबन्धको दायरामा राख्नु आवश्यक नभएको बताएको छ ।

स्न्यापच्याटले भनेको छ, ‘हाम्रो एप मुख्यतः युवा प्रयोगकर्तालाई नजिकका साथी र परिवारसँग जडित राख्न प्रयोग हुन्छ । ती सम्बन्ध बिच्छेद गर्दा उनीहरू सुरक्षित र खुशी हुने छैनन् ।’ रासस/एएफपी

कान्तिपुर

Link copied successfully