साउदी र युएई ईरान आक्रमणको विपक्षमा, अमेरिकालाई एयर स्पेस उपलब्ध नगराउने 

साउदी अरेबियामा अमेरिकाका २३ सयभन्दा धेरै सैनिकहरु छन् । त्यस्तै, युएईस्थित अल दाफ्रा एयर वेसमा ५ हजार सैनिक बस्छन् ।

माघ १५, २०८२

कान्तिपुर संवाददाता

Saudi Arabia and UAE oppose Iran attack, will not provide airspace to US

What you should know

काठमाडौँ — साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (युएई) ले ईरानमाथि आक्रमण गर्नका लागि आफ्नो भूमि वा आकाश प्रयोग गर्न नदिने बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानमाथि हमला गर्ने धम्की दिइरहेका बेला उनीहरुले बताएका हुन् । 

यस निर्णयले अमेरिकाको सम्भावित सैन्य योजनामा यसले अवरोध सिर्जना गरेको छ । साउदी अरेबियामा अमेरिकाका २३ सयभन्दा धेरै सैनिकहरु छन् । त्यस्तै, युएईस्थित अल दाफ्रा एयर वेसमा ५ हजार सैनिक बस्छन् ।

साउदीका राजकुमार मोहम्मद बिन सलमानले इरानी राष्ट्रपति मसूद पेजेश्कियनलाई मंगलबार फोन वार्ता गरेका थिए । त्यसक्रममा उनले आफ्नो भूमीमा रहेका पूर्वाधार आक्रमणका लागि प्रयोग गर्न नदिने बताए । युएई सरकारले पनि ईरानविरुद्ध आफ्नो भूमि र आकाश प्रयोग गर्न नदिने बताइसकेको छ । 

राजकुमार सलमानले इस्लामिक गणतन्त्र इरानको सार्वभौमिकताको सम्मान गर्ने बताए । ‘इस्लामिक गणतन्त्र इरानविरुद्ध कुनै पनि सैन्य कारबाही वा कुनै पनि पक्षबाट हुने आक्रमणका लागि आफ्नो हवाई क्षेत्र वा भूभाग प्रयोग गर्न दिनेछैन । चाहे तिनको गन्तव्य जस्तोसुकै होस्,’ सलमानले भने । 

उनले मध्यपूर्व  क्षेत्रमा सुरक्षा र स्थिरता बढाउने गरी संवादमार्फत विवाद समाधान गरिनुपर्ने बताए । 

फोन वार्तामा पेजेश्कियनले सम्भावित अमेरिकी आक्रमणको त्रासबीच इरानलाई दिइएको समर्थनका लागि आभार प्रकट गरे ।

‘इस्लामिक गणतन्त्र इरान सरकारको मूल नीति विभिन्न जाति र सम्प्रदायबीच एकता र एकजुटता कायम राख्ने तथा राष्ट्रिय एकता प्रवद्र्धन गर्ने हो,’ पेजेश्कियनलाई उद्रृत गर्दै  राष्ट्रपति कार्यालयले जनाएको छ,‘ इस्लामिक देशहरू दाजुभाइ हुन् भन्ने मेरो विश्वास छ । हामी सँगै मिलेर संयुक्त सहकार्यमार्फत हाम्रा जनताका लागि सुरक्षित, विकसित र उन्नत क्षेत्र निर्माण गर्न सक्छौं, । अमेरिका र इजरायलले इरानलाई आर्थिक दबाब दिने र  द्वन्द्व भड्काएर अशान्त बनाउने प्रयास गरेको उनले आरोप लगाए ।

‘उनीहरूले यस्ता कार्यहरूबाट इरानलाई सिरिया वा लिबिया बनाउन सकिन्छ भन्ठानेका थिए ।  तर इरानी जनताको वास्तविकता, स्वभाव र महानता उनीहरूले बुझ्न सकेनन्,“ उनले भने, ‘इरानी राष्ट्रको व्यापक र सचेत उपस्थितिले यस्ता योजनाहरू विफल बनाएको छ ।’ 

कान्तिपुर

Link copied successfully