ईरान–अमेरिका तनाव, ट्रम्पले भने, 'अर्को आक्रमण धेरै खराब हुनेछ ! फेरि त्यस्तो नहोस्'

गत जुनमा इरान– इजरायलबीचको १२ दिने युद्धको क्रममा इरानी आणविक स्थलहरूमा अमेरिकाले गरेको आक्रमण स्मरण गराउँदै ट्रम्पले भने, ‘अर्को आक्रमण धेरै खराब हुनेछ ! फेरि त्यस्तो नहोस् ।'

माघ १५, २०८२

कान्तिपुर संवाददाता

Iran-US tensions, Trump says, 'Another attack would be very bad! Don't let it happen again'

What you should know

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानसँग आणविक कार्यक्रमबारे वार्ता गर्न थोरैमात्र समय बाँकी रहेको बताएका छन् ।

गत जुनमा इरान– इजरायलबीचको १२ दिने युद्धको क्रममा इरानी आणविक स्थलहरूमा अमेरिकाले गरेको आक्रमण स्मरण गराउँदै ट्रम्पले भने, ‘अर्को आक्रमण धेरै खराब हुनेछ ! फेरि त्यस्तो नहोस् ।'

उनले आफ्नै स्वामित्वको सामाजिक सञ्जाल ट्रुथ सोशलमा लेखेका छन्,' 'समय सकिदैंछ । आशा छ, ईरान चाडैं वार्तामा आउनेछ र निष्पक्ष वा तर्कसंगत सम्झौता गर्नेछ । आणविक हतियार चाहिदैंन ।'

यसअघि ओमानका प्रतिनिधिमार्फत अमेरिकी दूत जरेद कुस्नर र ईरानी विदेशमन्त्री अब्बास अराग्चीले एकअर्कालाई सन्देश पठाएका थिए । तर, कुनै प्रगति हुन नसकेपछि ट्रम्पले फेरि सैन्य आक्रमणको धम्की दिएका हुन् ।

दुई दिनअघि मात्रै ठूलो संख्यामा अमेरिकी सैनिक र विमान बोकेको ‘आर्माडा’ अरेबियन सागरमा पुगेको थियो । ईरानको सामुन्ने बसेको अब्राहम लिंकन नामक यो आर्माडा  भेनेजुएलामाथि दबाब सिर्जना गर्न  क्यारेबियन समुद्रमा केही समयअघि पठाइएको आर्माडाभन्दा ठूलो रहेको ट्रम्पले बताएका छन् ।

त्यसैगरी जोर्डनस्थित मुवाफक एयर वेसमा १५ वटा अमेरिकी लडाकु विमान ल्याइएको छ । मध्यपूर्वका अन्य अखडाहरुमा पनि अमेरिकाले जासुसहरु खटाएको छ । 

इरानको संसदका सभामुख मोहम्मद बागेर गालिबाफले  अमेरिकासँग वार्ता गर्न तेहरान तयार रहेको बताएका छन् । 'वास्तविक वार्ता हो भने ठिकै हो । तर, अमेरिकी राष्ट्रपतिले आफ्नो इच्छा अरुमाथि लाद्न खोजिरहेका छन्,' सीएनएनसँग उनले भने, 'ट्रम्पले युद्ध सुरु गर्न सक्छन्, तर, यसलाई समाप्त गर्ने विषय उनको नियन्त्रणमा छैन ।'

२८ डिसेम्बरमा ईरानमा आन्दोलन सुरु भएको थियो । त्यसबेला नै ट्रम्पले आन्दोनलकारीप्रति आफ्नो समर्थन रहेको बताएका थिए । उनले आन्दोलनमा कुनै दमन नगर्न ईरान सरकारलाई चेतावनी पनि दिएका थिए ।सर्वसाधारणमाथि दमन भएमा अमेरिकाले सैन्य हस्तक्षेप गर्ने उनको चेतावनी थियो । 

ईरान सरकारले इन्टरनेटमाथि प्रतिबन्ध  लगाएकाले आन्दोलनमा मृत्यु हुनेको यकिन संख्या बाहिर ल्याउन अन्तर्राष्ट्रिय सञ्चारमाध्यम तथा मानवअधिकारवादी संस्थाहरुलाई कठिन भइरहेको छ । ईरान सरकारले २१ जनवरीमा आन्दोलनमा ३१ सय १७ जनाको मृत्यु भएको जनाएको थियो ।

तर वास्तविक संख्या योभन्दा निकै ठूलो रहेको अनुमान गरिएको छ । अमेरिकास्थित मानव अधिकार समाचार एजेन्सीले डिसेम्बरको अन्त्यमा अशान्ति सुरु भएयता ६ हजारभन्दा धेरैको मृत्यु भइसकेको जनाएको छ ।

नर्वेमा आधारित इरान मानव अधिकारले मृतकको संख्या २५,००० भन्दा बढी हुन सक्ने बताएको छ । त्यस्तै, बेलायतबाट सञ्चालन हुने अनलाईन ईरान इन्टरनेशनलले ३६ हजारभन्दा धेरै मारिएको जनाएको छ । 

ट्रम्पले आन्दोलनमा पटक–पटक ऐक्यबद्धता प्रकट गर्दै आएका छन् । उनले केही समयअघि आन्दोलन जारी राख्न ईरानीहरुलाई आग्रह गरेका थिए । 'ईरानका राष्ट्रवादीहरु आन्दोलन जारी राख्नुस् । सहयोग बाटोमै छ ,' ट्रम्पले भनेका थिए । 

बुधबार अमेरिकी सिनेटको विदेश सम्बन्ध समितिलाई सम्बोधन गर्दै विदेश मन्त्री मार्को रुबियोले इरानको सत्ता पहिलेको दाँजोमा निकै कमजोर भएको बताएका थिए । ‘उनीहरूसँग प्रदर्शनकारीहरूको मुख्य गुनासोलाई सम्बोधन गर्ने कुनै उपाय छैन, उनीहरूको अर्थतन्त्र ध्वस्त भएको छ,’ उनले भने ।

ईरानले आन्दोलनमा दमन अन्त्य गर्नुपर्ने र आणविक हतियार कार्यक्रम बन्द गर्नुपर्ने माग पछिल्लो समय ट्रम्पले राखिरहेका छन् । जबकी, गत जुनमा ईरानका पूर्वाधारमाथिको आक्रमणपछि ट्रम्पले तेहरानले फेरि कहिल्यै आणविक हतियार कार्यक्रम सञ्चालनमा ल्याउन नसक्ने दाबी उनले  गरेका थिए । तईरानले आणविक हतियार बनाउने कुनै महत्वाकांक्षा नरहेको बताउँदै आएको छ । 

ट्रम्पले नै तोडेका थिए आणविक सम्झौता 

ईरान र बाँकी विश्वबीच सन् २०१५ मा आणविक सम्झौता भएको थियो । यसमा  चीन, फ्रान्स, रुस, अमेरिका, बेलायत, जर्मनी र ईरानले  हस्ताक्षर गरेका थिए । यस सम्झौताअन्तर्गत ईरानले आफ्नो आणविक कार्यक्रमलाई उर्जा र विकास निर्माणका लागि प्रयोग  गर्ने तथा आणविक हतियार नबनाउने प्रतिवद्धता जनाएको थियो ।

त्यसबापत अमेरिका र बाँकी देशले पनि ईरानलाई अन्तर्राष्ट्रिय बजारमा सहज पहुँच दिने सहमति बनेको थियो ।  तर, ट्रम्पले २०१८ मा आफ्नो पहिलो कार्यकालमा एकतर्फी रुपमा सम्झौता तोडेको घोषणा गरे । ईरानले सम्झौता पालना नगरेको उनको आरोप थियो ।

उनले शृंखलावद्ध रुपमा ईरानमाथि आर्थिक प्रतिबन्धहरु लगाए । जसले ईरानको अर्थतन्त्रलाई फेरि कमजोर बनायो । अहिले ईरानको मुद्रास्फिति र आर्थिक मन्दीले जनजीवन निकै कस्टकर बनेको छ । २८ डिसेम्बरदेखि सुरु भएको आन्दोलनले ठूलो अस्थिरता निम्त्याएको छ । 

ईरानी विदेशमन्त्रीले भने, 'हाम्रा सैनिकको औंला ट्रिगरमा छ'

ईरानी विदेशमन्त्री अब्बास अराग्चीले अमेरिकाविरुद्ध प्रत्याक्रमणका लागि ईरानी सेना तयारी अवस्थामा रहेको बताएका छन् ।

' हाम्रो प्यारो भूमी, आकाश र समुद्रमा हुने कुनै पनि आक्रमणविरुद्ध तत्कालै र शक्तिशाली जवाफ फर्काउनका लागि हाम्रा बहादुर सैनिकहरु तयार छन् । उनीहरुको औंला बन्दूकको ट्रिगरमा छ,’ सामाजिक सञ्जालमा उनले बुधबार साँझ लेखेका छन् । 

गत वर्ष जुनमा इजरायलको १२ दिने युद्धबाट ईरानले ठूलो पाठ सिकेको पनि उनले बताए । ‘१२ दिने युद्धबाट सिकेका मूल्यवान पाठहरूले हामीलाई अझै बलियो, तीव्र र गहिरो प्रतिक्रिया दिन सक्षम बनाएको छ,’ अराग्चीले भने ।

साउदी र युएई आक्रमणको विपक्षमा

साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (युएई) ले ईरानमाथि आक्रमण गर्नका लागि आफ्नो भूमि वा आकाश प्रयोग गर्न नदिने बताएका छन् । साउदी अरेबियामा रहेका अखडामा अमेरिकाका २३ सयभन्दा धेरै सैनिकहरु छन् । त्यस्तै, युएईस्थित अल दाफ्रा एयर वेसमा ५ हजार सैनिक बस्छन् ।

साउदीका राजकुमार मोहम्मद बिन सलमानले इरानी राष्ट्रपति मसूद पेजेश्कियनलाई मंगलबार फोन वार्ता गरेका थिए । त्यसक्रममा उनले आफ्नो भूमीमा रहेका पूर्वाधार ईरानमाथिको आक्रमणका लागि प्रयोग गर्न नदिने बताए । युएई सरकारले पनि ईरानविरुद्ध आफ्नो भूमि र आकाश प्रयोग गर्न नदिने बताइसकेको छ ।

राजकुमार सलमानले इस्लामिक गणतन्त्र इरानको सार्वभौमिकताको सम्मान गर्ने बताए । ‘इस्लामिक गणतन्त्र इरानविरुद्ध कुनै पनि सैन्य कारबाही वा कुनै पनि पक्षबाट हुने आक्रमणका लागि आफ्नो हवाई क्षेत्र वा भूभाग प्रयोग गर्न दिनेछैन । चाहे तिनको गन्तव्य जस्तोसुकै होस्,’ सलमानले भने । 

कान्तिपुर

Link copied successfully