चीनमा शीर्ष जनरल छानविनमा : भ्रस्टाचारविरुद्धको शून्य सहनशीलता या शक्ति संघर्षको परिणाम ?

झाङको बर्खास्तीले शंका र षड्यन्त्रका विभिन्‍न अनुमानलाई मलजल गरेको छ । तर, चीनले यस्ता विषयमा कुनै टिप्पणी गरेको छैन ।

माघ १४, २०८२

अन्वेषण अधिकारी

China's top general under investigation: Zero tolerance for corruption or the result of a power struggle?

What you should know

काठमाडौँ — चीन विश्वकै विशाल सैनिक भएको देश हो । यहाँ २० लाखभन्दा धेरै सक्रिय सैनिक छन् । यसबाहेक ठूलो संख्यामा अर्ध सैनिक दस्ता र सशस्त्र प्रहरी छन् ।

यी सबै निकायलाई निर्देशन दिने केन्द्रीय सैन्य आयोगबाट पछिल्लो समय एकपछि अर्का  पदाधिकारी विभिन्न आरोपमा हटाइएका छन् ।

सन् २०२२ मा चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रिय भेलाले अनुमोदन गरेका ७ सदस्यमध्ये अहिले राष्ट्रपति सी जिनपिङ (अध्यक्ष) र उनका विश्वासपात्र झाङ सिङमिनमात्रै आयोगमा छन् । चीनको संविधानको धारा ९३ ले  यस आयोगलाई जनमुक्ति सेना, जलसेना, वायु सेना, आणविक रकेट फोर्स, सशस्त्र प्रहरी, मिलिसियालगायत चीनका सबै सुरक्षा संयन्त्र सञ्चालनको अधिकार दिएको छ ।

यस आयोगको अध्यक्षसँग सबै अधिकार हुने भएकाले प्रायः अवस्थामा राष्ट्रपतिले यो पद आफैंसँग राख्छन् । राष्ट्र, पार्टी र सेनागरी तीनवटै संयन्त्रको नेतृत्वमा रहेकाले सी चीनको इतिहासकै शक्तिशाली नेतामध्ये एक मानिन्छन् ।

उनै सीबाट अख्यितारी लिएर प्रथम उपाध्यक्ष जनरल झाङ योक्सियाले चीनमा सैन्य मामिला हेरिरहेका थिए । तर, गत शनिबार उनी आयोगका सदस्य जनरल लिऊ झेन्लीसँगै पदमुक्त भए ।  यसअघि नै तीन जना सदस्य कारबाहीमा परिसकेका थिए ।

झाङ र लिऊमाथि गम्भीर अनुशासन उल्लंघनको अभियोगमा  छानविन  थालिएको जानकारी चिनियाँ विदेश मन्त्रालयले दिएको छ । चीनमा प्रायः अवस्थामा  भ्रस्टाचार अभियोगलाई गम्भीर अनुशासन उल्लंघन भन्‍ने गरिन्छ । भ्रस्टाचाविरूद्ध शुन्य सहनशीलता नारा दिएको सी प्रशासनले यस्तो अभियोग लाग्नेलाई तत्कालै पदमुक्त गर्छ ।

तर झाङमाथिको अभियोग भ्रस्टाचारमा मात्रै सिमित नहुनसक्छ । अमेरिकी सञ्चारमाध्यम  द वाल स्ट्रिट जर्नलले झाङमाथि चीनको आणविक हतियार कार्यक्रमबारे प्राविधिक तथ्याङ्क अमेरिकालाई उपलब्ध गराएको र घुस खाएको आरोप लागेको जनाएको छ । उसले विभिन्‍न स्रोतहरूसँगको कुराकानीबाट यस्तो जानकारी प्राप्त  भएको जनाएपनि त्यसको स्वतन्त्र पुष्टि भएको छैन ।

सी सर्वसर्वा

सामुहिक निर्णयमा चल्ने ठानिएको यस आयोगमा अब राष्ट्रपति तथा अध्यक्ष सी सर्वेसर्वा भएका छन् । उनीबाहेक उपाध्यक्ष सिङमिनमात्रै यस आयोगमा बाँकी छन्, जसलाई सीले नै गत अक्टुबरमा सदस्यबाट बढुवा गरेका थिए ।

त्यसबेला उपाध्यक्ष हि वाइदोङ र राजनीतिक विभागका निर्देशक मियो हुवा कारबाहीमा परेका थिए । उनीहरु दुबैलाई कम्युनिष्ट पार्टी र आयोगको जिम्मेवारीबाट हटाइयो र भ्रस्टाचारको मुद्दा दर्ता गरियो ।

सैन्य आयोगमा पहिलो कारबाही पूर्व रक्षामन्त्री लि साङ फुमाथि अक्टुबर २०२३ मा भएको थियो । यसरी, सैन्य आयोगमा भइरहेका पछिल्ला कारबाहीहरुलाई सीको भ्रस्टाचार विरोधी बृहद अभियानकै हिस्सा मानिएको छ । यस अभियानका दौरान सन् २०१२ देखि झन्डै २ लाख सरकारी अधिकारीहरु कारबाहीमा परिसकेका छन् ।

सन् २०१४ मा पूर्व सुरक्षा प्रमुख तथा पोलिटब्युरो सदस्य झोउ योङकाङ घुस लिएको आरोपमा जेल चलान भएका थिए । २०१५ मा पूर्व राष्ट्रपति हु जिन्ताओका प्रमुख सल्लाहकार लिङ जिहुवामाथि अख्तियार दूरुपयोग गरेको आरोप लगाइयो, २०१७ मा पोलिटब्युरो सदस्य सन जेङकाई भ्रस्टाचारको आरोपमा पक्राउ परेका थिए ।

सी कार्यकालमा यस्ता धेरै उच्च पदस्थ कारबाहीमा परिसकेका छन् । जुलाई २०२३ मा राष्ट्रपति सीकै निर्देशनमा तत्कालीन विदेशमन्त्री क्विन गाङ्ग पदबाट हटाइएका थिए । तर यसपटक सीले आफ्नै विश्वासपात्रमाथि कारबाहीको डण्डा चलाएकाले मानिसहरू चकित परेका छन् । 

विश्वासपात्र थिए झाङ

झाङ याक्सियाको पकड सेनामा बलियो रहेको अनुमान लगाइएको छ । किनकी, सैन्य आयोगका सदस्यमध्ये उनीसँग सबैभन्दा लामो सैनिक सेवाको अनुभव थियो । सन् १९६८ मा १८ वर्षको उमेरमा उनले सैन्य सेवा सुरु गरेका थिए ।

१९७९ र १९८४ मा उनले भियतनाम विरुद्धको लडाइँमा एउटा टुकुडीको कमाण्ड गरेका थिए । त्यसपछि उत्तरपूर्वी चीनमा उनी केही समय कमाण्डरको रुपमा कार्यरत रहे । त्यसको केही समयपछि बेइजिङमा सैन्य मुख्यालयमा उनले वरिष्ठ पद हासिल गरे ।

सी जिनपिङ पार्टी नेतृत्वमा आएपछि सन् २०१२ मा झाङ सैन्य आयोगको सदस्य बने । यसको ५ वर्षपछि आयोगको वरिष्ठ उपाध्यक्ष बने ।

उनी सीका विश्वास पात्र मानिन्थें । उनीहरु दुबै सान्सी प्रान्तबाट हुन् । दुबैका पिताले १९३० को दशक जापानी साम्राज्यविरुद्ध एकै मोर्चाबाट लडेका थिए ।

सन् २०२२ मै झाङ अवकाशमा जानेवाला थिए । तर सीले उनलाई सैन्य आयोगमा तेस्रो कार्यकाल निरन्तरता दिए । यही वर्ष स्थापित मान्यताहरु तोडेर सीले उनलाई पोलिटब्युरो सदस्य पनि बनाए । जबकी, ७२ वर्षको उमेरमा प्रायः मानिसहरु अवकाशमा गइसकेका हुन्छन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले जनमुक्ती सेनालाई २०२७ भित्र अत्याधुनिक फौजमा रुपान्तरण गर्ने लक्ष्य राखेका छन् । सन् २०३५ भित्र थप आधुनिकीकरण गर्ने र २०४९ सम्म अमेरिकी सेना सरहको वैश्विक क्षमताको बनाउने उनको लक्ष्य छ ।

तर, यही समय चिनियाँ सेनामा एकपछि अर्का जनरलहरु कारबाही वा छानविन भोगिरहेका छन् । यसले सिर्जना गरेको रिक्ततालाई परिपुर्ति गर्न रणनीतिक चातुर्‍यता भएका, योजना बनाउन माहिर, कमाण्ड सम्हाल्नसक्ने योग्य र दक्ष अधिकारीहरुलाई प्रमोशन दिनुपर्ने चुनौती अब सीलाई छ । 

के होला ?

झाङको बर्खास्तीले शंका र षड्यन्त्रका विभिन्‍न अनुमानलाई मलजल गरेको छ । तर, चीनले यस्ता विषयमा कुनै टिप्पणी गरेको छैन ।

अमेरिकी सञ्चारमाध्यम  द वाल स्ट्रिट जर्नलसँगको कुराकानीमा चिनियाँ सैनिक निकट स्रोतले झाङमाथि गद्दारीको अभियोग लागेको बताएका छन् । चीनको आणविक हतियार कार्यक्रमबारे प्राविधिक तथ्याङ्क अमेरिकालाई उपलब्ध गराएको र घुस खाएको आरोप उनीमाथि लगाइएको ती स्रोतको दाबी छ ।

सेनामा बढ्दो झाङको प्रभावबाट खतरा महसुस गरेर सीले उनलाई छानविनको दायरामा ल्याएको आशंका पनि कतिपय विश्लेषकको छ । चीनमा सैन्य आयोगको भूमिकालाई पहिल्यै कम गर्दै लगिएको कतिपयको अनुमान छ ।

सन् २०२७ भित्र स्वशासित चिनियाँ टापु ताइवान कब्जामा लिनका लागि सीले जनमुक्ती सेनालाई निर्देशन दिएको दाबी केही समयअघि अमेरिकी गुप्तचर संस्था सिआईएका अधिकारीहरूले गरेका थिए ।

सिआईएका अनुसार सन् २०२१ मा यस्तो निर्देशन आएको थियो । यस लक्ष्यमा ढिलासुस्ती भएपछि झाङ कारबाहीमा परेको हुनसक्ने प्यासिफिक फोरम थिंक ट्यांकका नन रेसिडेन्ट फेलो त्रिस्तान ताङले फाइनान्सियल टाइम्ससँग बताए ।

‘यस कारबाहीको नतिजास्वरुप निकट भविष्यमै चीनले ताइवान लिने संभावना कम देखिन्छ । तर, जनमुक्ती सेनाको तालिम र अभ्यास गतिविधि भने यसले प्रभावित नहोला । बरु थप आक्रमक पनि हुनसक्छ,’ ताङले भने ।

युएस आर्मी वार कलेजअन्तर्गत चाइना ल्यान्डपावर स्टडिज सेन्टरका रिसर्च निर्देशक जोसुवा अरोस्टेगुई झाङ र लिउ हट्दाको असर सेनामा प्रत्यक्ष देखिने बताउँछन् । यसले सेनाको तालिम, उपकरण र लडाइँमा प्रत्यक्ष प्रभाव पर्नेछ ।  उनीहरुले आफ्नो अधीनका सेनालाई आफ्नो स्पष्ट दृष्टिकोण दिएका हुन्छन् । नेतृत्वमा अचानक परिवर्तन हुँदा सैनिकलाई त्यसमा समायोजन हुन समय लाग्छ,’ उनले भने ।

ब्रुकिङ्स इन्स्टिच्युटअन्तर्गत चीन सेन्टरका फेलो जोनाथन स्जिन यसलाई चीनको आन्तरिक सत्ता संघर्षकै परिणाम ठान्छन् । सिआईएका पूर्व चीन विश्लेषक स्जिनले पहिले शत्रुहरूलाई पाखा लगाएपछि अब आफ्नै विश्वास पात्रहरूमाथि सीले कारबाहीको डण्डा चलाउन थाल्नु अर्थपूर्ण रहेको बताए ।

'सी नेतृत्वको चिनियाँ शासन प्रणालीमा कोहीमाथि कसैको विश्वास छैन । कोही पनि सुरक्षित छैन भन्‍ने यसले स्पष्ट गर्छ,' सीएनएनसँग उनले भने, 'शुद्धीकरणको मुद्दा पार्टीको सर्वोच्च तहसम्म पुगेको छ । जनमुक्ती सेनामा बेथिती अति भएको  निष्कर्ष सीले निकालेको संकेत यसले गर्छ । तर,  यो बेथिती अन्त्य गर्न उनले एक पुस्ताको नेतृत्वलाई सफा गर्नुपर्छ । यस्तो कामका लागि उनले झाङसँगको सम्बन्धलाई पनि दाउमा राखे । यस्तो सम्बन्ध बन्‍न वर्षौंले पुग्दैन । दशकौं र जीवनभर पनि लाग्नसक्छ । तर बिग्रियो, किनकी राजनीति कठोर हुन्छ ।'

सैन्य आयोगमा अस्थिरता देखिएपनि चीनले आफ्नो सैन्य सामथ्र्य  बढाइरहेको छ । विशेषगरी प्यासेफिक तटमा जलसेनाको उपस्थिति बढ्दो छ । सन् २०२५ मा चीनको सैन्य खर्च २ सय २० बिलियन डलर बराबर थियो ।

इतिहासदेखि नै महत्वपूर्ण सैन्य विभाग

जनगणतन्त्र चीनका संस्थापक माओ त्से तुङ  भन्थें, ‘राजनीतिक शक्ति बन्दूकको नालबाट हुर्कन्छ ।’  १९३८ मा 'युद्धका समस्या र रणनीति' विषयक सम्बोधनका क्रममा उनले यो प्रसङ्ग जोडेका थिए । यसले कम्युनिष्ट पार्टीमा जनमुक्ती सेनाको प्रभूत्व सधैं कायम रहनुपर्ने तर्क गर्छ । 

यो सोच चिनियाँ राजनीतिक संस्कृतिमा आज पनि गहिरोसँग स्थापित छ । सन् २००२ मा कम्युनिष्ट पार्टीको महासचिव चुनिएका हु जिन्ताओलाई तत्कालीन महासचिव जियाङ जेमिनले सहजै रुपमा पद हस्तान्तरण गरे । अर्को वर्ष उनले राष्ट्रपति पद पनि दिए । तर, सैन्य आयोगको जिम्मेवारी हस्तान्तरण गर्न थप दुई वर्ष लगाए । 

चीनमा माओपछिका प्रभावशाली नेता मानिने देङ सियाओपिङ कहिल्यै कम्युनिष्ट पार्टी र देशको नेतृत्वमा पुगेनन् । तर, उनी १९८० देखि मृत्युपर्यन्तसम्म सर्वोच्च नेता मानिन्थें । कारण, १९८१ देखि १९९० सम्म उनी सैन्य  विभागको अध्यक्ष थिए ।

राष्ट्रपति र कम्युनिष्ट पार्टीका महासचिव पनि उनको निर्देशन मान्थें । यस अवधिमा चीनलाई आर्थिक उदारीकरणको बाटोमा लैजाने काम उनकै योजनामा संभव भएको थियो । आधुनिक चीनको आर्थिक सामथ्र्यको जग खन्ने श्रेय उनैलाई जान्छ ।  (एजेन्सीको सहयोगमा )

अन्वेषण

Link copied successfully