४ खर्ब २५ अर्ब डलर आर्थिक क्षति, २४ हजार उडान रद्द

चार दिनको अन्तरालमा कम्तीमा ३० जनाको मृत्यु, १० लाख भन्दा बढी मानिस दुई दिनसम्म विद्युतविहीन।

माघ १४, २०८२

सुदीप शिवाकोटी

Economic losses of $425 billion, 24,000 flights canceled

What you should know

अमेरिका — अमेरिकामा लगातार चार दिनसम्म भारी हिमपात, आँधी, हिमबर्षाका कारण ठूलो आर्थिक र मानवीय क्षति भएको छ । स्थानीय समयअनुसार जनवरी २३, २४, २५ र २६ मा लगातर अमेरिकाका ५० मध्ये ३० राज्यमा भारी हिमपात, आँधी, हिमबर्षाका कारण जनजीवन प्रभावितसँगै ठूलो आर्थिक र मानवीय क्षती भएको हो ।

चार दिनसम्म लगातार ३० राज्यमा हिउँदे मौमस खराबका कारण हजारौं उडान रद्द, ठूला व्यापारिक कम्पनी ठप्प र जनजीवन प्रभावसँगै आर्थिक गतिविधिसमेत न्यून भएकोले अर्बौं अमेरिकी डलर क्षती भएको अमेरिकी आर्थिक विशेषज्ञहरुले प्रारम्भीक अनुमान गरेका छन् ।

अमेरिकाको बर्षिक जीडिपी ३० ट्रिलियन (३ सय खर्ब) अमेरिकी डलर रहेको छ । यो बार्षिक जीडीपीमा यस वर्षको हिउँदे मौसमले ठूलो प्रभाव पार्ने अमेरिकी अर्थशास्त्रीहरुले अनुमान गरेको अमेरिकी समाचार संस्था एशोसिएटेड प्रेस (एपी)ले उल्लेख गरेको छ । एपीका अनुसार चार दिनमा २४ हजार ६ सय ५४ उडान रद्द हुँदा १ सय १५ विलियन (१ सय १५ अर्ब ) अमेरिकी डलर नोक्सान भएको छ । जलवायु अर्थशास्त्री एडम स्मिथले करोडौं जनताको जनजीवन प्रभाव पार्ने खराब मौसमले २०२६ को देशका लागि पहिलो अर्बैं डलरको मौसम प्रकोप हुने दाबी गरेका छन् । ‘अर्बौं अमेरिकी डलरको नोक्सानलाई तत्काल मेटाउन सकिँदैन,’ उनले भने ।

यसैगरी अघिल्लो वर्ष क्यालिफोर्नियाको लस एन्जलसमा आगलागीबाट २ सय ५० विलियन (२ सय ५० अर्ब) अमेरिकी डलर क्षति भएको थियो । त्यो क्षतिलाई यसवर्ष हिउँदे मौमसको प्रभावमा तुलना गर्दै अमेरिकी आर्थिक विशेषज्ञहरुले प्राइभेट ठूला उद्योग र कम्पनीहरु ३० वटा राज्यमै ठप्प हुँदा अर्को करिब २ सय ५० अर्ब नै क्षतिको विवरण आउनसक्ने बताएका छन् ।

जलवायु अर्थशास्त्री स्मिथले ३० वटा राज्यमा हिउँदे खराब मौसमका कारण देखिएको प्रभाव र गतवर्ष क्यालिफोर्नियाको लस एन्जलसमा भएको आगलागीको क्षतिको तुलना लगभग उस्तै देखिएकोले प्रारम्भिक अनुमान मात्र भएको दाबी गरेका छन् । ‘यो प्रारम्भिक अनुमान हो, थप बिमाबाट क्षतिको जोखिम न्यूनीकरण ६० बिलियन डलर बिमाबाट हुने अध्ययन गर्न सकिन्छ,’ स्मिथले एपीसँग भनेका छन् ।

Economic losses of $425 billion, 24,000 flights canceled

प्रारम्भिक घटना विवरणको आधारमा हिमपात, आँधी र हिमवर्षाका कारण हालसम्म कम्तिमा ३० जनाको मृत्यु भएको छ । हिमपातको अधिक प्रभावमा रहेका ३० वटा राज्यमध्ये कहाँ कति जनाको मृत्युबारे यकीन विवरण भने सार्वजनिक गरिएको छैन । राज्यअनुसार यकीन विवरण सार्वजनिक नगरिए पनि सवारी दुर्घटना कारण, अधिक चिसोका कारण घरबारविहिनहरु, हिउँ पन्छाउने क्रममा भएका दुर्घटना र हिउँमा स्केटिङ गर्ने क्रममा भएका दुर्घटनाका कारण कम्तिमा ३० जनाको मृत्यु भएको मौसमविद् जोनथन पोर्टरले जानकारी दिएको एपीले उल्लेख गरेको छ ।

चार दिनसम्मको खराब हिउँदे मौसमकै कारण करिब १० लाख बढी अमेरिकी बासिन्दा अन्धकारमा दैनिकी बिताउन बाध्य भएको जनाएको छ । हिमपात, आँधी र हिमवर्षाको धेरै प्रभावमा परेको न्यूयोर्क, न्यूजर्सी, मेरिल्याण्ड, भर्जिनिया, नर्थक्यारोलिना, बासिङ्टन डिसी, टेक्सस, केन्टकी, टेनिसी, लुजियाना, न्यूमेक्सिको, ओक्लहामा, जर्जिया र अलबामा राज्यका १० लाख बढी मानिस दुई दिनसम्म विद्युतविहीन अवस्थामा दैनिकी बिताउन बाध्य भएका थिए ।

यसैगरी, चार दिनको अन्तरालमा अमेरिकी उडान क्षेत्र धेरै प्रभावमा परेको छ । खराब मौसम र भिजिभिलिटी न्यून हुँदा चार दिनमा २४ हजार बढी उडान रद्द गरिएको थियो । जनवरी २३ देखि २७ सम्म २४ हजार ६ सय ५४ उडान रद्द भएका छन् । जनवरी २३ मा ६ सय ९०, २४ मा ४ हजार १ सय, २५ मा सबैभन्दा बढी ११ हजार ६ सय १९, २६ मा ६ हजार ३ सय र २७ मा १ हजार ८ सय ४५ उडान रद्द गरिएको फ्लाइटअवेरमा उल्लेख गरिएको छ ।

यसअघि सन् २०२२ मा हिमआँधीका कारण ३८ जनाको मृत्यु भएको थियो । २०२२ मा हिमआँधीका कारण  कान्सास, नेब्रास्का, ओहायो, न्युयोर्क, ओक्लाहोमा, केन्टकी, मिजौरी, टेनेसी राज्यका बासिन्दा हिमआँधीबाट प्रभावित भएका थिए ।

सुदीप शिवाकोटी कान्तिपुरका अमेरिका संवाददाता हुन् ।

Link copied successfully