' यो सैन्य निर्माण कुनै वास्तविक लडाइँका लागि होइन भन्ने हाम्रो आशा छ । तर, खराब अवस्थाका लागि पनि हामी तयार छौं,’ ईरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइली बघाई ।
What you should know
काठमाडौँ — अमेरिकाले तैनाथ गरेको युद्ध विमानवहाक विशाल पानीजहाज (आर्माडा) मध्यपूर्वमा इरानको सीमा क्षेत्र नजिक पुगेको छ । अब्राहम लिंकन क्यारियर नामक यस आर्माडामा दर्जनौं युद्ध विमानहरु छन् ।
यसलाई पछ्याउँदै अन्य तीन अत्याधुनिक विध्वंशकहरू हिन्द महासागरको पश्चिमतर्फ पुगेको अमेरिकी सैन्य अधिकारीहरुले बताएका छन् ।
अमेरिकी सेनाको मध्यपूर्व हेर्ने कमाण्ड (युएस सेन्ट्रल कमाण्डले – सेन्टकम) अधिकारीहरुले यो जहाज अझै ईरानको नजिक पुग्ने बताएका छन् ।
आगामी दिनमा आर्माडालाई ओमानको खाडी वा पूर्वी अरेबियन समुद्रमा तैनाथ गरिने उनीहरुले बताएका छन् । यसै महिनाको सुरुवातमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानमा सैन्य हस्तक्षेप गर्ने चेतावनी दिएका थिए । उनले आन्दोलनकारीमाथि दमन नगर्न ईरान सरकारलाई धम्की पनि दिएका थिए ।
‘ईरानी राष्ट्रवादीहरु आफ्नो आन्दोलन जारी राख्नुस् । सहयोग बाटोमै छ,’ उनले १२ जनवरीमा सामाजिक सञ्जाल ट्रुथ सोशलमा लेखेका थिए । त्यसबेला ईरानमा आक्रमण गर्ने योजना बनाइसकेका ट्रम्प आफ्ना सल्लाहकारहरुसँग राय लिएपछि पूर्व योजनाबाट ब्याक भएको अमेरिकी सञ्चारमाध्यम वासिङटन पोस्टले जनाएको छ ।
ईरानले प्रत्याक्रमण गरेमा त्यसलाई व्यवस्थापन गर्न कठिन हुने राय सल्लाहकारहरुले दिएपछि ट्रम्प त्यसबेला मत्थर भएका थिए । लडाँइ चर्कदाँ मध्यपूर्वमा अस्थिरता निम्तने भन्दै अमेरिकाका सहयोगी साउदी अरेबिया, ओमान र कतारले पनि आक्रमण नगर्नका लागि सल्लाह दिएका थिए ।
त्यसयता, केही समय ईरानका सवालमा अमेरिका मौन देखियो । तर, बिहीबार ट्रम्पले अमेरिकाबाट आर्माडा इरानतर्फ गइरहेको बताएका थिए । ‘तर यसको प्रयोग गर्नुपर्ने छैन भन्ने मलाई आशा छ,’ उनले भनेका थिए । उनले आन्दोलनकारीमाथि दमन नगर्न र आणविक कार्यक्रमलाई सुरु नगर्न ईरानलाई पुनः चेतावनी पनि दिएका थिए ।
‘हामीले ईरानलाई नियालिरहेका छौं । हाम्रो ठूलो सेना ईरानतर्फ गइरहेको छ,’ ट्रम्पले भनेका थिए ।
एक साताभन्दा लामो समयअघि नै अमेरिकी विमानवाहक आर्माडा ‘अब्राहम लिंकन’ दक्षिण चीन सागरबाट बाटो मोडेर मध्यपूर्वतर्फ हिंडेको थियो ।
मलाक्काको घाँटी हुँदै यो आर्माडा हिन्द महासागरमा आएको हो । यसमा दर्जनौं फाइटर जेटहरु, झन्डै ५ हजार जना जहाज चालक र टोमाहक क्रुज मिसाइल्सयुक्त अर्लेग बुर्के क्लास विध्वशंक पनि छ । यसलाई पछ्याइरहेका तीनवटा विध्वंशकमा दर्जनौं मिसाइल्स छन् । यसमा एयर डिफेन्स सिस्टम पनि जडान गरिएको छ ।
प्रत्याक्रमणका लागि तयार छौं : ईरान
ईरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइली बघाईले खराब अवस्थाका लागि ईरान तयार रहेको बताए । ‘यो सैन्य निर्माण हो । कुनै वास्तविक लडाइँका लागि होइन भन्ने हाम्रो आशा छ । तर, खराब अवस्थाका लागि पनि हामी तयार छौं,’ उनले भने ।
अमेरिकाले कुनै पनि आक्रमण गरेमा त्यसको कठोर जवाफ दिइने उनले बताए । गत जुनमा भएको १२ दिन युद्धको स्मरण गर्दै उनले ईरान जिम्मेवार ढंगले प्रस्तुत भएको बताए । ‘ईजरायल र अमेरिकाविरुद्ध ईरानले धेरै संयमित, जिम्मेवार र नियन्त्रित प्रतिक्रिया दिने प्रयास गर्यो,’ उनले भने, ‘यसपटक हामीमाथि कुनै आक्रमण भएमा हामी संभव भएसम्म कठोर जवाफ फर्काउनेछौं ।’
शर्त पालना भए वार्ता संभव छ : अमेरिका
अमेरिकाले वार्ताको ढोका पनि खुलै रहेको बताएको छ । ‘उनीहरु वार्ता गर्न चाहन्छन् । मलाई थाहा छ । उनीहरुले धेरैपटक यो कुरा गरेका छन्,’ सोमबार अमेरिकी सञ्चारमाध्यम एक्सियोससँग ट्रम्पले भनेका छन् । उनलाई अमेरिकी रक्षा अधिकारीहरुले सोमबार नै ईरानका विषयमा ब्रिफिङ गरेका थिए ।
ईरान कमजोर भइसकेको रक्षा अधिकारीहरुको निष्कर्ष छ । ‘यदी उनीहरु हामीसँग संवाद चाहन्छन् र उनीहरुलाई शर्त मन्जुर छ भने हामी वार्ताका लागि तयार छौं,’ एक अमेरिकी अधिकारीले भनेका छन् । ती अधिकारीले गत वर्ष नै अमेरिकाले ईरानसँगको वार्ताका लागि आफ्ना शर्तहरु राखिसकेको बताएका छन् । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले ईरानले आफ्ना ब्यालेस्टिक मिसाइल कार्यक्रम बन्द गर्नुपर्ने र मध्यपूर्व क्षेत्रमा छद्म सहयोग बन्द गर्नुपर्ने बताएका छन् ।
‘दशकौंसम्म ईरान सरकारले आफ्नो देशको अर्थतन्त्र, कृषि, पानी र विद्युतलाई बेवास्ता ग¥यो । उसले ठूलो धनराशी छद्म आतंकवादी समुह हुर्काउन र आणविक हतियार सम्बन्धी अनुसन्धानमा लगायो,’ अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले भने ।
एक महिनादेखि आन्दोलन
ईरानमा विगत एक महिनादेखि सरकारविरोधी आन्दोलन चलिरहेको छ । मूल्यवृद्धि र मुद्रास्फितिको विरोधमा २८ डिसेम्बरमा खुद्रा व्यापारीहरुले पसल बन्द गरेर आन्दोलन सुरु गरेका थिए । त्यसयता, यस आन्दोलनमा सर्वसाधाण, विद्यार्थी, धार्मिक समूहलगायत सबै होमिएका छन् । उनीहरुले सर्वोच्च नेता अयोतुल्लाह खामेनाई र ईरान सरकारको राजीनामा गरेको छन् ।
सरकारले आन्दोलनमा कडा दमन गरिरहेको छ । झन्डै दुई सातादेखि ईरानमा इन्टरनेटमाथि प्रतिबन्ध छ । त्यहीकारण, यहाँ आन्दोलनमा ज्यान गुमाउनेको यकिन संख्या पुष्टि गर्न कठिन छ । २१ जनवरीमा ईरानको सरकारी मिडिया प्रेस टिभीले ३ हजार १ सय १७ जना मानिसहरुले आन्दोलनमा ज्यान गुमाएको जनाएको थियो ।
ईरानको सरकारी सञ्चामाध्यमले मृतकको संख्या सार्वजनिक गरेको यो नै पहिलोपटक हो । तर, पर्यवेक्षक निकाय तथा मानवअधिकारवादीहरुले सार्वजनिक गरेको सख्ंया यसभन्दा ठूलो छ । अमेरिकास्थित मानवअधिकार अभियन्ता समाचार एजेन्सी (एचआरएएनए) ले कम्तिमा ५ हजार ८ सय ४८ जनाको मृत्यु भएको जनाएको छ ।
बेलायतको लण्डनमा कार्यालय रहेको पर्सियन भाषाको सञ्चारमाध्यम ‘ईरान इन्टरनेशनल’ ले ३६ हजारभन्दा धेरै मानिस आन्दोलनमा मारिएको दाबी गरेको छ ।
(एजेन्सीको सहयोगमा)
