७ सदस्यीय सैन्य आयोगमा अब दुई सदस्यमात्रै बाँकी छन् ।
What you should know
काठमाडौँ — चीनको केन्द्रीय सैन्य आयोगका उपाध्यक्ष जनरल झाङ योक्सियामाथिको छानविनले चिनियाँ सेनामा गम्भीर संकट निम्त्याएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
गत शनिबार चिनियाँ विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै झाङ र यस आयोगमा सदस्य जनरल लिऊ झेन्लीमाथि छानविन भइरहेको जनाएको थियो ।
यससँगै अब सात सदस्यीय आयोगमा अध्यक्ष राष्ट्रपति सी जिनफिङ र सदस्य झाङ सिङमिनमात्रै बाँकी छन् । चिनियाँ सैन्य आयोगमा सीपछिको वरियतामा रहेका झाङमाथि अनुशासन र कानुन उल्लंघनको गम्भीर अभियोग लागेको मन्त्रालयले जनाएको थियो ।
सीले सन् २०१२ मा सी सत्तामा आएयता भ्रस्ट्राचार विरोधी अभियान थालेका थिए । यस बृहद अभियानका क्रममा चीनमा २ लाखभन्दा धेरै अधिकारीहरु कारबाहीमा परिसकेका छन् । अहिलेको छानविनलाई पनि यसैको हिस्सा मानिएको छ ।
कम्युनिष्ट पार्टीले यसअघि आयोगका अर्का उपाध्यक्ष विदोङलाई अक्टुबरमा निलम्बन गरेको थियो । त्यसैगरी, सन् २०२४ मा यस आयोगका सदस्य रहेका पूर्व रक्षामन्त्री लि साङफु र मियो हुवा भ्रस्टाचार आरोपमा निलम्बनमा परेका थिए ।
चीनका दशौं लाख सैनिकलाई नियन्त्रण गर्ने भएकाले सैन्य आयोगलाई निकै शक्तिशाली मानिन्छ । १९८० को दशकमा देङ सियाओपिङ यस आयोगको अध्यक्षबाहेक अन्य कुनै पनि पदमा थिएनन् । तर, राष्ट्रपति र अन्य वरिष्ठ नेताले पनि उनकै योजनामा काम गर्थें ।
अमेरिकी सञ्चारमाध्यम द वासिङटन पोस्टले विभिन्न स्रोतहरुको हावाला दिदैं झाङमाथि चीनको आणविक हतियार कार्यक्रमबारे प्राविधिक तथ्याङ्क अमेरिकालाई उपलब्ध गराएको र घुस खाएको आरोप लगाइएको जनाएको छ ।
७५ वर्षीय झाङ सन् १९६८ देखि नै चिनियाँ जनमुक्ति सेनाको सदस्य थिए । विगतमा उनी राष्ट्रपति सी नजिकका व्यक्ति रहेको पश्चिमा सञ्चारमाध्यमहरुले जनाएका छन् ।
