मिन्नेसोता राज्यका गभर्नरद्वारा अध्यागमन प्रहरी फिर्ता लैजान ट्रम्पसँग माग
काठमाडौँ — अमेरिकाको मिन्नेसोता राज्यस्थित मिनियापोलिस शहर यतिबेला राजनीतिक अस्थिरताको केन्द्र बनेको छ । यहाँ विगत तीन साताभित्र संघीय अध्यागमन प्रहरी (आईसिई) को गोली लागेर दुईजनाको मृत्यु भइसकेको छ ।
मिन्नेसोता राज्यका गभर्नर टिम वेल्जले संघीय अध्यागमन प्रहरीलाई राज्यबाट फिर्ता लैजान राष्ट्रपति डोनाल्ड ट्रम्पसँग माग गरेका छन् । यही माग राखेर प्रदर्शन चलिरहेको छ ।
पूर्व राष्ट्रपतिद्वय बिल क्लिन्टन र बाराक ओबामाले अध्यागमन प्रहरीले गरेको दमनको विरोधमा सबै एकजुट हुनुपर्ने समय आएको बताएका छन् । ओबामाले मिनियापोलिस र देशभर भइरहेका शान्तिपूर्ण आन्दोलनमा साथ दिन पनि आव्हान गरेका छन् ।
अमेरिकामा अध्यागमन सम्बन्धी विषय संघीय सरकारको क्षेत्राधिकारमा पर्छ । दोस्रो कार्यकाल राष्ट्रपतिका रुपमा ट्रम्पले सपथ लिएसँगै उनका कठोर आप्रवासन नीतिलाई कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी आईसिईलाई छ ।
झन्डै १५ प्रतिशत आप्रवासी तथा ठूलो संख्यामा अश्वेत–अमेरिकी बस्ने मिनियापोलिसमा यसको ठूलो असर देखिएको छ । आप्रवासीमाथि धरपकड गर्ने, गैरकानुनी रुपमा बसेको भन्दै नागरिकता चेकजाँच गर्ने, हिरासतमा राख्ने लगायत काम संघीय अध्यागमन अधिकारीहरुले गर्दै आएका छन् । त्यस्तै, विभिन्न स्थानमा छापा हानेर उनीहरुले आप्रवासीलाई डिपोर्ट समेत गरिरहेका छन् ।
गत डिसेम्बरदेखि नै यहाँ झन्डै २ हजारको संख्यामा अध्यागमन एजेन्टहरु तैनाथ गरिएको थियो । लगत्तै उनीहरुले गरेको दमनको विरोधमा आन्दोलन सुरु भएको थियो । आन्दोलनमा ऐक्यवद्धता जनाउन आएकी रेने गुड नामकी महिला सवार गाडीमा ७ जनवरीमा एक अध्यागमन एजेन्टले गोली हानेका थिए । जसले ३७ वर्षीया गुडको मृत्यु भएको थियो ।
प्रतिरक्षाका लागि गोली चलाउनु परेको ती एजेन्टको दाबी थियो । तर, गुडले आक्रमण गर्न खोजेको कुनै प्रमाण भेटिएको छैन ।
गुडको मृत्युपछि घटनाको निष्पक्ष छानविन तथा अध्यागमन एजेन्ट (आईसिई) ले शहर छाड्नुपर्ने मागसहित दिनहुँजसो प्रदर्शन भइरहेको छ । त्यहीक्रममा शनिबार प्रदर्शनमा सहभागी युवा एलेक्स प्रिट्टिको प्रहरीले गोली हानेर हत्या गरेको छ ।
३७ वर्षका प्रिट्टिले आक्रमण गर्न खोजेपछि जवाफमा गोली चलाउनुपरेको प्रहरीको दाबी छ । अमेरिकाको घरेलु सुरक्षा मामिला (डिएचएस) हेर्ने मन्त्री क्रिस्टि नोमले शनिबार गोली चलाउने अधिकारीहरुको बचाउ गरेकी थिइन् । ‘उनीहरुलाई जे तालिम दिइएको थियो । त्यही गरेका हुन्,’ उनले भनिन् ।
त्यस्तै उनले प्रिट्टीमाथि हतियार प्रदर्शन गरेको र सुरक्षा अधिकारीमाथि आक्रमण गरेको आरोप लगाइन् । तर घटनाको समय उक्त स्थानमा उपस्थित रहेकाहरुले खिचेको भिडियोले अलग अवस्था देखाएको छ । भिडियोमा प्रिट्टिलाई संघीय अध्यागमन एजेन्टहरुले घेरेको देखिन्छ ।
केहीले उनलाई चेतावनी दिइरहेका छन् भने केहीले कुटिरहेका छन् । उनलाई जमिनमा लतारिरहेका छन् । प्रिट्टि जमिनमै ढलेका बेला गोली चलेको ठूलो आवाज पनि सुनिन्छ ।
सार्वजनिक भिडियोमा उनले हतियार बोकेको कतै पनि देखिदैंन ।
प्रिट्टिको कुनै आपराधिक रेकर्ड नरहेको पनि मिनियोलिसका प्रहरी प्रमुख ब्रायन ओ हाराले बताए । उनीसँग बन्दूकको लाइसेन्स थियो । तर, उनले उक्त दिन बन्दूक बोकेको देखिएको छैन ।
ट्रम्प प्रशासनको आप्रवासन दमनलाई अन्त्य गर्नका लागि अन्तरिम आदेश माग गर्दै सोमबार अदालतमा मुद्दा दायर गर्ने मिनियापोलिसका मेयर जाकोव फ्रेले बताएका छन् ।
ट्रम्प भर्सेस डेमोक्रेटिक पार्टी
ट्रम्पको आप्रवासन विरोधी नीतिको विरोधमा मिनियापोलिस शहरले पटक–पटक आन्दोलन गरेको छ ।
यसअघि ट्रम्पको पहिलो कार्यकालमा जर्ज फ्लोइड नामका एक अश्वेत युवाको हत्याको विरोधमा मिनियापोलिसबाट सुरु भएको ‘ब्ल्याक लाइभ्स म्याटर्स’ आन्दोलन देशभर फैलिएको थियो ।
मिनियापोलिसमा अश्वेत जनसंख्या ठूलो छ । त्यसमध्ये पनि सोमाली मुलका मानिसहरुको राम्रो उपस्थिति छ । १९९० को दशकमा सोमालियामा गृहयुद्ध सुरु भएपछि उनीहरु शरण खोज्दै विश्वका विभिन्न शहर पुगे ।
मिनियापोलिस शहर उनीहरुको केन्द्रबिन्दूजस्तै बन्यो । तर, ट्रम्प सोमाली समुदायप्रति खुसी छैनन् । केही समयअघि उनले उक्त समुदायलाई सार्वजनिक रुपमै ‘फोहोरी’ भनेर उपहास गरेका थिए ।
‘सोमालिया पानी नभएको, सेना नभएको र कानुन नभएको देश हो,’ गत डिसेम्बरमा उनले भनेका थिए । ट्रम्पले आप्रवासीहरुविरुद्ध पटक–पटक विषवमन गर्दै आएका छन् । झन्डै १५ प्रतिशत आप्रवासी रहेको मिनियापोलिसमा डेमोक्रेटिक पार्टीका टिम वेल्ज गभर्नर छन् ।
डेमोक्रेटिक पार्टीले ट्रम्पको कठोर आप्रवासन नीतिविद्ध चर्को आवाज उठाइरहेको छ ।
गभर्नर वेल्जले अध्यागमन प्रहरीलाई आफ्नो राज्यबाट हटाउनका लागि संघीय सरकारसँग माग गरेका छन् । आन्दोलनकारीले विगत लामो समयदेखि यही माग राखिरहेका छन् ।
पूर्व राष्ट्रपतिद्वय बिल क्लिन्टन र बाराक ओमाबाले पनि विज्ञप्ति जारी गर्दै मिनियापोलिसमा अध्यागमन प्रहरीले गरेको व्यवहारको निन्दा गरेका छन् ।
। ओबामाले एलेक्समाथिको गोली प्रहारको घटनालाई सबै अमेरिकीहरुले खतराको घण्टीका रुपमा लिनुपर्ने र पार्टीभन्दा माथि उठेर देशका विषय सोच्नुपर्ने बताएका छन् ।
‘एक राष्ट्रका रुपमा हाम्रा खास मुल्य–मान्यता छन् । त्यसमाथि आक्रमण बढ्दो छ,’ ओबामाले लेखेका छन् ।
मानवअधिकारका पक्षमा काम गर्ने संस्था भेराका निर्देशक साम रैमले लेखेको लेखमा ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेयता १७ जनामाथि अध्यागमन अधिकारीहरुले गोली प्रहार गरिसकेको उल्लेख छ ।
घटनामा चारजाको मृत्यु भएको र अन्य आठ जना घाइते रहेको भेराको तथ्यांकले देखाउँछ । अध्यागमनको हिरासतमा रहेकामध्ये ३२ जनाको सन् २०२५ मा मृत्यु भएको थियो । जो पछिल्ला दुई दशककै ठूलो ऑकडा हो ।
