उनी दुई दशकभन्दा बढी बीबीसीको दक्षिण एसिया ब्युरो प्रमुख नै रहेका थिए । त्यस अवधिमा उनले नेपाल, भारत र दक्षिण एसियाका अन्य मुलुकका महत्त्वपूर्ण राजनीतिक, आर्थिक र सामाजिक घटनाको रिपोर्टिङ गरेका थिए ।
काठमाडौँ — वरिष्ठ पत्रकार सर विलियम मार्क टलीको ९० वर्षको उमेरमा निधन भएको छ । दिल्लीबाटै बीबीसीका लागि ३० वर्षभन्दा बढी पत्रकारिता गरेका उनी बीबीसीका 'भारतको आवाज' भएको बीबीसी डटकमले जनाएको छ ।
उनी दुई दशकभन्दा बढी बीबीसीको दक्षिण एसिया ब्युरो प्रमुख नै रहेका थिए । त्यस अवधिमा उनले नेपाल, भारत र दक्षिण एसियाका अन्य मुलुकका महत्त्वपूर्ण राजनीतिक, आर्थिक र सामाजिक घटनाको रिपोर्टिङ गरेका थिए । पत्रकारिताका दौरानमा उनले नेपालको राजनीतिक घटनाक्रमलाई पनि नजिकबाट नियालेका थिए ।
बीबीसीका प्रसारक टली आफ्नो आत्मिय आवाजका लागि बेलायतकासाथै विश्वभर चर्चित रहेको बीबीसीले उल्लेख गरेको छ । उनी भारतमा सबैभन्दा प्रसिद्ध विदेशी संवाददाता र सम्माननीय रिपोर्टर र टिप्पणीकर्ता रहेको बीबीसीले जनाएको छ । उनले आफ्नो पत्रकारिताका दौरान युद्ध, भोकमरी,आन्दोलन र हत्याका साथै भोपाल ग्यास दुर्घटनालगायतका विषयहरु प्रकाशमा ल्याएका थिए ।
'सर मार्क टलीको निधनको खबर सुन्दा हामी अत्यन्त दुःखी छौँ,' बीबीसी न्युज तथा करेन्ट अफेयर्सका अन्तरिम प्रमुख कार्यकारी अधिकृत जोनाथन मुन्रोले एक विज्ञप्तिमा भनेका छन् । विदेशी संवाददाताहरूका अग्रणीमध्ये एकका रूपमा सर मार्कले आफ्नो रिपोर्टिङमार्फत भारतलाई संसारसामु चिनाएको उनले बताए । उनले भारतको जीवन्तता र विविधतालाई बेलायत तथा विश्वभरका दर्शकमाझ पुर्याएको उनले जनाएका छन् ।
टलीको जन्म भारतमै भएको थियो । सन् १९३५ मा तत्कालीन कलकत्ता (हालको कोलकाता) मा उनी जन्मिएका थिए ।
