रूसले चाहेको डोन्बास क्षेत्र किन महत्वपूर्ण छ ?

कोइला भण्डार, उर्वर कृषि योग्य भूमि, मिनिरल्सको भण्डार यस क्षेत्रको विशेषता हो । यहाँ ठूलो परिमाणमा गहुँ,धान, सूर्यमुखी फूल र मकै उत्पादन हुने गरेको छ ।

माघ १०, २०८२

कान्तिपुर संवाददाता

Why is the Donbas region important to Russia?

What you should know

काठमाडौँ — युएईमा रुस र युक्रेनका प्रतिनिधि चार वर्ष लामो युद्ध अन्त्य गर्नेगरी वार्ताको टेबुलमा छन् । अमेरिकाले यस वार्ताको मध्यस्थता गरिरहेको छ । लगभग धेरै कुराहरु यस वार्तामा टुंगिएको छ । 

तर, युद्ध अन्त्यका लागि डोन्बास क्षेत्रको मुद्दा पेचिलो बनेको छ । दुबै देशका प्रतिनिधिले यस मुद्दामा सहमति जुट्न सके युद्ध अन्त्य हुने दाबी गरेका छन् । किनकी, दुबै देशले यस भूमीमा आफ्नो दाबी पेश गरिरहेका छन् । 

रुस भन्छ : युद्धमा हामीले डोन्बासका धेरै क्षेत्र कब्जा गरिसक्यौं । यो नयाँ यथार्थलाई स्विकार्दै युक्रेनले यस क्षेत्रमा दाबी छाड्नुपर्छ । 

युक्रेन भन्छ : भूभाग सम्पने शर्त हामीलाई मान्य हुनेछैन । 

यही विवादमै अहिलेको वार्ताको हलो अड्किएको छ । आखिर डेन्बास क्षेत्र किन महत्वपूर्ण छ त ? आउनुस् यसबारे चर्चा गरौं ।

युक्रेनका २४ ओब्लास्ट (प्रान्त) मध्ये दुई प्रान्त (डोनेट्स्क र लुहान्स्क) लाई डोन्बास क्षेत्र भनिन्छ । यहाँ रूसले सन् २०१४ देखि नै सैन्य हस्तक्षेप निम्त्याइरहेको छ र सन् २०२२ मा यही क्षेत्रलाई कारण देखाउँदै उसले औपचारिक युद्ध सुरू गरेको थियो । 

अजोव समुद्र किनारको यो क्षेत्रमा रूसी भाषीको बाहुल्यता छ । डोनेट्स्कमा झन्डै ७५ प्रतिशत र लुहानन्समा झन्डै ७० प्रतिशत रुसी भाषी छन् । 

कोइला भण्डार, उर्वर कृषि योग्य भूमि, मिनिरल्सको भण्डार यस क्षेत्रको विशेषता हो । यहाँ ठूलो परिमाणमा गहुँ,धान, सूर्यमुखी फूल र मकै उत्पादन हुने गरेको छ । जसले विगतमा युक्रेनलाई खाद्य क्षेत्रको ठूलो वैश्विक निर्यातकर्तामध्ये एक बनाउन भूमिका खेलेको थियो ।

२० औं शताब्दीमा यस क्षेत्रमा ठूलो संख्यामा युक्रेनी उद्योगहरु थिए । विशेषगरी स्टिलको उत्पादनका लागि यो क्षेत्र चिनिएको थियो ।

रुसले अहिले यो क्षेत्रको झन्डै ८० देखि ९० प्रतिशत भूभाग कब्जा गरिसकेको छ । बाँकी भूभागबाट युक्रेनी सेना हट्नुपर्ने माग शान्ति वार्ताका दौरान रुसले लिएको छ ।

डोन्बासबाट दक्षिणमा रहेको युक्रेनी भूभाग क्रिमिया सन् २०१४ को सुरुवातमै रुसले कब्जा गरेको थियो । त्यसलगत्तै रुसले डोनेट्स्क र लुहानस्कमा पनि सैनिक हस्तक्षेप सुरु गर्‍यो ।

७ मेइ २०१४ मा  डोनेट्स्कले आफु युक्रेनबाट अलग भएको दाबी गर्दै ‘जनगणतन्त्र डेनेटस्क ’ घोषणा गरेको थियो । ५ दिनपछि ‘जनगणतन्त्र लुहानस्क’ घोषणा भयो । यी सबै काम रुसको इशारामा भएकाले युक्रेन र बााकी विश्वले यसलाई मान्यता दिएनन् । 

रुसी राष्ट्रपति पुटिनले सन् २०२२ मा  जनगणतन्त्र डोनेट्स्क र जनगणतन्त्र  लुहानस्कलाई स्वतन्त्र देशको मान्यता दिदैं यसको रक्षार्थ रुसी सेना परिचालन गरिएको दाबी गरेका थिए ।

यस्तो दाबीसँग रुस–युक्रेन युद्ध सुरु भयो । यसरी पुटिनले यी दुई क्षेत्र लिनका लागि विगत १२ वर्षदेखि निरन्तर प्रयास गरिरहेका छन् ।  

तर, ठूलो संख्यामा रुसी सैनिकले ज्यान गुमाइसकेपनि मस्कोले अझै डोन्बास क्षेत्र पूर्णतः कब्जामा लिन सकेको छैन । अहिलेसम्म, लुहानस्कमा लगभग सबै इलाका र डेनेट्स्कमा झन्डै ७० प्रतिशत इलाकामा मात्रै रुसको कब्जामा छ ।

रुसी सेनाले यसबाट अघि बढ्नका लागि युक्रेनसँग लडाइँ गरिरहेको छ । युक्रेनले यी भूभाग नछाडे रुसले सैन्य बल प्रयोग गरेर भएपनि कब्जामा लिने पुटिनले बताउँदै आएका छन् ।

तर, मानवीय क्षति चर्को परिरहेको छ । नाटोका महासचिव मार्क रुट्टीले गत सातामात्रै यस क्षेत्रमा हरेक महिना २० हजारदेखि २५ हजार रुसी सेनाले ज्यान गुमाइरहेको दाबी गरेका थिए । यद्यपी रुसले यी विवरण सार्वजनिक गरेको छैन ।

रणनीतिक रुपमा पनि यो क्षेत्र महत्वपूर्ण छ । यहाँ रहेको मारिउपोल बन्दरगाहले ब्ल्याक सीसँगको पहुँच उपलब्ध गराउँछ । यहाँ रुसी भाषी जनसंख्याको बाहुल्यता भएकाले भावनात्मक रुपमा पनि रुसको सम्बन्ध यस इलाकासँग जोडिएको छ ।

१९९१ मा सोभियत युनियन टुक्रिएपछि युक्रेन स्वतन्त्र भएको थियो । तर, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले स्वतन्त्र राष्ट्रका रुपमा अस्तित्वमा रहने अधिकार युक्रेनसँग नरहेको दाबी गर्दै आएका छन् । उनले पटक–पटक युक्रेन र युक्रेनी जनता इतिहासकालदेखि रुसको हिस्सा रहेको दाबी दोहोर्‍याइरहेका छन् ।

त्यस्तै रुसी भाषीमाथि युक्रेनमा जातीय संहार भइरहेको आरोप समेत लगाउँदै आएका छन् । जबकी, यसको कुनै प्रमाण प्रस्तुत गर्न सकेका छैनन् । 

कान्तिपुर

Link copied successfully