अमेरिकाका ३० राज्यमा अधिक हिमपात र वर्षा, १८ करोड जनता प्रभावित हुन सक्ने

जनजीवन प्रभावितसँगै प्रतिकूल मौसमको पूर्वअनुमान गर्दै १७ वटा राज्यले आपतकालीन अवस्था घोषणा गरेका छन् ।

माघ १०, २०८२

सुदीप शिवाकोटी

Heavy snow and rain expected in 30 US states, 180 million people could be affected

What you should know

अमेरिका — अमेरिकामा हिमपातका कारण जनजीवन प्रभावित भएको छ । ५० राज्यमध्ये ३० वटा राज्यमा भारी हिमपात, हिमआँधी, बरफ र बर्सातका कारण जनजीवन प्रभावित भएको हो । 

शुक्रबारबाट तीन दिनसम्म अमेरिकाका ३० वटा राज्यमा निरन्तर हिमपातसँगै आँधी, वर्षाका कारण १८ करोडको जनजीवन प्रभावित हुने द नेसनल वेदर सर्भिस (एनडब्लूएस) ले जनाएको छ । ‘उत्तरी क्षेत्रमा भारी हिमआँधी र दक्षिणी क्षेत्रमा हिमपातसँगै वर्षापछि तापक्रम माइनसमा झर्ने हुनाले बरफ जम्ने र सवारीसाधन चलाउन, हिँडडुल गर्न अत्यन्त समस्या हुने भएकाले जनजीवन प्रभावित हुनेछ,’ एनडब्लूएसले सूचना जारी गर्दै उल्लेख गरेको छ, ‘करिब १८ करोड बासिन्दालाई प्रभाव पार्ने प्रतिकूल मौसमबाट बच्न र समयमै सुरक्षित रहन अनुरोध गरिन्छ ।’

निरन्तर तीन दिनमा न्युयोर्क, वासिङ्टन डीसी, बोस्टन, मेरिल्यान्ड राज्यमा ८ देखि १२ इन्चसम्म हिमपातसँगै हिमआँधीले प्रभाव पार्न सक्ने एनडब्लूएसको अनुमान छ । स्थानीय समयअनुसार शनिबार दिउँसोसम्म स्नोसेन्ट लुइसबाट, इन्डियानापोलिस हुँदै, सिनसिनाटी, चार्ल्सटन, वस्ट भर्जिनियासम्म हिमपात र टेक्सस, लुइसियाना, मेम्फिस, टेनेसी, नर्थ क्यारोलिनामा हिउँ मिश्रित बर्षात हुने अनुमान गरिएको छ । 

जनजीवन प्रभावितसँगै प्रतिकूल मौसमको पूर्वअनुमान गर्दै १७ वटा राज्यले आपतकालीन अवस्था घोषणा गरेका छन् भने फेडेरल एभिएसन एडमिनिस्ट्रेसन (एफएए) ले तय भइसकेका तीन दिनसम्मका उडान रद्द गरेको छ । राजधानी वासिङ्टन डीसीसँगै अलाबामा, अर्कान्सस, जर्जिया, क्यानसस, केन्टकी, लुजियाना, मेरिल्यान्ड, मिसिसिपी, मिसौरी, न्युजर्सी, न्युयोर्क, नर्थ क्यारोलाइना, पेनसिल्वेनिया, साउथ क्यारोलाइना, टेनेसी, टेक्सस र भर्जिनिया राज्यले आपतकालीन अवस्था घोषणा गरिसकेका छन् ।

एफएएले ३० राज्यमा उडान हुने तीन दिनसम्मका ८ हजार ३ सय बढी उडान रद्द गरेको हो । शुक्रबारका ६ सय ४०, शनिबारका ३ हजार १ सय आइतबारका ३ हजार ६ सय उडान रद्द गरिएको एफएएले जनाएको अमेरिकी सञ्चारमाध्यम एबीसी न्युजले जनाएको छ ।

यसअघि सन् २०२२ मा हिमआँधीका कारण ३८ जनाको मृत्यु भएको थियो । त्यसबेला कान्सास, नेब्रास्का, ओहायो, न्युयोर्क, ओक्लाहोमा, केन्टकी, मिजौरी, टेनेसी राज्यका बासिन्दा हिमआँधीबाट प्रभावित भएका थिए ।

सुदीप शिवाकोटी शिवाकोटी कान्तिपुरका अमेरिका संवाददाता हुन् ।

Link copied successfully