दोस्रो कार्यकालको पहिलो वर्ष शान्दार रहेको ट्रम्पको दाबी

ट्रम्पले नाटोको सुदृढीकरणमा आफुले भूमिका खेलेको दाबी समेत गरेका छन् । जबकी उनले भन्सार शुल्क बढाएका युरोपेली देश नै नाटोको सदस्य छन् ।

माघ ७, २०८२

कान्तिपुर संवाददाता

Trump claims first year of second term has been great

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको पहिलो वर्ष पूरा भएको छ । उनले २० जनवरी २०२५ मा दोस्रो कार्यकालको सपथ लिएका थिए । 

‘यो निकै शान्दार अवधि रहृयो,’ ट्रम्पले मंगलबार भने । झन्डै १ घण्टा ४० मिनेटसम्म उनले आफ्ना कार्यकालका उपलब्धिहरुको चर्चा गरे । जसमा आप्रवासन, अमेरिकाको आर्थिक वृद्धि, व्यापार, विदेश नीतिमा उल्लेख्य सुधारलगायत दाबी छन् । 

यद्यपी पछिल्लो समय पश्चिमा देश तथा युरोपेली सहयोगीहरुसाग ट्रम्पको सम्बन्ध बिग्रिएको छ । ग्रिनल्यान्डलाई जसरी पनि अमेरिकामा गाभ्ने योजना अघि सारेपछि उनीसाग युरोपेली देशहरु चिढिएका हुन् । 

मंगलबारै स्विचरल्यान्डको डाभोसस्थित विश्व आर्थिक फोरममा भेला भएका युरोपेली नेताहरुले ट्रम्पले ग्रिनल्यान्डमा निम्त्याएको खतराबारे छलफल गरे । 

अमेरिकाको छिमेकी देश क्यानडाका प्रधानमन्त्री मार्क कार्नेले पश्चिमा देशहरुले अमेरिकी नेतृत्व बिनाको भविष्यबारे सोच्नुपर्ने समय आइसकेको बताए । ‘हामी विघटनको मध्यमा छौं । रुपान्तरण होइन,’ उनले भने ।

ट्रम्पले यसअघि सामाजिक सञ्जालमा शेयर गरेको एउटा एआई निर्मित तस्बिरमा क्यानेडा, ग्रिनल्यान्ड र भेनेजुएलाको नक्सामा अमेरिकाको झन्डा पोतिएको थियो । अर्को पोस्टमा ग्रिनल्यान्डमा अमेरिकाको झन्डा फहर्राएको देखिएको थियो । 

आफ्नो दोस्रो कार्यकालमा ट्रम्प बिस्तारवादी नीतिबाट ग्रस्त रहेको संकेत यी तस्विर र उनका गतिविधिले गर्छन् । 

न्युज ब्रिफिङका क्रममा ट्रम्पले ग्रिनल्यान्डमा आफुले अघि बढाएको दबाब रणनीति सफल हुने आशा व्यक्त गरे । 

‘ग्रिनल्यान्डमा हामीले धेरै भेटघाट तय गरेका छन्,’ उनले भने,‘मलाई लाग्छ यसले निकै राम्रो काम गर्नेछ । ’ 

ट्रम्पले नाटोको सुदृढीकरणमा आफुले भूमिका खेलेको दाबी समेत गरेका छन् । जबकी उनले भन्सार शुल्क बढाएका  युरोपेली देश नै नाटोको सदस्य छन् । र, उनले आाखा लगाइरहेको ग्रिनल्यान्ड पनि नाटोकै भूमि हो । 

राष्ट्रपति ट्रम्पले राष्ट्रसंघको भूमिका प्रभावशारी नरहेको दाबी गरेका छन् । उनलाई पत्रकारहरुले सोधेका थिए, ‘के युद्धग्रस्त गाजामा पुनर्निर्माणको निगरानी गर्न तपाईको नेतृत्वमा बनाइएको शान्ति कमिटीले राष्ट्रसंघलाई बिस्थापित गर्नसक्छ ।’

यस प्रश्नमा ट्रम्प निकै प्रफुल्लित देखिए । उनले भने,‘हुनसक्छ ।’

कान्तिपुर

Link copied successfully