महत्त्वपूर्ण खनिजदेखि ऊर्जा स्रोत, उन्नत प्रविधि उत्पादन, सेमिकन्डक्टर र एआईको विकास एवं व्यवस्थापनका लागि सुरक्षित, समृद्ध र नवप्रवर्तनसहितको ‘सिलिकन’ आपूर्ति संयन्त्र सुनिश्चित गर्न तथा प्रविधि र महत्त्वपूर्ण खनिजहरूमा चीनमाथिको निर्भरता घटाउने अमेरिकी रणनीति
काठमाडौँ — जनवरी पहिलो र दोस्रो साता कतार र संयुक्त अरब इमिरेट्स (यूएई) ले ‘प्याक्स सिलिका’ पहलमा सहभागी हुन औपचारिक हस्ताक्षर गरे ।
यसअघि गत डिसेम्बर १२ मा वासिङ्टन डीसीमा आयोजित सिलिकन गठबन्धनको उद्घाटन सम्मेलनमा अमेरिका, जापान, दक्षिण कोरिया, सिंगापुर, बेलायत, अस्ट्रेलिया र इजरायलले पूर्ण सदस्यका रूपमा सहमति जनाउँदै हस्ताक्षर गरेका थिए । केही दिनपछि नेदरल्यान्ड्स पनि जोडियो । अमेरिकाले अघि सारेको प्याक्स सिलिका पहलले विश्वको प्रविधि र अर्थतन्त्रमा नयाँ शक्ति सन्तुलनको बहस सुरु गरेको छ ।
वासिङ्टनले यो विशिष्ट क्लबमा भारतलाई पनि सामेल गराउन खोजिरहेको छ । भारतका लागि अमेरिकी राजदूत सर्गियो गोरले भारतलाई आगामी फेब्रुअरीमा पूर्ण सदस्यका रूपमा यसमा सहभागी हुन औपचारिक निमन्त्रणा पठाउने बताएका छन् । तथापि डिसेम्बरको प्याक्स सम्मेलनमा भारतलाई सहभागी गराइएको थिएन ।
‘यस समूहमा भारतलाई पूर्ण सदस्यका रूपमा सामेल हुन अर्को महिना औपचारिक निमन्त्रणा गरिने जानकारी दिन पाउँदा म हर्षित छु,’ अघिल्लो साता नयाँदिल्लीस्थित अमेरिकी दूतावासमा आयोजित कार्यक्रममा राजदूत गोरले भनेका थिए, ‘विश्वले नयाँ प्रविधि अपनाइरहँदा, भारत र अमेरिकाले यस पहलमा सुरुदेखि नै हातेमालो गरेर अघि बढ्न जरुरी छ ।’ यसले भारतलाई एआई क्षमता अभिवृद्धि गर्न आवश्यक पर्ने दीर्घकालीन प्रविधि हस्तान्तरण सुनिश्चित गर्ने अपेक्षा गरिएको छ ।
शनिबार मात्र राजदूत गोरले भारतीय गभर्नर सञ्जय मल्होत्रासँग भेटेर प्रविधि क्षेत्रमा दुई देशको सहकार्य बढाउनुपर्ने बताएका थिए । सामाजिक सञ्जाल एक्समा पोस्टहरू हेर्दा उनले टाटा कम्पनिजका अध्यक्ष एन चन्द्रशेकरणलगायत भारतीय प्रविधि उद्यमीसँग पनि भेटघाट गरिरहेको देखिन्छ ।
हाल कोलकाता पुगेका गोरले प्याक्स सिलिका पहलमा भारतलाई जोड्न विशेष सक्रियता देखाइरहेका छन् । यसमा ताइवान, युरोपेली संघ, क्यानडा, नेदरल्यान्ड्स र आर्थिक सहकार्य एवं विकास संगठन (ओईसीडी) लाई भने अतिथिका रूपमा राखिएको छ ।
के हो प्याक्स सिलिका ?
राजदूत गोरकै भनाइअनुसार महत्त्वपूर्ण खनिजदेखि ऊर्जा स्रोत, उन्नत प्रविधि उत्पादन, सेमिकन्डक्टर र एआईको विकास एवं व्यवस्थापनका लागि सुरक्षित, समृद्ध र नवप्रवर्तनसहितको ‘सिलिकन’ आपूर्ति संयन्त्र सुनिश्चित गर्ने अमेरिकी पहल हो, प्याक्स सिलिका ।
यो मुख्य रूपमा सेमिकन्डक्टर, एआई र महत्त्वपूर्ण खनिजको आपूर्ति शृंखला सुरक्षित गर्ने आर्थिक रणनीति हो । प्रविधि र महत्त्वपूर्ण खनिजहरूमा चीनमाथिको निर्भरता घटाउने उद्देश्यले यसलाई अघि सारिएको छ । सन् २०२५ डिसेम्बरमा सुरु गरिएको यस पहलअन्तर्गत विभिन्न देशमा नयाँ चिप उत्पादन कारखाना (फ्याब्स) र प्रशोधन केन्द्रहरू स्थापना गर्न दिगो लगानीलाई प्रोत्साहित गर्ने लक्ष्य राखिएको छ ।
शुक्रबार मात्रै इजरायल र अमेरिकाबीच प्याक्स सिलिका फ्रेमवर्कअन्तर्गत संयुक्त घोषणापत्रमा हस्ताक्षर गर्न जेरुसेलम पुगेका अमेरिकी विदेश मन्त्रालयका उपसचिव ज्याकब हेलबर्गले आधुनिक जीवनलाई उपयोगी प्रविधि निर्माण गर्ने देशहरूले नै अबको युग हाँक्ने अभिव्यक्ति दिए ।
‘२१ औं शताब्दीमा भूभाग वा जनसंख्याका आधारमा होइन, प्रविधि र सुरक्षित आपूर्ति शृंखलाका आधारमा कुनै पनि देशको सामर्थ्य मापन हुन्छ,’ उनले भने, ‘एआई, अन्तरिक्ष, सेमिकन्डक्टर, रोबटिक्स, पदार्थ विज्ञान र नवीकरणीय ऊर्जा नै राष्ट्रिय शक्तिका आधार हुन् र शान्तिका नयाँ स्तम्भ पनि ।’
हस्ताक्षरपछि इजरायलको राष्ट्रिय एआई निर्देशनालयका प्रमुख, एरेज एस्केलले प्याक्स सिलिका पहलमा इजरायलको उन्नत प्रविधि र स्टार्टअप क्षेत्रले अमेरिकालाई नवीनतम प्रविधि एवं आपूर्ति शृंखलामा अग्रणी भूमिका निर्वाह गर्न थप सघाउने धारणा राखे । ‘अमेरिकाले विश्व प्रविधिको नेतृत्व गर्दा विश्व थप सुरक्षित हुनेछ,’ उनको भनाइ छ, ‘इजरायलका लागि अमेरिका अपरिहार्य रहेझैं अमेरिका र यसको राष्ट्रिय सुरक्षा हितका लागि इजरायल पनि अत्यन्तै महत्त्वपूर्ण छ ।’ यस साझेदारीलाई उनले प्रविधि र सुरक्षाको नयाँ युग सुरु भएका रूपमा व्याख्या गरेका छन् ।
रोमन साम्राज्यको स्वर्ण युग जनाउने ल्याटिन शब्द ‘प्याक्स रोमना’ र कम्प्युटर चिप्स बनाउन प्रयोग गरिने ‘सिलिका’ बाट ‘प्याक्स सिलिका’ शब्द संयोजन गरिएको रेस्ट अफ द वर्ल्डमा पत्रकार इन्द्रणील घोषले उल्लेख गरेका छन् । यस पहललाई कूटनीतिक सम्झौता मात्र नभएर आर्थिक र औद्योगिक लगानीको मार्गचित्रका रूपमा सहभागी राष्ट्रहरूले अर्थ्याइरहेका छन् । अमेरिकाले भारतलाई यो समूहमा मिसाउन खोज्नुका पछाडि बलिया कारण रहेको भारतीय पक्षको विश्लेषण छ ।
सञ्चार पोर्टल ‘मिन्ट’ को एक भिडियोमा विश्वका २० प्रतिशत चिप डिजाइनर भारतीय रहेको र भारतसँग दुर्लभ खनिजको भण्डार भएकाले प्याक्स सिलिकामा भारतलाई समावेश गर्न खोजिएको उल्लेख छ । यसै पहलअन्तर्गत माइक्रोसफ्टले भारतमा डेटा सेन्टर निर्माण गर्न १७.५ अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता पनि जनाइसकेको छ । अमेजनले ३५ अर्ब डलर, गुगलले १५ अर्ब, एप्पल र एनभिडियाले पनि भारतमा लगानीको घोषणा गरेका छन् ।
यस समूहमा जोडिएका सदस्य राष्ट्रहरू एकअर्काका प्रविधि कारखाना र पूर्वाधारमा लगानी बढाउनुका साथै कञ्चा पदार्थको सुरक्षा गर्न सहमत भएका छन् । लगानीको क्षेत्रमा ठूलो हलचल ल्याएको यस पहलले विशेषगरी चिप्स र खनिज प्रशोधनमा हुने विदेशी लगानीलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ । यो पहल ट्रम्प प्रशासनको ‘इकोनोमिक स्टेटक्राफ्ट’ (आर्थिक कूटनीति) को एक हिस्सा भएको रोयटर्समा ज्यारेट रेनसले लेखेका छन् । प्याक्स सिलिका पहल सुरु गरेलगत्तै ट्रम्पले एआई कम्पनीहरूको नियमन खुकुलो बनाउने कार्यकारी आदेश जारी गरेका थिए । (एजेन्सीको सहयोगमा)
