बेइजिङले आफ्नो घरेलु उत्पादकत्व र उपभोग वृद्धि गर्ने योजना बनाएको छ । तर, सन् २०२२ देखि निरन्तरता घटिरहेको जनसंख्याले चिनियाँ अधिकारीहरुलाई चिन्तित बनाएको छ ।
काठमाडौँ — चीनको जनसंख्या लगातार चौथो वर्ष पनि घटेको छ । सन् २०२५ मा जनसंख्या ३३ लाख ९० हजारले घटेर १ अर्ब ४० करोड ५० लाख हाराहारीमा झरेको चीनको राष्ट्रिय तथ्याङ्क ब्युरोले जनाएको छ ।
नवजात शिशुको संख्या सन् २०२४ को दाँजोमा १७ प्रतिशतले झरेको छ । सन् २०२४ मा ९५ लाख शिशु जन्मिएका थिए । २०२५ मा यो संख्या ७९ लाख २० हजारमा छ ।
सन् २०२४ को दाँजोमा मृत्यु हुनेको संख्या बढेको छ । २०२४ मा १ करोड ९ लाख ३० हजारको मृत्यु भएको थियो भने २०२५ मा १ करोड १३ लाख १० हजारको मृत्यु भएको छ ।
सन् २०२३ मा चीनले उछिन्नुअघिमसम्म चीन विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश थियो ।
चीनमा जन्मदर प्रति १ हजार व्यक्तिमा ५ दशलमव ६३ प्रतिशतले घटेको व्युरोले जनाएको छ । सन् २०२५ मा जन्मिएका शिशुको संख्या सन् १७३८ हाराहारीकै छ । जबकी त्यस सय चीनको जनसंख्या १५ करोड हाराहारी थियो,’ जनसांख्यिकविद् यी सुयनले भने ।
सन् २०२५ मा चीनको मृत्युदर प्रति हजारमा ८ दशमलव ०४ छ । जो १९६८ यताकै उच्च हो ।
बेइजिङले आफ्नो घरेलु उत्पादकत्व र उपभोगलाई वृद्धि गर्ने योजना बनाएको छ । तर, सन् २०२२ देखि निरन्तरता घटिरहेको जनसंख्याले चिनियाँ अधिकारीहरुलाई चिन्तित बनाएको छ ।
सन् २०२५ मा अमेरिकाले लगाएको भन्सार शुल्कका बाबजुद चीनले पूर्व लक्ष्यअनुसारको ५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको थियो । तर वृद्धावस्थाको जनसंख्या बढ्दै जाँदा आर्थिक वृद्धि सुस्त हुने जोखिम पनि देखिएको छ ।
चीन झन्डै २३ प्रतिशत जनसंख्या ६० वर्षमाथिको छ । सन् २०३५ सम्म ६० वर्षभन्दा माथिको जनसंख्या ४० करोड पुग्ने अनुमान लगाइएको छ । अर्थात्, त्यसबेलासम्म ठूलो संख्यामा मानिसहरुले काम छाड्छन् र पेन्सनका लागि चीनले ठूलो खर्च गर्नुपर्ने हुनसक्छ ।
चीनले अहिल्यै अवकाशको उमेर बढाएको छ । पुरुषले ६३ वर्ष (पहिले ६०) र महिलाले ५८ (पहिले ५५) वर्षसम्म काम गर्नुपर्ने नियम बनाइएको छ ।
चीनमा १९८० देखि २०१५ सम्म गरिबीविरुद्ध लड्ने क्रममा जनसंख्या नियन्त्रणका लागि 'एक बच्चा नीति' अघि सारिएको थियो । उक्त नीतिको असर अहिलेसम्म देखिएको विश्लेषकहरुले बताएका छन् ।
ठूलो संख्यामा मानिसहरु दुर्गम क्षेत्रबाट शहरतर्फ गइरहेका छन् । बालबच्चा हुर्काउन महँगो पर्ने भएकाले पनि उनीहरुले कम बच्चा जन्माउँछन् । सन् २०२५ को तथ्यांकअनुसार यहाा शहरीकरणको दर ६८ प्रतिशत छ । २० वर्षअघि ४३ प्रतिशत थियो ।
देशको आार्थिक रणनीतिका लागि जनसंख्या महत्वपूर्ण पक्ष भएकाले नीति–निर्माताहरुले यसको सन्तुलन कायम गर्नेगरी रणनीति बनाएका छन् ।
बेइजिङले जन्मदर बढाउनका लागि अनुमानित १ सय ८० बिलियन युआन (२५ दशमलव ८ बिलियन अमेरिकी डलर) खर्च गर्न लागेको रोयटर्सले जनाएको छ । यसमा आमा र बच्चालाई दिइने सहुलियत समावेश छ ।
विश्वमा निकै कम प्रजननदर भएका देशमध्ये चीन एक हो । यहाँ एक महिलाले औसतमा १ शिशु जन्माउँछन् ।
