कुर्दिश भाषालाई आधिकारीक भाषाको रुपमा प्रयोग गरिने र कुर्दिश नयाँ वर्षमा राष्ट्रिय बिदा दिइने सहमति
What you should know
काठमाडौँ — सिरिया सरकार र अल्पसंख्यक कुर्दिश नेतृत्वमा रहेको सिरियन डेमोक्रेटिक फोर्सेस (एसडिएफ) बीच युद्धविराम भएको छ । झन्डै दुई साता लामो लडाँइपछि दुई पक्षबीच १४ बुँदे सम्झौता भएको हो ।
यस सम्झौतामा एसडिएफलाई सिरियाको सेना र सरकारी निकायहरुमा समायोजन गर्ने उल्लेख छ । यससँगै देशको सम्पूर्ण भूभाग सरकारको नियन्त्रणमा आएको सिरियाको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
सिरियाका अल्पंसख्यक समुदायमध्ये कुर्दिश सबैभन्दा ठूलो समुदाय हो । यहाँ कुल जनसंख्याको झन्डै १० प्रतिशत (झन्डै २५ लाख ) कुर्दिश छन् । सिरियाले कुर्दिश संस्कृति र भाषिक अधिकारलाई मान्यता दिने प्रतिवद्धता पनि दोहोर्याएको छ ।
कुर्दिश भाषालाई आधिकारीक भाषाको रुपमा प्रयोग गरिने र कुर्दिश नयाँ वर्षमा राष्ट्रिय बिदा दिइने सहमति भएको छ । फ्रान्सको उपनिवेशबाट सन् १९४६ मा स्वतन्त्र भएयता कुर्दिशहरुले सिरियामा पहिलोपटक पहिचानको अधिकार पाएका हुन् । यस सम्झौतामा सिरियाले अमेरिका नेतृत्वको ईस्लामिक स्टेटविरुद्धको लडाँइमा सहभागिता जनाउने पनि उल्लेख छ ।
सिरियाका राष्ट्रपति अहमद अल साराले यस सम्झौतासँगै उत्तरपूर्वी क्षेत्रका अल हासाकाह, देर इज्जोर र राका सरकारको नियन्त्रणमा आएको बताए । राष्ट्रपति अल सारा र सिरियाका लागि अमेरिकी विशेष दूत टम बाराकबीच भेट भएको केही समयभित्रै यो सम्झौता भएको हो । बाराकले यस सम्झौतालाई एकिकृत सिरियातर्फको महत्वपूर्ण कदमका रुपमा प्रशंसा गरे ।
एसडिएफ कमाण्डर मजलोम अब्दीले पनि यस बैठकमा सहभागिता जनाउने अपेक्षा गरिएको थियो । तर, खराब मौसमले भ्रमण स्थगित भएको र उनी सोमबारमात्रै आइपुग्ने अल साराले बताए । अब्दीले टेलिभिजन सम्बोधन गर्दै सहमतिको पुष्टि गरेका छन् । उनले राजधानी दमास्कसबाट फर्केपछि सम्झौताका विषयमा सिरियाली कुर्दहरुलाई बिस्तृत जानकारी उपलब्ध गराउने बताएका छन् ।
कुर्दिश नेतृत्वको फौजले सिरियाली गृहयुद्धका दौरान झन्डै एक दशकअघि उत्तरपूर्वी क्षेत्रमा आफ्नो स्वायत्त प्रशासन स्थापना गरेको थियो । यसलाई अमेरिकाले समर्थन गरेको थियो । इस्लामिक स्टेट समुहविरुद्धको लडाँइमा यो फौज अमेरिकाको मुख्य स्थल दस्ता थियो ।
अमेरिकाको समर्थनमा एसडिएफले उत्तरपूर्वी सिरियाबाट आईएसआईएसलाई लेखेटेपछि क्रमश: कुर्दिश र अरब बाहुल्य इलाका नियन्त्रणमा लिएको थियो ।
अल सारा र अब्दीले हस्ताक्षर गरेको सम्झौताअनुसार सिरियाली अधिकारीहरुले कुर्दिशका आधार इलाकामा सार्वज्निक संस्थान, सीमा नाका र पेट्रोल तथा ग्याँसका खानी हेर्नेछन् । सिरियाली सुरक्षा निकाय र गृह मन्त्रालयमा एसडिएफका लडाकु र सुरक्षाकर्मीलाई समायोजन गरिनेछ ।
कुर्दिश बाहुल्य क्षेत्रमा रहेका जेल तथा हिरासत केन्द्र पनि सिरिया सरकारले नै सञ्चालन गर्नेछ । ती क्षेत्रमा हजारौं आईएसआईएस लडाकु र उनीहरुका परिवारका सदस्यलाई राखिएको छ ।
