मामादीले ८६.७ प्रतिशत मत ल्याएको सर्वोच्च अदालतले जनाएको छ । यस निर्वाचनलाई विपक्षीहरुले धाँधलीपूर्ण करार गरेका छन् ।
काठमाडौँ — पश्चिम अफ्रिकी देश गिनीमा जनरल मामादी डुम्बैयाले राष्ट्रपतिको सपथ लिएका छन् । उनी एक महिनाअघि सम्पन्न निर्वाचनबाट चुनिएका थिए ।
राजधानी कोनाक्रीबाट केही पर रहेको जनरल लान्साना कोन्टे रंगशालामा शनिबार उनले ठूलो जनसमुदाय तथा विदेशी पाहुनाको उपस्थितीमा सपथ लिए । सन् २०२१ मा जनरल मामादीकै नेतृत्वमा सेनाले तत्कालीन राष्ट्रपति अल्फा कोन्डेलाई अपदस्थ गरेर सत्ता हत्याएको थियो । त्यसयता, गिनीमा पहिलोपटक चुनाव भएको हो ।
मुख्य प्रतिस्पर्धीले बहिस्कार गरेको यस निर्वाचनमा ८ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । मामादीले ८६.७ प्रतिशत मत ल्याएको सर्वोच्च अदालतले जनाएको छ । यस निर्वाचनलाई विपक्षीहरुले धाँधलीपूर्ण करार गरेका छन् ।
शनिबार मामादीको सपथ समारोहमा रुवाण्डा, गाम्बिया, सेनेगल र अन्य अफ्रिकी देशका राष्ट्र प्रमुखहरू उपस्थित थिए । त्यसैगरी, चीन, नाइजेरिया, घाना र इक्वेटोरियल गिनीका उपराष्ट्रपतिहरू सहभागी भए । फ्रान्स र अमेरिकाले पनि आफ्ना प्रतिनिधि पठाए ।
गिनीमा ५० प्रतिशतभन्दा धेरै जनसंख्या गरिबीको रेखामुनी रहेको राष्ट्रसंघ तथा विभिन्न अध्ययन तथ्यांकहरुले देखाउँछ । राष्ट्रपति मामादीले देशको प्राकृतिक स्रोत प्रयोग गरेर गरिबी घटाउने लक्ष्य राखेका छन् । यहाँ प्रयोग ठूलो परिमाणमा फलाम र बक्साइटको भण्डार रहेको छ ।
