गाजामा अत्याधुनिक सुविधासम्पन्न शहर बनाउने ट्रम्पको लक्ष्य छ । उनले अहिले गठन भएजस्तो शान्ति समिति विश्वका कुनै पनि कुनामा कतै गठन नभएको दाबी गरेका छन् ।
What you should know
काठमाडौँ — प्यालेस्टाइनको गाजापट्टीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अध्यक्षतामा शान्ति समिति, डा अली साथ नेतृत्वमा राष्ट्रिय प्रशासन समिति (अन्तरिम प्राविधिक सरकार) र विश्वका प्रभावशाली व्यक्तिहरु संलग्न कार्यकारी अन्तर्राष्ट्रिय समिति गठन गरिएको छ ।
डा. अली साथ नेतृत्वको गैर-राजनीतिक सरकारले गाजामा दैनिक कामहरु हेर्नेछ । ६७ वर्षीय साथले विगतमा प्यालेस्टाइनी प्राधिकरणमा सहायक यातायत मन्त्रीको भूमिका निर्वाह गरेका थिए । उनी पेशाले सिभिल इन्जिनियर हुन् ।
ध्वस्त सार्वजनिक संस्थानको पुननिर्माण र गाजामा दैनिक जीवनलाई स्थिर बनाउने काममा साथले महत्वपूर्ण भूमिका खेल्ने विश्वास ह्वाइटहाउसले व्यक्त गरेको छ । साथ नेतृत्वको अनुगमन अन्तर्राष्ट्रिय समितिले गर्नेछ ।
उक्त समितिमा टर्कीका विदेशमन्त्री हाकान फिदान मध्यपूर्वका लागि अमेरिकी दूत स्टिफ विटकोफ, ट्रम्पका ज्वाँई जरेद कुस्नर,बेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेयर, युएईका अन्तर्राष्ट्रिय सहकार्य मन्त्री रीम अल हासिमी, कतारी कुटनीतज्ञि अली अल थावादी, इजिप्टका गुप्तचर प्रमुख हसन रशाद, युएईमा बस्ने बुल्गेरियाली कुटनीतिज्ञ निकोलाई मल्देनोभ, इजरायली व्यापारी याकिर गबाय र डच नेतृ सिग्रिड काग छन् ।
त्यसैगरी ट्रम्प अध्यक्षतामा बनाइएको शान्ति समितिमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो, पूर्व बेलायती प्रधानमन्त्री टोनी ब्लेयर, मध्यपूर्वका लागि अमेरिकी दूत स्टिफ विटकोफ, ट्रम्पका ज्वाँई जरेद कुस्नर, खर्बपति मार्क रोवान, विश्व बैंकका प्रमुख अजय बान्गा, अमेरिकी सुरक्षा सल्लाहकार रोबर्ट ग्राबियल र निकोलाई मल्देनोभ सदस्य छन् ।
गाजाको सुरक्षाका लागि गठन गरिएको इन्टरनेशनल स्टेबलाइजेशन फोर्स (आईएसफ) को नेतृत्व मेजर जनरल जस्पर जफर्सले गर्ने पनि ह्वाइटहाउसले जनाएको छ । त्यसैगरी, मल्देनोभले शान्ति समिति र अन्तरिम सरकारबीच समन्वयको काम गर्नेछन् ।
ह्वाइटहाउसले यस समितिमा आगामी दिनमा सदस्यहरु थपिदैं जानसक्ने बताएको छ ।
हमास र इज्रायलका नेताहरुले समिति गठन गर्ने ट्रम्पको निर्णयको स्वागत गरेका छन् । ‘यो समितिको गठन सही दिशातर्फको एउटा कदम हो,’ हमासका वरिष्ठ नेता बसिम नैमले भने,‘ युद्धविरामलाई कायम गर्न, युद्धमा फर्कनबाट रोक्न, विध्वंशकारी मानवीय संकटलाई सम्बोधन गर्न र बृहत्तर पुननिर्माणको तयारी गर्नका लागि यो महत्वपूर्ण छ ।’ उनले शान्तिका लागि सबै मध्यस्थकर्ता र अन्तर्राष्ट्रिय समुदायसँग मिलेर अघि बढ्न जरुरी रहेको बताए ।
कार्यान्वय हुन बाँकी छन्, पहिलो चरणकै प्रतिबद्धता ?
पहिलो चरणमा तत्कालै युद्ध अन्त्य गर्ने । इजरायल र प्यालेस्टाइनले बन्धक बनाएकाहरुलाई रिहा गर्ने , प्यालेस्टाइनमा मानवीय सहयोगको प्रवेश नरोक्ने, गाजा र इजिप्टबीचको सीमा राफा नाका खोल्ने सहमति भएको थियो । तर, केही प्रगति भएपनि सबै प्रतिबद्धताहरु पूरा भएका छैनन् ।
युद्धविराम : १० अक्टुबरमा युद्धविराम भएपनि इजरायलले आक्रमण रोकेको छैन । हवाई, आर्टिलरी र सीधा गोली प्रहारका घटनाहरु भएको गाजाको सञ्चार कार्यालयले जनाएको छ । यस अवधिमा प्यालेस्टाइनमा ४ सय ५१ जनाको मृत्यु र १ हजार २ सय ५१ जना घाइते छन् । त्यसमध्ये १ सयजना बालबालिका रहेको युनिसेफले जनाएको छ ।
बन्दी रिहाई : दुबै पक्षले युद्धमा बन्दी बनाइएकाहरुलाई रिहा गर्ने सहमति गरेका थिए । हमासले २० जना बन्दी रिहा गरिसकेको छ । बदलामा इजरायलले पनि २ हजार प्यालेस्टाइनीहरुलाई रिहा ग¥यो । हमासको कब्जामा रहेर मृत्यु भएका २८ जनामध्ये २७ जनाको शव फिर्ता गरिसकेको छ । एकजना मृतकको शव फिर्ता भएको छैन । दुबै पक्षले एक–अर्काविरुद्ध सबै बन्दी रिहा नगरेको आरोप लगाइरहेका छन् ।
इजरायली सेना फिर्ती : इजरायलको सेना गाजापट्टीको ५८ प्रतिशत भूभागभन्दा भित्र घुस्न नपाउने शर्त युद्धविराममा थियो । यसलाई ‘एल्लो लाईन ’ नाम दिइएको छ । यस क्षेत्रलाई चिन्हित गर्न जमिनमा पहेंलो कन्क्रिटका ब्लकहरु राखिएको छ ।
यसपछि रेड लाईन (३० प्रतिशत भूभागभन्दा भित्र घुस्न नपाउने शर्त) र तेस्रो चरणमा इजरायली सेना फिर्ता हुने उल्लेख छ । दोस्रो चरण कार्यान्वयन हुँदासम्म हमासले पनि निशस्त्रीकरणको प्रक्रिया सुरु गर्नुपर्ने सहमतिमा उल्लेख थियो ।
तर इजरायली सेना उल्टै एल्लो लाईनबाट अघि बढेको स्याटेलाईट तस्बिरहरुले देखाएका छन् । जसकारण, प्यालेस्टाइनीहरु साना क्लस्टरमा पेलिएका छन् । हमासले पनि यहीकारण देखाएर हतियार त्याग्न आलटाल गर्दै आएको छ ।ट्रम्पले हमासलाई प्रतिबद्धताअनुसार हतियार त्याग्न चेतावनी दिदैं आएका छन् ।
पूर्ण मानवीय सहयोग : गाजा सरकारको सञ्चार मार्यलयका अनुसार १० अक्टुबरदेखि ९ जनवरीसम्मको अवधिमा राहतको सामाग्री बोकेका ५४ हजार ट्रकमध्ये २३ हजार ०१९ वटा ट्रकमात्रै यहाँ छिर्न पाएका छन् ।
अर्थात् दैनिक २ सय ५५ वटा ट्रक छिरेका छन् । इजरायलले पोषणयुक्त आहार (मासु, डेरीजन्य उत्पादन, तरकारी) आदिमा रोक लगाएको कतारी सञ्चारमाध्यम अलजजिराले जनाएको छ । डक्टर्स विथआउट बोर्डर्स, अक्सफाम, नर्वेजियन रिफ्युजी काउन्सिल, केयर इन्टरनेशनल, इन्टरनेशनल रेस्क्यु समितिलगायत विभिन्न सामाजिक संस्थाहरुलाई यहाँ छिर्न रोक छ ।
राफा नाका : राफा नाका खोल्ने विषय सम्झौता उल्लेख थियो । तर, यो नाका अझै खुल्न सकेको छैन । इजिप्ट र गाजाको सीमा क्षेत्रमा रहेको यस नाका सहयोग, भ्रमण र औषधि–उपचारको पहुँचका लागि महत्वपूर्ण छ ।
हमासको कब्जामा रहेका अन्तिम बन्दीको शव हात परेपछि मात्रै यो नाका खोल्ने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बताएका छन् । तर, हमासले उक्त व्यक्तिको शव इजरायलले गरेको आक्रमणमा परेर भग्नावशेषमा पुरिएको दाबी गर्दै आएको छ ।
दोस्रो चरणमा के हुनसक्छ ?
गाजामा अत्याधुनिक सुविधासम्पन्न शहर बनाउने ट्रम्पको लक्ष्य छ । उनले अहिले गठन भएजस्तो शान्ति समिति विश्वका कुनै पनि कुनामा कतै गठन नभएको दाबी गरेका छन् । यस समितिमा टोनी ब्लेयर, खर्बपति मार्क रोवान र विश्व बैंकका प्रमुख अजय बान्गाजस्ता प्रभावशाली व्यक्तित्व छन् ।
दैनिक कार्य सञ्चालनका लागि बनाइएको डा.अलि साथ नेतृत्वको प्राविधिक सरकारमा अन्य पेशागत बुद्धिजीविहरुलाई पनि संलग्न गरिने अमेरिकी अधिकारीहरुले जनाएका छन् ।
गाजालाई शान्ति क्षेत्रका रुपमा विकास गर्नु गत अक्टुबरमा भएको २० बुँदे सम्झौताको लक्ष्य हो । यी सबै प्रक्रिया त्यतिबेला सार्थक हुनेछ, जब इजरायलको सेना फिर्ती र हमासले हतियार त्याग्ने कामले पूर्णता पाउनेछ ।
