शक्ति दुरुपयोगको अभियोगमा दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई ५ वर्ष जेल सजाय

सैनिक शासन लगाउने असफल प्रयासका क्रममा पदको दुरुपयोग गरेको, कागजात किर्ते गरेको र न्यायमा अवरोध पुर्‍याएको अदालतको ठहर छ ।

माघ २, २०८२

कान्तिपुर संवाददाता

Former South Korean President Yoon sentenced to 5 years in prison for abuse of power

What you should know

काठमाडौँ — दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योललाई शक्ति दुरुपयोग र न्याय सम्पादनमा अवरोध पुर्‍याएको अभियोगमा ५ वर्षको जेल सजाय सुनाइएको छ ।

सन् २०२४ मा सैनिक शासन (मार्सल ल) लगाउने असफल प्रयासका क्रममा पदको दुरुपयोग गरेको, कागजात किर्ते गरेको र न्यायमा अवरोध पुर्‍याएको ठहर गर्दै अदालतले शुक्रबार उक्त फैसला सुनाएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार महाभियोगमार्फत पदमुक्त भएका युनमाथि लागेका विभिन्न चार मुद्दामध्ये यो पहिलो फैसला हो । सन् २०२४ को डिसेम्बरमा उनले चालेको 'मार्सल ल' को कदमले दक्षिण कोरियालाई ठूलो राजनीतिक संकटमा धकेलेको थियो । उनको सो घोषणा लगत्तै सांसदहरूले संसद् भवन पुगेर उक्त निर्णय उल्ट्याएका थिए भने देशभर उनीविरुद्ध प्रदर्शन चर्किएको थियो ।

फैसला सुनाउँदै न्यायाधीशले युनको कदमले मुलुकलाई राजनीतिक अस्थिरतामा धकेलेको र उनले आफ्नो गल्तीप्रति कुनै पश्चात्ताप नगरेको उल्लेख गरे । युनलाई राष्ट्रपति कार्यालयका अंगरक्षक प्रयोग गरी आफ्नो पक्राउ रोक्न खोजेको, मन्त्रिपरिषद्को पूर्ण परामर्शबिना मार्सल ल घोषणा गरेको र प्रधानमन्त्री तथा रक्षामन्त्रीको समर्थन रहेको भनी किर्ते कागजात तयार पारेकामा दोषी ठहर गरिएको छ ।

'युनको कर्तव्य संविधान र कानुनको रक्षा गर्नु थियो, तर उनले त्यसको विपरित काम गरे,' न्यायाधीशले भने । अभियोजनकर्ताहरूले भने उनलाई १० वर्षको जेल सजाय माग गरेका थिए । यो फैसलामा चित्त नबुझे दुवै पक्षलाई पुनरावेदनका लागि ७ दिनको समय दिइएको छ ।

पूर्वराष्ट्रपति युनले भने आफूमाथिका सबै आरोप अस्वीकार गर्दै आएका छन् । उनले मार्सल ल घोषणा गर्दा कुनै पनि कानुनी प्रक्रिया उल्लंघन नगरेको र आफूमाथि भएको अनुसन्धान नै अवैध रहेको दाबी गर्दै आएका छन् ।

यसअघि पूर्वराष्ट्रपति पार्क गेउन-हाइलाई पनि भ्रष्टाचार र शक्ति दुरुपयोगमा २० वर्षको जेल सजाय सुनाइएको थियो, पछि उनलाई माफी दिइएको थियो । युनको मार्सल ल प्रयासको ६ महिनापछि भएको निर्वाचनमा विपक्षी नेता ली जे-म्युङ भारी मतले विजयी भइसकेका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully