इरानी जनतालाई ट्रम्पको सन्देश–आन्दोलन जारी राख्नुहोस्, सहयोग बाटैमा छ

मंगलबारै ट्रम्पले अमेरिकी रक्षा मन्त्रालयका अधिकारीहरुसँग ईरानमा संभावित हस्तक्षेपको विकल्पबारे ब्रिफिङ लिएका थिए ।

पुस ३०, २०८२

एजेन्सी

Trump's message to the Iranian people - Keep up the movement, help is on the way

What you should know

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानसँग वार्ताको सम्भावना सकिएको बताएका छन् । उनले सहयोगको वाचासहित विरोध प्रदर्शन जारी राख्न आन्दोलनकारीसाग आग्रह गरेका छन् ।

 ‘ईरानी राष्ट्रवादीहरु आन्दोलन जारी राख्नुस् । आफ्ना संस्थान कब्जा गर्नुस् !!! हत्याराको नाम सुरक्षित राख्नुस्,’ ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उनीहरुले ठूलो मूल्य चुकाउनुपर्नेछ । मैले यो अर्थहिन हत्या अन्त्य नभएसम्मका लागि ईरानी अधिकारीहरुसँगका सम्पूर्ण भेटघाट स्थगित गरेको छु । सहयोग बाटोमै छ । एमआईजीए !!!’

एमआईजीएको अर्थ ‘मेक ईरान ग्रेट अगेन’ हो । उनले ‘मेक अमेरिका ग्रेट अगेन’ नारा दिएर चुनाव जितेका थिए । मंगलबारै ट्रम्पले अमेरिकी रक्षा मन्त्रालयका अधिकारीहरुसँग ईरानमा संभावित हस्तक्षेपको विकल्पबारे ब्रिफिङ लिएका थिए । त्यसक्रममा सेनाका अधिकारीहरुले लामो दूरीको मिसाइल प्रहार गर्न सकिने बताएका थिए  । पेन्टागनका अधिकारीहरुले साइबर अपरेशन र मनोवैज्ञानिक अभियानलाई प्रतिक्रियास्वरुप अघि लैजान सकिने जानकारी राष्ट्रपति ट्रम्पलाई गराएका छन् ।

ट्रम्पले ईरानका व्यापार साझेदारहरुमाथि २५ प्रतिशत भन्सार शुल्क बढाउने निर्णय पनि लिइसकेका छन् । ईरानको सबैभन्दा ठूलो व्यापार साझेदार चीनले व्यापार युद्धबाट कसैलाई पनि फाइदा नहुने बताइसकेको छ । उसले आफ्नो व्यापारिक हित रक्षा गर्ने पनि बताएको छ । चीनपछि इराक, युएई, टर्की, भारत र पाकिस्तान ईरानका ठूला व्यापार साझेदार हुन् । ईरानमा थप व्यापार प्रतिबन्ध लगाउने विषयमा युरोपेली युनियनमा पनि छलफल चलिरहेको युरोपेली कमिशनका अध्यक्ष उर्सुला भोन देर लियेनले बताएकी छिन् । 

‘ईरानमा बढ्दो मृतकको संख्या भयावह छ । स्वतन्त्रतामाथिको कडाई र अत्याधिक बल प्रयोगको निन्दा गर्दछु,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेकी छिन्,‘यस दमनमा जिम्मेवारहरुमाथि थप नाकाबन्दी लगाउने विषय प्रस्ताव हुनेछ । हामी ईरानका जनतासँग छौं र उनीहरुको स्वतन्त्रताका लागि बहादूरीपूर्वक लामबद्ध छौं ।’ 

यसअघि ईरानमा सैन्य हस्तक्षेपको योजना बनेको खबरले इजरायलमा त्रास फैलिएको थियो । ईरानको सत्ताले आफूमाथि हमला भएमा अमेरिका र उसको सहयोगी ईजरायलमाथि जवाफी कारबाही गरिने चेतावनी बारम्बार दिइरहेको छ । 

ईजरायली सेनाले सोमबार सम्भावित ‘आश्चर्यजनक परिदृश्य’ का लागि तयार रहेको जनाएको थियो । 

इजरायली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल इफि डेफरिनले ईरानमा जारी संकटलाई लिएर देशमा फैलिएका हल्लाको पछि नलाग्न आग्रह गरेका थिए । ‘इरानमा भइरहेको आन्दोलन उनीहरुको आन्तरिक विषय हो,’ उनले सामाजिक सञ्जालमा लेखेका थिए । उनले देशवासीको सुरक्षाका लागि सेना तयार रहेको बताएका थिए । गत जुनमा १२ दिनसम्म ईजरायल र ईरानबीच युद्ध चलेको थियो । 

आन्दोलनमा दमन र रक्तपात 

ईरानमा मुद्रास्फीतिका कारण दैनिक उपभोग्यको मूल्यवृद्धि हुँदा २८ डिसेम्बरदेखि विरोध प्रदर्शनहरू सुरु भएको छ । यस प्रदर्शनले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको सत्ता वैधानिकताको संकटमा छ ।

इन्टरनेट तथा टेलिफोन लाइन कटौती भएकाले आन्दोलनमा मारिनेहरूको यकिन संख्या पत्ता लगाउन बाँकी विश्वलाई कठिन भइरहेको छ । यहाँ सिमित व्यक्तिमात्रै इन्टरनेटको पहुँचमा छन् ।

तेहरानमा केही अस्पताल, अनौपचारिक स्रोत र विदेशमा रहेका पेशागत बुद्धिजीवि र मानवअधिकारवादीहरूसँगको कुराकानीका आधारमा गत शनिबार नै मृतकको संख्या कम्तिमा ६ हजार पुगेको हुनसक्ने अमेरिकी सञ्चारमाध्यम टाइम डटकमको अनुमान छ । 

आन्दोलनको समर्थन र इरानी सत्ताको दमनको विरोधमा विश्वभर प्रदर्शन भइरहेका छन् । ईरानका एक अधिकारीले मंगलबार रोयटर्ससँगको कुराकानीमा झन्डै दुई हजार व्यक्ति आन्दोलनमा मारिएको दाबी गरेका छन् ।

ईरानको सत्ताले प्रदर्शनकारीलाई तर्साउनका लागि अनेक षड्यन्त्र गरिरहेको छ । क्यास्पियन समुद्रको तटमा रस्त शहरमा सबै कुराहरु जलाईएको एक स्थानीयलाई उद्रृत गर्दै बेलायती सञ्चारमाध्यम बीबीसीले जनाएको छ । मानवअधिकारका लागि हेन्ग अर्गनाइजेशनका अनुसार गत बिहीबार हिरासतमा राखिएका २६ वर्षीय ईर्फान सोल्टिनीलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।

केही दिनदेखि गायब रहेका ईर्फानलाई बुधबार मृत्युदण्ड दिइने जानकारी उनको परिवारलाई प्राप्त भएको छ । तर, उनको बयान कहाँ लिइएको थियो र उनीविरुद्ध कस्तो अभियोग लगाइएको छ भन्ने विषयमा कुनै जानकारी दिइएन । उनी जारी आन्दोलनमा मृत्युदण्डको सजाय पाउने पहिलो व्यक्ति हुन् , 

‘यस्तो द्रुत गतिमा कुनै पनि केस अघि बढेको हामीले देखेका थिएनौं,’ हेन्ग अर्गनाइजेशनकी अयर सेखीले बीबीसीसँग भनेका छन्, ‘सरकारले मानिसहरुलाई दमन गर्न र तर्साउनका लागि अनेक उपाय लगाइरहेको छ ।’

युद्धस्थलजस्तो बने अस्पताल 

ईरानका प्रोफेसर शाहरम कोर्दास्ती दुई दशकयता लण्डनमा अन्कोलोजिस्टका रुपमा काम गर्छन् । उनी ईरानका चिकित्सकहरुको सञ्जालमा नियमित सम्पर्कमा छन् । ‘अघिल्ला प्रदर्शनहरुमा सूचना लिनका लागि केही सहज थियो । अहिले स्टारलिंकसहित सञ्चारका सबै माध्यम ब्लक छन् ,’ उनले भने । उनले केही दिनअघि मात्रै तेहरानस्थित एक चिकित्सकबाट सन्देश पाएका थिए । ‘अधिकांश अस्पताल युद्धस्थलजस्तो भएका छन् । त्यहाँ औषधिको अभाव छ । रगतको अभाव छ,’ सन्देश सुनाउँदै उनले भने । तर यस विषयलाई पुष्टि गर्न कठिन भएको उनले बताए । 

तेहरानको एक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले बीबीसीसँग भनेका छन्, ‘युवाहरुको टाउको र मुटुमा निशाना लगाइएको छ ।’ संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले ईरानमा आन्दोलनकारीमाथि भइरहेको हिंसाको खबरले आफु स्तब्ध रहेको बताएका छन् । ‘सबै ईरानीहरुले आफ्नो गुनासो शान्तिपूर्ण रुपमा निर्वाध ढंगले व्यक्त गर्न पाउनुपर्छ,’ उनले भनेका छन् । मानवअधिकारका लागि राष्ट्रसंघीय आयोगका प्रमुख भोल्कर तुर्कले सयौं व्यक्तिको मृत्यु भएको खबर सुन्दा स्तब्ध भएको बताएका छन् ।

एजेन्सी

Link copied successfully