इरानमा हस्तक्षेपबारे ट्रम्पलाई रक्षा मन्त्रालयको ‘ब्रिफिङ’, संवाद र युद्ध दुवैका लागि तयार छौं : इरान
What you should know
न्युयोर्क — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताको सम्भावना सकिएको बताएका छन् । उनले सहयोगको वाचासहित विरोध प्रदर्शन जारी राख्न इरानका आन्दोलनकारीलाई आग्रह पनि गरेका छन् ।
‘इरानी राष्ट्रवादीहरू आन्दोलन जारी राख्नुस् । हत्याराको नाम सुरक्षित राख्नुस्,’ ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसियल’मा लेखेका छन्, ‘उनीहरूले ठूलो मूल्य चुकाउनुपर्नेछ । सहयोग बाटोमै छ, एमआईजीए ।’ एमआईजीएको अर्थ ‘मेक इरान ग्रेट अगेन’ हो ।
यसअघि इरानमा सम्भावित हस्तक्षेपबारे अमेरिकी रक्षा मन्त्रालयका अधिकारीले ट्रम्पलाई ब्रिफिङ गरेका छन् । त्यसमा प्रयोग हुने सैन्य उपकरणबारे पनि उनीहरूले जानकारी दिएका छन् । सीबीएस न्युजले रक्षा मन्त्रालयका दुई अधिकारीमार्फत यसको पुष्टि गरेको हो ।
इरानमा हमला गर्न लामो दूरीको मिसाइल प्रहारलाई विकल्पका रूपमा लिइएको छ । साइबर अपरेसन र मनोवैज्ञानिक अभियानलाई प्रतिक्रियास्वरूप अघि लैजान सकिने पनि पेन्टागनका अधिकारीहरूले राष्ट्रपति ट्रम्पलाई जानकारी गराएका छन् । यसअघि इरानमा थप प्रदर्शनकारी मारिएमा अमेरिकाले सैन्य हस्तक्षेप गर्ने दाबी ट्रम्पले गरेका थिए ।
अर्कोतर्फ, इरानका विदेशमन्त्री अब्बास अराग्चीले अमेरिकी हस्तक्षेपविरुद्ध उभिने बताएका छन् । अलजजिरा अरेबिकसँगको कुराकानीमा सोमबार अराग्चीले अमेरिकासँग संवादको ढोका पनि खुलै रहेको जनाए । ‘हामी सबै विकल्पमा खुला छौं,’ उनले भने । उनले गत वर्ष इजरायलसँगको १२ दिने युद्धको दाँजोमा इरान अहिले निकै सुदृढ रहेको दाबी पनि गरे ।
इरानमा अमेरिकी सैन्य हस्तक्षेपको योजना बनेको खबरले इजरायलका सर्वसाधारण पनि त्रसित भएका छन् । इरानले जवाफी हमला इजरायलतर्फ पनि गर्न सक्ने त्रास उनीहरूलाई छ । इरानका अधिकारीले आफूमाथि हमला भए अमेरिका र इजरायलमाथि जवाफी कारबाही गरिने चेतावनी बारम्बार दिँदै आएको छ । इजरायली सेनाले सोमबार सम्भावित जटिल अवस्थाका लागि तयार रहेको जनाएको छ ।
इजरायली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल इफी डेफ्रिनले इरानमा जारी संकटलाई लिएर देशमा फैलिएका हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । गत जुनमा १२ दिनसम्म इजरायल र इरानबीच युद्ध चलेको थियो । इरानमा सरकारविरुद्ध जारी आन्दोलनमा शनिबारसम्म कम्तीमा ६ हजारको मृत्यु भएको आकलन अमेरिकी सञ्चारमाध्यम टाइमले गरेको छ ।
तेहरानमा केही अस्पताल, अनौपचारिक स्रोत र विदेशमा रहेका पेसागत बुद्धिजीवी तथा मानवअधिकारवादीसँगको कुराकानीका आधारमा मृतकको संख्या अनुमान गरिएको टाइमले उल्लेख गरेको हो । मूल्यवृद्धिका कारण २८ डिसेम्बरदेखि इरानमा विरोध प्रदर्शन भइरहेको छ ।
जारी प्रदर्शनका कारण इरानका सर्वोच्च नेता आयातोल्लाह अली खोमेनीको सत्ता वैधानिकताको संकटमा छ । इन्टरनेट तथा टेलिफोन लाइन कटौती भएकाले आन्दोलनमा मारिनेको यकिन संख्या सार्वजनिक हुन सकेको छैन । इरानमा हाल सीमित व्यक्तिमात्रै इन्टरनेटको पहुँचमा छन् ।
यस्तै, अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँग व्यापार गर्ने देशका उत्पादनमा २५ प्रतिशत भन्सार शुल्क लगाउने निर्णय गरेका छन् । सरकारविरोधी प्रदर्शन तेस्रो सातामा प्रवेश गर्दै गर्दा तेहरानमाथि दबाब सिर्जना गर्न अमेरिकाले यस्तो कदम चालेको हो । ‘इरानसँग व्यापार गर्ने कुनै पनि देशले अमेरिकासँग गरिने सबै व्यापारमा २५ प्रतिशत शुल्क तिर्नेछ,’ ट्रम्पले सोमबार ट्रुथ सोसलमा लेखेका छन्, ‘यो आदेश अन्तिम र निर्णायक छ ।’
चीन इरानको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । त्यसपछि इराक, यूएई, टर्की, भारत र पाकिस्तान पनि इरानका प्रमुख व्यापारिक साझेदार हुन् । ह्वाइटहाउसले भन्सारको बारेमा थप जानकारी सार्वजनिक गरेको छैन । अमेरिकी निर्णयले इरानसँग व्यापार गर्दै आएका देशहरू समस्यामा परेका छन् ।
