ईरानमा तत्काल सैन्य हस्तक्षेप नगर्न अरब राष्ट्र र इजरायलको सुझाव 

अरब राष्ट्रका अधिकारीहरु ईरानमा अमेरिकाले सैन्य हस्तक्षेप गर्दाको क्षेत्रीय असर ठूलो पर्ने भन्दै चिन्तित छन् । यस आक्रमणले हर्मुजको घाँटी हुँदै गरिने तेलको ढुवानीमा ठूलो असर गर्नसक्छ । विश्वको झन्डै २० प्रतिशत तेल हर्मुज हुँदै आउँछ ।

पुस ३०, २०८२

कान्तिपुर संवाददाता

Arab nations and Israel advise against immediate military intervention in Iran

What you should know

काठमाडौँ — अरब राष्ट्र र ईजरायलले  ईरानमाथिको सम्भावित सैन्य हस्तक्षेप रोक्नका लागि पहल थालेका छन् । उनीहरूले  राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेटेर तत्काल सैन्य हस्तक्षेप नगर्न आग्रह गरेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

‘ईरानको सत्ता थप कमजोर नभएसम्म ठूलो परिमाणको सैन्य हस्तक्षेप नगर्न ईजरायली अधिकारीहरुले ट्रम्प प्रशासनलाई सुझाव दिएका छन् । त्यस्तै अर्का एक अरब अधिकारीले अमेरिकाले ईरानमा सैन्य हस्तक्षेप नगरोस् भन्ने पक्षमा छिमेकी राष्ट्रहरु रहेको बताएका छन्,’ अमेरिकी सञ्चारमाध्यम एनबीसी न्युजमा उल्लेख छ । 

वाल स्ट्रिट जर्नलले विभिन्न स्रोतको हवाला दिदैं साउदी अरेबिया, ओमान र कतारले ईरानमा हस्तक्षेप नगर्न आग्रह गर्दै ट्रम्प प्रशासनसँग गोप्य लबिङ गरिरहेको जनाएको छ । ईरानमा ठूलो आन्दोलन चलिरहेको भएपनि यी देशहरुले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । 

ट्रम्पले मंगलबार रक्षा मन्त्रालयका अधिकारीहरुसँग सम्भावित आक्रमण योजनाबारे ब्रिफिङ लिएका थिए । उनले ईरानमा प्रदर्शन जारी राख्न आन्दोलनकारीलाई आग्रह गरेका थिए । ‘आन्दोलन जारी राख्नुस् । सहयोग बाटोमै छ,’ उनले भनेका थिए । त्यस्तै ईरानको सत्ताले मान्छे मार्ने काम बन्द नगरेसम्म कुनै वार्ता नहुने जनाएका थिए । 

अरब राष्ट्रका अधिकारीहरु ईरानमा अमेरिकाले सैन्य हस्तक्षेप गर्दाको क्षेत्रीय असर ठूलो पर्ने भन्दै चिन्तित छन् । यस आक्रमणले हर्मुजको घाँटी हुँदै गरिने तेलको ढुवानीमा ठूलो असर गर्नसक्छ ।  विश्वको झन्डै २० प्रतिशत तेल हर्मुज हुँदै आउँछ ।

त्यस्तै, अमेरिकी सेनाले कुनै आक्रमण गरेमा ईरानले सम्भावित प्रत्याक्रमण गर्नसक्ने डर पनि ती देशहरुलाई छ । मध्यपूर्व क्षेत्रमा अमेरिकाका १९ वटा सैन्य अखडा छन् । त्यहाँ ४० देखि ५० हजार सेना बस्छन् । ईरानले आफुमाथि हुने आक्रमण भएमा अमेरिका र ईजरायली सेनाको अखडामा प्रत्याक्रमण गर्ने जनाएको छ । 

अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार साउदीका अधिकारीहरुले कुनै पनि द्वन्द्वमा आफ्नो देश नफस्ने आश्वासन तेहरानका अधिकारीहरूलाई दिएका छन् । उनीहरुले आफुलाई तेहरानसँगको सीमा द्वन्द्वबाट टाढा राख्न खोजेका छन् । त्यसका लागि अमेरिकालाई आफ्नो भूमी प्रयोग गरेर आक्रमण गर्न नदिने उनीहरूको रणनीति छ । 

मध्यपूर्वमा सुरक्षा अवस्था बिग्रदाँ यहाँको अर्थतन्त्रमा असर पुग्ने र सामाजिक विकास अवरुद्ध हुने जोखिम छ । साउदी अरेबियाले भिजन २०३० योजनाअन्तर्गत आफ्नो अर्थतन्त्रलाई विविधिकरण गर्न खोजेको छ । र, उसले क्षेत्रीय शान्तिलाई महत्वपूण सोच्छ ।

खामेनाईको सत्ता ढलेपछि निम्तनसक्ने अनिश्चित परिस्थितीले खाडी राष्ट्रका नेताहरु चिन्तित छन् । ‘उनीहरुलाई ईरानी सत्ताको कुनै माया छैन ,’ साउदीका लागि पूर्व अमेरिकी राजदूत माइकल रत्नेले भने,‘ तर अस्थिरताप्रति उनीहरुलाई गहिरो अनिच्छा छ ।’

आन्दोलन तेस्रो सातामा

ईरानमा सत्ताविरोधी आन्दोलन तेस्रो सातामा पुगेको छ । देशका हरेक कुना आन्दोलनमा छन् । सरकारले चरम दमन गर्दा घाइते र मृतकको संख्या बढ्दो छ । 

२८ डिसेम्बरमा सुरु भएको आन्दोलनले ईरानलाई संकटको डिलमा पुर्‍याएको छ । यहाँ झन्डै १२ हजार मानिसहरु मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको अनुमान छ । यद्यपी, इन्टरनेट र टेलिफोन कटौती भएकाले मृतकको यकिन संख्या बाहिरिएको छैन । 

१९७९ को ईस्लामिक क्रान्तिले शाही सत्ता ढालेपछि अमेरिकामा निर्वासित जीवन बिताइरहेका पूर्व युवराज रेजा पहल्वीले ईरानको धार्मिक सत्ता नभएर देशको सेवा गर्न सुरक्षाकर्मीहरुलाई अपिल गरेका छन् ।

‘तपाईहरुसँग धेरै समय छैन,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘ प्रदर्शनकारीका पक्षमा खडा हुनुस् ।’ उनले प्रदर्शन जारी राख्न आग्रह गरेका छन् । मेरा देशवासीहरु , विश्वले तपाईहरुको साहसलाई सुनेको र देखेको छ,’ उनले लेखेका छन् ।

प्रदर्शनकारीको बयान चाडैं गरिने

ईरानको न्यायालयका प्रमुखले बुधबार प्रदर्शनकारीको बयान प्राथमिकताका साथ लिइने बताएका छन् ।

हिरासतमा रहेकाहरुलाई सरकारले मृत्युदण्ड दिनसक्ने चिन्ता मानवअधिकारवादीहरुले व्यक्त गरिरहेका बेला प्रधान न्यायाधिस घोलाहुसैन मोसेनी इजेईले यस्तो टिप्पणी गरेका हुन् ।

 ईरानमा झन्डै १८ हजार मानिस हिरासतमा रहेको अनुमान विभिन्न स्रोतलाई उद्रृत गर्दै बेलायती सञ्चारमाध्यम डेली मेलले लगाएको छ ।

त्यस्तै अमेरिकी सञ्चारमाध्यम सीबीएस न्युजले मंगलबार ईरानभित्रैका दुई स्रोतसँग कुराकानी गरेर १२ हजारदेखि २० हजारको मृत्यु भइसकेको हुनसक्ने जनाएको छ । 

आन्दोलनकारीलाई मृत्युदण्डको सजाय दिएमा ईरानमाथि निकै कठोर कदम चाल्ने ट्रम्पले सोमबार बताएका थिए । उनले आन्दोलन जारी राख्न र ईरानका संस्थानहरु कब्जामा लिन पनि आन्दोलनकारीलाई आग्रह गरेका थिए । 

२६ वर्षीय एक युवामाथि ईरान सरकारले मृत्युदण्ड फैसला सुनाएपछि ट्रम्पले यस्तो चेतावनी दिएका थिए । विगत केही दिनदेखि हिरासतमा रहेका ईर्फान सोल्टिनीलाई बुधबार मृत्युदण्ड दिने ईरान सरकारको तयारी थियो । उनको परिवारलाई यस विषयमा सुचना पनि दिइएको थियो । उनको अवस्था त्यसपछि अज्ञात छ । 

स्टारलिंकको  इन्टरनेट निशुल्क

एलन मस्कको स्पेस एक्सले ईरानमा निशुल्क स्टारलिंक स्याटेलाईट सेवा दिन सुरु गरेको छ  । ईरानमा स्टारलिंक अवैध छ । यसका बाबजुद यहाँ झन्डै ५०  हजारदेखि १ लाख मानिसले स्टारलिंकको सेवा लिइरहेका छन् ।

तर आन्दोलन र सरकारी निगरानीका कारण शुल्क बुझाउन असमर्थ छन् । गत सातादेखि सरकारले इन्टरनेट र टेलिफोनमा प्रतिबन्ध लगाएकाले बाहिरी विश्वसँग ईरानको सम्पर्क टुटेको छ । 

यहाँ केही मानिसहरुले स्टारलिंकको ब्रोडब्यान्ड इन्टरनेट (स्याटेलाईटबाट रिसिभरमार्फत सिधै) सेवा प्नयोग गर्छन् । तर पछिल्लो समय सरकारले स्टारलिंकको टर्मिनलमा अवरोध गर्ने तथा रिसिभरहरु छापा हान्ने काम गरिरहेको छ ।

आइतबारमात्रै ट्रम्पले इरानी जनतालाई संकटमा सहयोग गर्ने लक्ष्यसहित इन्टरनेट सेवा सुचारु गर्नका लािग एलोन मस्कसँग कुरा गर्ने बताएका थिए । ‘हामी एलोनसँग कुरा गर्नसक्छौं । किनकी उनी यस्ता कुरामा निकै राम्रो छन् । उनीसँग राम्रो कम्पनी छ,’ ट्रम्पले एयर फोर्स वान जहाजमा पत्रकारसँग कुराकानी गर्दै भनेका थिए ।

भूराजनीतिक द्वन्द्वमा फसेकाहरुलाई मस्कको कम्पनीले सेवा दिएको यो पहिलोपटक होइन । यसअघि रुसले युक्रेनमा आक्रमण गरेपछि मस्कले युक्रेनी सेना र सर्वसाधारण दुबैलाई इन्टरनेट सेवा प्रदान गरेका थिए । अमेरिकी सरकारले भेनेजुएलामा आक्रमण गरेपछि इन्टरनेट बन्द गरेको थियो । मस्कले यहाँ ३ फेब्रुअरीसम्मका लागि निशुल्क ब्रोडब्यान्ड सेवा प्रदान गर्ने निर्णय गरेका छन् । 

भन्सार शुल्क वृद्धिले ईरानी अर्थतन्त्र थप मारमा 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने कुनै पनि देशमाथि २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् । संकटग्रस्त ईरानी अर्थतन्त्रलाई यसले थप चोट पुर्‍याएको छ । उच्च मुद्रास्फीति, बेरोजगारी र आर्थिक संकट र विरोध प्रदर्शन सामना गरिरहेको ईरान सरकारलाई यसले थप चोट पुर्‍याएको छ ।

चीनले चीन, टर्की, ईराक, संयुक्त अरब इमिरेट्स र भारतमा तेल तथा अन्य विभिन्न सामाग्री निर्यात गर्दै आएको छ । यहाँको झन्डै ८० प्रतिशत तेल चीनले किन्छ ।

संयुक्त राष्ट्र संघ कमट्रेडका अनुसारं सन् २०२४ मा चीन र ईरानबीच १३ अर्ब डलरभन्दा बढीको द्विपक्षीय व्यापार भएको थियो । तर वास्तविक आँकडा योभन्दा धेरै हुने अनुमान छ । किनकी, ईरानमाथि पश्चिमा शक्तिले प्रतिबन्ध लगाएकाले चीनसँग  अनधिकृत च्यानलमार्फत पनि व्यापार गर्छ, जसको हिसाब राष्ट्रसंघ र अन्य आधिकारीक निकायसँग हुँदैन ।

ट्रम्पको पहिलो कार्यकालमा अमेरिकाले विभिन्न देशहरुलाई ईरानसँग तेल खरिद नगर्न धम्की दिएको थियो । ईरानसँग तेल खरिद गर्नेहरुलाई भन्सार शुल्क बढाउने घोषणा ट्रम्पले गरेपछि भारतसहितका देशले यसमा ठूलो कटौती गरेका थिए । त्यसपछि ईरानले आफ्नो तेल व्यापारमा चीनसँग निर्भरता बढायो । गत वर्ष ईरानको ८० प्रतिशत तेल चीनले किन्यो ।

सन् २०१६ देखि नै चीन ईरानको शीर्ष व्यापार साझेदार थियो । अहिले यो साझेदारी थप बृहद भएको छ । चीनले प्लास्टिक, फलामको अयस्क, रसायन, मेथानोललगायत विभिन्न सामाग्र ईरानसँग किन्छ । अमेरिकामा चिनियाँ सामाग्रीहरुले अहिल्यै ३५ प्रतिशत भन्सार शुल्क तिर्नुपरेको छ ।

ईरानसँगको व्यापार कायम रहदाँ त्यसमा थप २५ प्रतिशत भन्सार थपिनेछ ।  दक्षिण कोरियामा गत अक्टुबरमा  भएको एसिया–प्रशान्त आर्थिक सहयोग शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङ र ट्रम्पबीच भेटघाट भएको थियो । यस भेटले अमेरिका र चीनको व्यापार युद्धमा केही समय विराम लाग्यो । तर, अहिले फेरि ईरानको विषयलाई लिएर नयाँ तनाव सुरु हुने देखिएको छ । 

वासिङ्टनस्थित चिनियाँ दूतावासले ट्रम्पको नीतिको निन्दा गर्दै बेइजिङले आफ्नो हितको रक्षा गर्न  आवश्यक उपायहरू अबलम्बन गर्ने बताएको छ । उसले अवैध एकपक्षीय प्रतिबन्धलाई अस्विकार गर्ने बताएको छ । ‘व्यापार युद्धमा कुनै पनि विजेता हुँदैन ।

चीनले आफ्नो वैध अधिकार र हितको दृढतापूर्वक रक्षा गर्नेछ,“ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले मंगलबार पत्रकारहरूलाई भने । चीनले ईरानमाथिको अमेरिकी हस्तक्षेपको निन्दा पनि गरेको छ । 

२०२४ को संयुक्त राष्ट्र संघको कमट्रेड तथ्याङ्क अनुसार, टर्किए इरानको दोस्रो ठूलो व्यापारिक साझेदार थियो। दुई देशहरू बीचको व्यापार लगभग ५.७ अर्ब डलरको थियो ।

टर्कीमाथि अहिले अमेरिकाले १५ प्रतिशत आधारभूत भन्सार शुल्क लगाएको छ । स्टील र आल्मुनियममा लाग्ने भन्सार शुल्क भने ५० प्रतिशत छ । ईरानसँगको व्यापारपछि यसमा शुल्क थप हुनेछ । ईरानका ठूला निर्यातकर्तामध्ये भारत पनि एक हो ।

सन् ०२४ मा ईरानले यहाँ १.०५ अर्ब डलरभन्दा बढीको सामाग्री निर्यात गरेको थियो । त्यस्तै पाकिस्तानमा १.०२ अर्बभन्दा बढी सामाग्री निर्यात गरेको थियो । यी देशहरुले पनि ईरानसँग व्यापार कायम राख्दा अमेरिकाको प्रतिबन्ध झेल्नेछन् । 

ईरानले बाहिरी विश्वबाट सर्वाधिक रकम तेल निर्यात  गरेर भित्र्याउँछ । यसबाहेक तरकारी र मेसिनरी  उपकरण पनि निर्यात गर्छ । विश्व बैंकको पछिल्लो तथ्याङ्क अनुसार, ईरानले २०२२ मा १४७ व्यापारिक साझेदारहरूलाई आफ्नो विभिन्न उत्पादनहरू निर्यात गर्‍यो ।

२०१५ मा अमेरिकाको अगुवाईमा ईरानमा आणविक कार्यक्रम समाप्त गर्ने र त्यसबापत ईरानलाई विश्वबजारमा सहज प्रवेश दिनेगरी पेरिसमा सम्झौता भएको थियो । यस सम्झौतासँगै ईरानको तेलले विश्वबजारमा सहज पहुँच पाएको थियो । 

तर, २०१८ मा ट्रम्पले अमेरिकी प्रतिबन्धहरू पुनः लागू गर्ने निर्णय गरे । त्यसयता, ईरानले चिनियाँ बजारमा तेल निर्यातलाई बढाउँदै लगेको छ ।   

कान्तिपुर

Link copied successfully