ईरानमा हस्तक्षेपबारे अमेरिकामा तयारी तिव्र, सेनाले गर्‍यो राष्ट्रपति ट्रम्पलाई ब्रिफिङ

इरान भन्छ : हामी संवाद र युद्ध दुबैका लागि तयार छौं ।  इजरायली सेनाले भन्यो : सम्भावित 'आश्चर्यजनक परिदृश्य' का लागि तयार छौं ।

पुस २९, २०८२

कान्तिपुर संवाददाता

US prepares for intervention in Iran, military briefs President Trump

What you should know

काठमाडौँ — ईरानमा गर्न सकिने हस्तक्षेप र त्यसमा प्रयोग हुने सैन्य उपकरणबारे अमेरिकाको रक्षा मन्त्रालयका अधिकारीहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ब्रिफिङ गरेका छन् । सीबीएस न्युजले रक्षा मन्त्रालयका दुई अधिकारीमार्फत यसको पुष्टि गरेको हो  । 

लामो दूरीको मिसाइल प्रहारलाई यस आक्रमणको एक विकल्पका रुपमा लिइएको छ । पेन्टागनका अधिकारीहरुले साइबर अपरेशन र मनोवैज्ञानिक अभियानलाई प्रतिक्रियास्वरुप अघि लैजान सकिने जानकारी राष्ट्रपति ट्रम्पलाई गराएका छन् । 

ईरानका विदेशमन्त्री अब्बास अराग्चीले अमेरिकी हस्तक्षेविरुद्ध उभिने बताएका छन् । अलजजीरा अरेबिकसँगको कुराकानीमा सोमबार अराग्चीले अमेरिकासँग संवादको ढोका पनि खुलै रहेको बताए । ‘हामी सबै विकल्पमा खुला छौं ,’ उनले भने । उनले गत वर्षको १२ दिने युद्धको दाँजोमा ईरान अहिले निकै सुदृढ रहेको दाबी पनि गरे । 

अमेरिकामा सैन्य हस्तक्षेपको योजना बनेको खबरले इजरायलमा पनि मानिसहरु त्रसित भएका छन् । ईरानले जवाफी हमला गर्नसक्ने त्रास उनीहरुलाई छ । ईरानको सत्ताले आफुमाथि हमला भएमा अमेरिका र उसको सहयोगी ईजरायलमाथि जवाफी कारबाही गरिने चेतावनी बारम्बार दिइरहेको छ । 

ईजरायली सेनाले सोमबार  सम्भावित ‘आश्चर्यजनक परिदृश्य’ का लागि तयार रहेको जनाएको छ । 

इजरायली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल इफि डेफरिनले ईरानमा जारी संकटलाई लिएर देशमा फैलिएका हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । ‘इरानमा भइरहेको आन्दोलन उनीहरुको आन्तरिक विषय हो,’ उनले सामाजिक सञ्जालमा लेखेका थिए । उनले देशवासीको सुरक्षाका लागि सेना तयार रहेको बताएका थिए । गत जुनमा १२ दिनसम्म ईजरायल र ईरानबीच युद्ध चलेको थियो । 

'आन्दोलनमा कम्तिमा ६ हजारको मृत्यु '

इरानमा मुद्रा स्फीतिका कारण दैनिक उपभोग्यको मूल्यवृद्धि हुँदा २८ डिसेम्बरदेखि विरोध प्रदर्शनहरू सुरु भएको छ । यस प्रदर्शनले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको सत्ता वैधानिकताको संकटमा छ ।  इन्टरनेट तथा टेलिफोन लाइन कटौती भएकाले आन्दोलनमा मारिनेहरूको यकिन संख्या पत्ता लगाउन बाँकी विश्वलाई कठिन भइरहेको छ । यहाँ सिमित व्यक्तिमात्रै इन्टरनेटको पहुँचमा छन् ।

तेहरानमा केही अस्पताल, अनौपचारिक स्रोत र विदेशमा रहेका पेशागत बुद्धिजीवि र मानवअधिकारवादीहरूसँगको कुराकानीका आधारमा  गत शनिबार नै मृतकको संख्या कम्तिमा ६ हजार पुगेको हुनसक्ने अमेरिकी सञ्चारमाध्यम टाइम डटकमको अनुमान छ । आन्दोलनको समर्थन र इरानी सत्ताको दमनको विरोधमा विश्वभर प्रदर्शन भइरहेका छन् । 

ईरानका व्यापार साझेदारमाथि २५ प्रतिशत भन्सार 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानसँग व्यापार गर्ने देशहरुमाथि लगाइएको भन्सार शुल्क २५ प्रतिशतले बढाउने निर्णय गरेका छन्  । सरकार विरोधी प्रदर्शन तेस्रो हप्तामा प्रवेश गर्दै गर्दा तेहरानमाथि दबाब सिर्जना गर्न अमेरिकाले यस्तो कदम चालेको हो ।

'इस्लामिक गणतन्त्र इरानसँग व्यापार गर्ने कुनै पनि देशले संयुक्त राज्य अमेरिकासँग गरिने कुनै पनि र सबै व्यापारमा २५५ को शुल्क तिर्नेछ,' ट्रम्पले सोमबार ट्रुथ सोशलमा लेखेका छन्, 'यो आदेश अन्तिम र निर्णायक छ ।'

चीन इरानको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो, त्यसपछि इराक, संयुक्त अरब इमिरेट्स, टर्की, भारत, पाकिस्तान छन् । यसअघि थप प्रदर्शनकारीहरू मारिएमा अमेरिकाले ईरानमा सैन्य हस्तक्षेप गर्ने दाबी ट्रम्पले गरेका थिए । ह्वाइट हाउसले भन्सारको बारेमा थप जानकारी सार्वजनिक गरेको छैन ।

कान्तिपुर

Link copied successfully