कम्तिमा ५ सयको मृत्यु, १० हजारभन्दा बढी हिरासतमा
What you should know
काठमाडौँ — ईरानमा आन्दोलनकारीमाथि सत्तापक्षले गरेको दमनको विरोधमा विश्वभर प्रदर्शन भएको छ । आन्दोलनमा आइतबारसम्म कम्तिमा ५ सय ३८ को मृत्यु भएको अमेरिकास्थित मानव अधिकार अभियन्ता समाचार एजेन्सी (एचआरएएनए) ले जनाएको छ ।
एचआरएनएका अनुसार कम्तिमा १० हजार ६ सय जना प्रहरी हिरासतमा छन् ।
दमनको विरोधमा पेरिस, बर्लिन, हेग, लण्डनलगायत विभिन्न युरोपेली शहरमा प्रदर्शन भएको छ । न्युजिल्यान्डको अकल्यान्ड, अमेरिकाको ओर्लान्डो र जापानको टोकियोमा ठूलो संख्यामा प्रदर्शनकारीहरुले आन्दोलनप्रति ऐक्येवद्धता जनाएका छन् ।
अकल्यान्डमा प्रदर्शनकारीहरुले ईस्लामिक गणतन्त्रको झन्डा च्यातेका छन् । उनीहरुले राजतन्त्रकाल (१९७९ पूर्व) प्रयोग हुने गरेको सिंह र सूर्य अंकित झन्डा इहातमा बोकेका थिए । टोकियोमा पनि प्रदर्शनकारीले पूर्व युवराज रेजा पहल्वीको पक्षमा नारावाजी गरेका छन् ।
लण्डनमा शनिबार एक आन्दोलनकारीले दूतावासको बार्दलीमा चढेर ईस्लामिक गणतन्त्रको झन्डा च्यातेका छन् । उनले राजतन्त्रकालमा प्रयोग हुने झन्डालाई फहराए ।
गत बिहीबारदेखि इन्टरनेट र टेलिफोन सम्पर्क टुटेकाले यहाा भएको मानवीय क्षतिको बिस्तृत विवरण पत्ता लगाउन अन्तर्राष्ट्रिय सञ्चारमाध्यम तथा मानवअधिकारवादी संस्थालाई कठिन भएको छ ।
इन्टरनेट सम्बन्धी अनुगमन गर्ने संस्था नेटब्लक्सले इरानमा ८४ घण्टाभन्दा लामो समयदेखि राष्ट्रव्यापी रुपमा इन्टरनेटमा अवरोध देखिएको जनाएको छ । आन्दोलनकारीहरुले विकल्पमा सर्टवेव रेडियो, सीमा क्षेत्रका टेलिफोन टावर र स्टारलिंक टर्मिनलहरु प्रयोग गरिरहेको नेटब्लकले जनाएको छ ।
आन्दोलनकारीको नरसंहारलाई ढाकछेप गर्नका लागि ईरानको सत्ताले सञ्चार अवरोध गरेको आरोप मानवअधिकारवादी संस्थाहरुले लगाएका छन् । ईरानका अस्पतालहरु बिरामीले भरिभराउ रहेको त्यहाा कार्यरत चिकित्सकहरुले बताएका छन् ।
सामाजिक सञ्जालमा भाइरल भएका तस्बिर तथा भिडियोले आन्दोलन हिंसात्मक बन्दै गएको देखाउाछ । आक्रोशित आन्दोलनकारीहरुले विभिन्न शहरमा तोडफोड तथा आगजनी गरेका छन् ।
इरानमा २८ डिसेम्बरमा व्यापारीहरूले मुल्यवृद्धिको विरोधमा आन्दोलन थालेका थिए । दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएको र बेरोजगारी बढेकाले आन्दोलनमा अहिले समाजका सबै तप्का सहभागी छन् ।
आर्थिक सुधारको मागसहित सुरू भएको आन्दोलनमा अहिले सत्ता परिवर्तन मुल मुद्दा बनेको छ । धार्मिक सत्ताले बनाएका विभिन्न नीति–नियम खारेज हुनुपर्ने प्रदर्शनकारीहरुको माग छ । आन्दोलनकारीले 'स्वतन्त्रता' र तानाशाहीको अन्त्य नारा दिइरहेका छन् ।
आन्दोलन नियन्त्रणमा आइसक्यो : अराग्ची
ईरानका विदेशमन्त्री अब्बास अराग्चीले आन्दोलन नियन्त्रणमा आइसकेको दाबी गरेका छन् । अमेरिका र इजरायलको इशारामा प्रदर्शन चलेको दाबी उनले गरे । उनले चाडै| नै देशमा इन्टरनेट खुल्ने बताएका छन् ।
सरकारले यसका लागि सुरक्षा संयन्त्रसँग समन्वय गरिरहेको उनले बताए । उनले सरकारी निकाय र दूतावासहरुमा पनि कनेक्टिभिटी खुल्ने बताए । केही दिनअघिमात्रै उनले ईरान संवादका लागि तयार रहेकाे बताएका थिए ।
ईरानले वार्ता गर्न खोज्दैछ : ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानी नेतृत्वले देशमा चलिरहेको प्रदर्शनलाई लिएर अमेरिकासाग वार्ता गर्न चाहेको बताएका छन् । अमेरिकाले सैन्य हस्तक्षेपको चेतावनी दिएपछि ईरानको नेतृत्वले वार्ता गर्न खोजेको उनले बताए । यसअघि ट्रम्पले आन्दोलनकारीलाई आफ्नो समर्थन रहेको बताएका थिए ।
उनले आन्दोलमा थप दमन भएमा अमेरिकाले सेना पठाउने चेतावनी पनि दिएका थिए । ' उनीहरुले वार्ता गर्ने बताएका छन् । वार्ता तय भएको छ ,' आइतबार राति एयर फोर्स वानको विमानमा पत्रकारसाग कुराकानी गर्दै ट्रम्पले भने, 'तर हामीले वार्ताअघि नै कुनै कदम चाल्नुपर्ने पनि हुनसक्छ ।'
अमेरिकाले सैन्य हस्तक्षेप र सम्भावित विकल्पबारे सोचिरहेको उनले बताए । यसअघि ईरानले अमेरिकाबाट कुनै हस्तक्षेप भएमा जवाफी आक्रमण गर्ने चेतावनी दिएको थियो ।
को हुन् रेजा पहल्वी ?
६५ वर्षीय पूर्व युवराज रेजा पहल्वीको पक्षमा अहिले ईरान र बाहिरी विश्वमा पनि नारा लागिरहेको छ । प्रदर्शनकारीहरुले उनलाई नेतृत्व लिन आग्रह गरिरहेका छन् । उनी ईरानका अन्तिम शाह महोम्मद रेजा पहल्वीका जेठा छोरा हुन् ।
१९७९ मा ईरानमा झन्डै एक वर्ष ३ महिना चलेको आन्दोलनमा दमन गरेपछि शाह मोहम्मदप्रति जनताको आक्रोश बढेको थियो । सडकमा उत्रिएका मानिसहरुलाई दमन गर्न सेनाले अस्विकार गरेपछि ११ फेब्रुअरी १९७९ मा शाही सत्ता समाप्त भएको थियो । त्यसयता, शाही परिवार भागेर इजिप्ट हुादै अमेरिका गयो ।
शाह मोहम्मद रेजाको मृत्युपछि ३१ अक्टुबरमा १९८० मा निर्वासित अधिकारीहरुले रेजा पहल्वीलाई राजा घोषणा गरेका थिए । त्यसयता, निर्वासनमै रहेर पछिल्ला ४५ वर्षदेखि रेजाले सत्ता हत्याउने प्रयत्न गरिरहेका छन् ।
पछिल्ला वर्षहरुमा उनले ईरानमा संवैधानिक राजतन्त्र पुनर्स्थापना गर्न सकिने बताउादै आएका छन् । उनले वंश विरासत नभएर निर्वाचित राजाको अवधारणा अघि सारेका छन् । ईजरायलको पक्षधरता लिएका कारण पनि उनी विवादमा छन् ।
गत वर्ष जुनमा इरान र इजरायलबीच भएको १२ दिने युद्धमा उनले इजरायलको पक्षधरता लिएका थिए । त्यस्तै, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई भेटेका पनि थिए । बदलामा, अहिले इजरायलले उनको पक्षधरता लिइरहेको छ ।
