अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार आन्दोलनकारीमाथि हुने दमनलाई हेरेर नबस्ने चेतावनी दिएका थिए । 'तिमीहरूले गोली नचलाउनु नै राम्रो हुनेछ । नत्र, हामी पनि गोली चलाउन सुरू गर्नेछौं,' उनले भने ।
What you should know
काठमाडौँ — आर्थिक संकट र मूल्यवृद्धिको विरोधमा सुरु भएको आन्दोलन चर्कदै गएपछि इरान सरकारले तीन दिनदेखि इन्टरनेट कटौती गरेको छ । इरानका सर्वोच्च नेता अयोतुल्लाह खामेनाईले अमेरिकालाई खुसी पार्न चाहनेहरू आन्दोनमा उत्रिएको भन्दै दंगाकारीलाई कडा कारबाही गरिने चेतावनी दिएका छन् ।
यसका बाबजुद राजधानी तेहरान र अन्य प्रमुख शहरहरूमा विरोध प्रदर्शन जारी छ । विगत १४ दिनदेखि जारी यस आन्दोलनका दौरान ठूलो संख्यामा मानिस घाइते भएका छन् । नर्वेस्थित ''इरान ह्युमन राइट्स् (आईएचआर) ले प्रदर्शनका क्रममा हालसम्म ४५ जनाको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा ८ जना बालबालिका रहेका छन् । त्यस्तै, २ हजारभन्दा धेरै घाइते छन् ।
बेलायती सञ्चारमाध्यम बीबीसीले तेहरानका चिकित्सकहरलाई उद्धृत गर्दै त्यहाँका अस्पताल आन्दोलनका घाइतेले भरिएको उल्लेख गरेको छ । पछिल्लो समय इरानमा दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएको र बेरोजगारी बढेपछि नागरिकहरू सडकमा उत्रिएका हुन् । प्रदर्शनकारीहरूले आर्थिक सुधारसँगै राजनीतिक स्वतन्त्रताको समेत माग गरिरहेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार आन्दोलनकारीमाथि हुने दमनलाई हेरेर नबस्ने चेतावनी दिएका थिए । 'तिमीहरूले गोली नचलाउनु नै राम्रो हुनेछ । नत्र, हामी पनि गोली चलाउन सुरू गर्नेछौं,' उनले भनेका थिए ।
इराकसँग सिमानामा रहेको कुर्दिश बहुल क्षेत्र इलामदेखि अफगान सीमा नजिकै उत्तरपूर्वमा तेहरान र मशहदसम्म आन्दोलन फैलिएको अमेरिकी सञ्चारमाध्यम सीनएनएनले जनाएको छ । सीएनएनका अनुसार १ सयभन्दा धेरै शहरमा मानिसहरु आन्दोनलमा छन् । आन्दोलनकारीमध्ये केहीले निर्वासित युवराज रेजा पहल्वीको पक्षमा नाराबाजी गरेका छन् ।
१९७९ मा ईरानमा इस्लामिक क्रान्ति भएयता पहल्वी वंशको शासनसत्ता समाप्त भएको थियो । युवराज पहल्वी त्यसयता, अमेरिकामा निर्वासित छन् । उनले पछिल्लो समय अन्तरिम सरकार सम्हाल्ने इच्छाशक्ति देखाइरहेका छन् । त्यस्तै, जनतालाई इस्लामिक सत्ताविरुद्ध आन्दोलनमा उत्रन पनि आग्रह गरिरहेका छन् ।
तेहरानका बजार र विश्वविद्यालयहरूमा पनि संगठित विरोध प्रदर्शन भइरहेको छ । सरकारले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको भएपनि आन्दोलन रोक्न सकेको छैन । बरु, उल्टै आन्दोलनकारीहरुले सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी गरेका छन् ।
यसपटकको आन्दोलन कसरी फरक छ ?
ईरानमा मुद्रास्फितीले ठूलो संकट निम्त्याएको छ । यहाँ अहिले खद्यान्न र दैनिक जीवनमा अत्यावश्यक सामाग्रीको मूल्य आकाशिएको छ । मुल्यवृद्धि अति भएपछि २८ डिसेम्बर बरमा यहाँका पुराना बजारहरुमा व्यवसायीहरुले पसल बन्द गरेर आन्दोलन थालेका थिए ।
त्यसमा समाजका सबै तप्का मिसिएपछि आन्दोलन सशक्त बनेको छ । आन्दोलनकारीहरु लाठी र अश्रुग्याँसको बेवास्ता गर्दै सरक्षा बलहरुसँग भिडिरहेका तस्बिर सामाजिक सञ्जालमा छरपस्ट छन् ।
बजारमा मानिसहरूले ‘स्वतन्त्रता’ को नारा लगाएका छन् भने राज्यका अधिकारीहरुलाई उनीहरुले ‘बेइमान’ भनेर गाली दिइरहेका छन् ।
विश्वकै उच्च मुद्रास्फीति दर भएका देशहरूमध्ये ईरान एक हो । अमेरिकी नाकाबन्दी, उच्च भ्रस्टाचार र विश्वबजारमा कमजोर उपस्थितीले यहाँको अर्थतन्त्र प्रभावित हुँदै आएको छ । सन् २०१५ मा पेरिसमा गरिएको आणविक सम्झौताले अन्तर्राष्ट्रिय बजारमा ईरानको सहज उपस्थितिको बाटो खोलेको थियो ।
यतिबेला एक डलर बराबर ईरानी रियाल ३२ हजार थियो । तर सन् २०१८ मा डोनाल्ड ट्रम्पले यसबाट अमेरिका बाहिरिएको घोषणा गर्दै कठोर प्रतिबन्धहरू पुनः लगाए । त्यसयता, ईरानको अर्थतन्त्र लगातार संकटमा छ । गत वर्ष इजरायलसँग युद्ध सुरु भएयता अवस्था झनै बिग्रिएको छ
आर्थिक संकट बढेपछि पछिल्लोपटक २८ डिसेम्बरमा तेहरानमा व्यवसायीहरुले सडक आन्दोलन सुरु गरेका थिए । किनकी, मुद्रास्फीतिले गर्दा सामान भण्डार पनि गर्न नसक्ने र बेच्न पनि नसक्ने अवस्थामा उनीहरु पुगेका थिए । मक्किएको अर्थतन्त्रलाई यसले थप संकटमा पुर्याएको थियो
अहिले देशका ३१ मध्ये २७ प्रान्तमा आन्दोलन फैलिएको छ । मंगलबार मुद्रा स्फीति इतिहासमै न्युन बिन्दु ९१ अमेरिकी डलर बराबर १४ लाख ७० हजार ईरानी रियाल० थियो । यसले आर्थिक संकट निम्त्याएर आम जनता र लगानीकर्ताबीच अविश्वास पैदा गराएको छ ।
सरकारले आर्थिक अवस्थालाई नियन्त्रणमा राख्न केही योजनाहरू ल्याएको भएपनि त्यसको परिणाम उल्टो देखिएको छ । यस हप्ता खाना पकाउने तेलको मूल्य झन्डै तीन गुणा बढेको छ ।
इरानमा १९७९ मा इस्लामिक क्रान्ति सफल भएपछि पनि सत्ताको दमनकारी चरित्रविरूद्ध पटक पटक आन्दोलन हुँदै आएको छ । पछिल्लोपटक सन् २०२२ मा अनुचित तवरले हिजाब लगाएको आरोपमा पक्राउ परेकी युवती महसा अमिनीको हिरासतमै मृत्यु भएपछि आन्दोलन चर्किएको थियो । यसक्रममा महिलाहरुले हिजाब बन्द गर्नुपर्ने माग गरेका थिए । त्यसबेला समाजको प्रगतिशील विचार राख्ने वर्ग आन्दोलनमा थियो ।
युवाहरु अग्रमोर्चामा रहेको उक्त आन्दोलनलाई सत्ताले केही समयपछि दमन गर्यो । यस घटनामा सुरक्षाकर्मीको गोली प्रहारबाट ५ सय ५० भन्दा धेरैको मृत्यु भएको मानवअधिकारवादी संस्थाहरुले जनाएका छन् । यद्यपी, इरानको सत्ताले यसलाई अस्विकार गर्दै आएको छ ।
यसपटक युवा र प्रगतिशील मात्रै नभएर मध्यमवर्गका व्यवसायी र शिया मुस्लिम मौलानाहरू नै आन्दोलनमा छन् । किनकी, मूल्यवृद्धले सबैको जनजीवन समस्यामा छ । १९७९ मा इस्लामिक क्रान्ति सफल गराउन पनि व्यवसायी र धर्मगुरूहरूको ठूलो भूमिका थियो ।
