इरानमा बढ्यो सरकार विरोधी प्रदर्शन, ८ बालबालिकासहित ४५ जनाको मृत्यु

पछिल्लो समय इरानमा दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएको र बेरोजगारी बढेपछि नागरिकहरू सडकमा उत्रिएका हुन् ।

पुस २५, २०८२

कान्तिपुर संवाददाता

Anti-government protests escalate in Iran, 45 people including 8 children die

काठमाडौँ — महँगीकोविरुद्ध इरानमा सुरु भएको प्रदर्शनले उग्र रूप लिएको छ । विगत केही वर्षयताकै सबैभन्दा गम्भीर मानिएको यस सरकार विरोधी प्रदर्शनका क्रममा हालसम्म कम्तीमा ४५ जनाको मृत्यु भइसकेको छ ।

नर्वेस्थित 'इरान ह्युमन राइट्स' (आईएचआर)लाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनले प्रदर्शनका क्रममा हालसम्म ४५ जनाको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा ८ जना बालबालिका रहेका छन् । 

पछिल्लो समय इरानमा दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएको र बेरोजगारी बढेपछि नागरिकहरू सडकमा उत्रिएका हुन् । प्रदर्शनकारीहरूले आर्थिक सुधारसँगै राजनीतिक स्वतन्त्रताको समेत माग गरिरहेका छन् ।

बिहीबार अहिलेसम्मकै ठूलो प्रदर्शन भएपछि इरानी अधिकारीहरूले राजधानी तेहरानसहित देशका प्रमुख सहरहरूमा इन्टरनेट र टेलिफोन सेवा काटिदिएका छन् । 

अमिनीको मृत्युपछिकै ठूलो आन्दोलन सन् २०२२ मा २२ वर्षीया महसा अमिनीको हिरासतमा मृत्यु भएपछि इरानमा देशव्यापी आन्दोलन चर्किएको थियो । अहिले भइरहेको प्रदर्शनलाई त्यसपछिकै सबैभन्दा ठूलो र संगठित विद्रोहका रूपमा हेरिएको छ ।

ट्रम्प-खामेनी वाकयुद्ध

पछिल्लो अवस्थालाई लिएर अन्तर्राष्ट्रिय स्तरमा पनि वाकयुद्ध सुरु भएको छ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा बलले प्रदर्शनकारीको हत्या गरे इरानमाथि आक्रमण गर्ने धम्की दिएका छन् ।

यसको जवाफमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले शुक्रबार ट्रम्पलाई आफ्नो देशको समस्यामा ध्यान दिन चेतावनी दिएका छन् । उनले भनेका छन्, 'अमेरिकी राष्ट्रपतिले अरूको विषयमा बोल्नुभन्दा आफ्नै देशका समस्याहरूमा केन्द्रित हुनु राम्रो हुन्छ ।'

कान्तिपुर संवाददाता

Link copied successfully