नयाँ भिसा बन्ड नीतिमा अमेरिकी सरकारले एकै पटक नेपालसहित २५ देशलाई यसमा समावेश गरेको हो ।
What you should know
अमेरिका — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नयाँ भिसा बन्ड नीतिमा नेपाललाई पनि समावेश गर्ने भएको छ ।अमेरिकी विदेश मन्त्रालयले सूचना सार्वजनिक गर्दै २१ जनवरी २०२६ देखि नेपाललाई पनि भिसा बन्ड नीतिमा समावेश गर्ने भएको हो ।
नेपाललाई भिसा बन्ड नीतिमा समावेश गरेसँगै २१ जनवरीदेखि व्यवसाय र पर्यटन भिसाका लागि आवेदन दिने आवेदकले १५ हजार डलरसम्म धरौटी राख्नुपर्ने हुन्छ । नयाँ भिसा बन्ड नीतिमा अमेरिकी सरकारले एकै पटक नेपालसहित २५ देशलाई यसमा समावेश गरेको हो ।
अमेरिकाले यो नीतिलाई हालसम्म नेपालसहित ३८ मुलुकमा विस्तार गरिसकेको छ । मन्त्रालयले भिसाको अवधि र अन्य अवस्थाको मूल्यांकन गर्दै धरौटी रकम थपघट हुन सक्ने जनाएको छ । मन्त्रालयले ५ हजार, १० हजार वा १५ हजार अमेरिकी डलरसम्मको धरौटी बुझाउनुपर्ने व्यवस्था गरिने जनाएको छ । धरौटी रकम भिसा अन्तर्वार्ताकै क्रममा निर्धारण गरिने र धरौटी रकम तिरे पनि भिसा स्वीकृत हुने निश्चित भने हुने छैन ।
धरौटी बुझाएर अन्तर्वार्तापछि भिसा पाएपछि भिसाका सर्तहरू पालना गरेको र समयमै अमेरिका छाडेको प्रमाण पेस गरेपछि रकम फिर्ता गर्ने विदेश मन्त्रालयले सूचनामा उल्लेख गरेको छ । अमेरिकाले पर्यटक भिसालाई बी–१/बी–२ भिसामा विभाजन गरेको छ । अधिकांश नेपाल बी–१/बी–२ भिसामै अमेरिका आउने गरेका छन् । मन्त्रालयका अनुसार तोकिएको न्यूनतम समयभन्दा बढी अमेरिका बस्ने ‘ओभरस्टे’ दर र कागजात सुरक्षासम्बन्धी कमजोरी भएका मुलुकका लागि यो नीति विस्तार गरिएको हो । यसअघि गत वर्ष अगस्टमा सीमित देशलाई समेटेर यो नीतिलाई परीक्षणका रूपमा अघि बढाइएको थियो । नीति सकारात्मक देखिएपछि २०२६ को जनवरीदेखि यसलाई व्यापक बनाइएको हो ।
विदेश मन्त्रालय र फेडरल रजिस्टरमा प्रकाशित सूचनाअनुसार धरौटी रकम सबै किसिमका भिसा आवेदकले बुझाउनु पर्दैन । कस्ता भिसा आवेदकले ५ हजार, १० हजार वा १५ हजार अमेरिकी डलरमध्ये फरक रकम धरौटी तिर्ने भन्ने निर्णय दूतावासका कन्सुलर अधिकारीहरूले तय गर्नेछन् । आवेदकको अवस्थाअनुसार धरौटी रकम निर्धारण हुन सक्छ ।
