इरानमा सरकारविरोधी प्रदर्शन १२ औं दिनमा : नाबालिगसहित ३६ को मृत्यु, २ हजारभन्दा धेरै घाइते 

अहिले देशका ३१ मध्ये २७ प्रान्तमा आन्दोलन फैलिएको छ । मंगलबार मुद्रा स्फीति इतिहासमै न्युन बिन्दु (१ अमेरिकी डलर बराबर १४ लाख ७० हजार ईरानी रियाल) थियो । यसले आर्थिक संकट निम्त्याएर आम जनता र लगानीकर्ताबीच अविश्वास पैदा गराएको छ ।

पुस २४, २०८२

कान्तिपुर संवाददाता

Anti-government protests in Iran enter 12th day: 36 dead, including minors, over 2,000 injured

What you should know

काठमाडौँ — इरानमा आर्थिक संकट र मुल्यवृद्धिको विरोधमा २८ डिसेम्बरदेखि सुरु भएको विरोध प्रदर्शन देशभर फैलिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बिहीबार राजधानी तेहरानमा एक प्रहरीमाथि प्रदर्शनकारीले चक्कु प्रहार गरेका छन् । 

अमेरिकास्थित मानवअधिकार अभियन्ता समाचार एजेन्सी (एचआरएएनए) ले ईरानका ३१ मध्ये २७ प्रान्तका २ सय ८० इलाकामा प्रदर्शन भइरहेको जनाएको छ । एजेन्सीले बुधबार सार्वजनिक गरेको विवरणमा अहिलेसम्म आन्दोलनमा चार नाबालिग र दुई सुरक्षा एजेन्टसहित कम्तिमा ३६ जनाको मृत्यु भएको उल्लेख छ । त्यस्तै,  २ हजारभन्दा बढी मानिसहरू पक्राउ परेका छन् ।

प्रदर्शनकारीले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीसहित इस्लामिक सत्ताका महत्वपूर्ण व्यक्तिहरुको राजीनामा तथा लोकतन्त्रको माग गरेका छन् । पश्चिममा लोरेस्तान र केरमानशाह, उत्तरपूर्वमा मशहद, राजधानीको दक्षिणमा रहेको काजभिन, दक्षिण पश्चिममा रहेको चहर महलका शाहरेकोर्ड र बख्तियारी शर तथा हमेदान शहरमा पनि हजारौंको सहभागितामा  प्रदर्शनहरू भएका छन् । सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा भिडियो फुटेजमा  इलाम प्रान्तको अब्दानान शहर ठूलो विरोध प्रदर्शन भएको देखिन्छ । यहाँ विगत एक सातादेखि ठूलो संख्यामा मानिसहरु आन्दोलनमा छन् । 

अमेरिकाको जर्ज वासिङटन विश्वविद्यालयमा मिडिल इस्ट स्टडिज कार्यक्रमका निर्देशक प्रोफेसर सिना आजादीले बेलायती सञ्चारमाध्यम बीबीसीसँगको कुराकानीमा शहरहरुमा देखिएको अशान्ति अत्यन्तै अर्थपूर्ण रहेको बताएका छन् । ‘सरकारलाई समर्थन गर्नेहरु समेत आर्थिक कठिनाईबाट गुज्रिरहेका छन्,’ उनले भने ।  

यस हप्ताको सुरुमा मलेक्शाही काउन्टीमा ब्यारेकको प्रवेशद्धारमा भेला भएर प्रदर्शनकारीले ढुंगा हानेका थिए । जवाफमा, सेनाले गोली हानेको थियो । घटनाका घाइते र मृतकका परिवारले अस्पतालमा पनि सरकारविरोधी नाराबाजी गरेका थिए ।

ईरानमा मुद्रास्फितीले ठूलो संकट निम्त्याएको छ । मंगलबार इतिहासकै न्युनतम बिन्दू १ डलर बराबर १४ लाख इरानी रियाल थियो । मुल्यवृद्धि अति भएपछि यहाँका पुराना बजारहरुमा  व्यवसायीहरुले पसल बन्द गरेका छन् । आन्दोलनकारीहरु लाठी र अश्रुग्याँसको बेवास्ता गर्दै सरक्षा बलहरुसँग भिडिरहेका तस्बिर सामाजिक सञ्जालमा छरपस्ट छन् । 

बजारमा मानिसहरूले ‘स्वतन्त्रता’ को नारा लगाएका छन् भने राज्यका अधिकारीहरुलाई उनीहरुले ‘बेइमान’ भनेर गाली दिइरहेका छन् । 

सरकारले पछिल्ला दिनहरुमा दमन बढाउँदै लगेपनि आन्दोलन मत्थर भएको छैन । बुधबार प्रधानन्यायाधीश घोलामहोसेन मोहसेनी–एजेईले दंगा गर्नेहरूलाई कुनै दया नदेखाउने बताएका छन् । 

मंगलबार  याफ्तााबादमा प्रदर्शनकारीहरुले  ‘न गाजा, न लेबनानका लागि, मेरो जीवन इरानको लागि’ भन्ने नारा लगाएका थिए । इरान सरकारमाथि गाजामा हमास र लेबनानमा सशस्त्र समूहहरूलाई सहयोग गर्ने गरेको आरोप लाग्दै आएको छ । 

मुल्यवृद्धिले जनता आजित 

विश्वकै उच्च मुद्रास्फीति दर भएका देशहरूमध्ये ईरान एक हो । अमेरिकी नाकाबन्दी, उच्च भ्रस्टाचार र विश्वबजारमा कमजोर उपस्थितीले यहाँको अर्थतन्त्र प्रभावित हुँदै आएको छ । सन् २०१५ मा पेरिसमा गरिएको आणविक सम्झौताले अन्तर्राष्ट्रिय बजारमा ईरानको सहज उपस्थितिको बाटो खोलेको थियो । 

यतिबेला एक डलर बराबर ईरानी रियाल ३२ हजार थियो । तर सन् २०१८ मा डोनाल्ड ट्रम्पले यसबाट अमेरिका बाहिरिएको घोषणा गर्दै कठोर प्रतिबन्धहरू पुनः लगाए । त्यसयता, ईरानको अर्थतन्त्र लगातार संकटमा छ । गत वर्ष इजरायलसँग युद्ध सुरु भएयता अवस्था झनै बिग्रिएको छ । 

आर्थिक संकट बढेपछि पछिल्लोपटक २८ डिसेम्बरमा तेहरानमा व्यवसायीहरुले सडक आन्दोलन सुरु गरेका थिए । किनकी, मुद्रास्फीतिले गर्दा सामान भण्डार पनि गर्न नसक्ने र बेच्न पनि नसक्ने अवस्थामा उनीहरु पुगेका थिए । मक्किएको अर्थतन्त्रलाई यसले थप संकटमा पुर्या‍एको थियो ।

अहिले देशका ३१ मध्ये २७ प्रान्तमा आन्दोलन फैलिएको छ । मंगलबार मुद्रा स्फीति इतिहासमै न्युन बिन्दु (१ अमेरिकी डलर बराबर १४ लाख ७० हजार ईरानी रियाल) थियो । यसले आर्थिक संकट निम्त्याएर आम जनता र लगानीकर्ताबीच अविश्वास पैदा गराएको छ । 

सरकारले आर्थिक अवस्थालाई नियन्त्रणमा राख्न केही योजनाहरू ल्याएको भएपनि त्यसको परिणाम उल्टो देखिएको  छ । यस हप्ता खाना पकाउने तेलको मूल्य झन्डै तीन गुणा बढेको छ । 

१९७९ पछिका ठूला आन्दोलन 

अन्तिम राजा मोहम्मद रेजा पल्लवी  १६ जनवरी १९७९ मा देश छाडेर अमेरिका भागे सँगै इरानमा वंश विरासतको राजनीति समाप्त भएर धार्मिक राजनीति सुरु भयो । राजतन्त्रकालमा धर्म निरपेक्ष रहेको ईरान १ अप्रिल १९७९ मा जनमतसंग्रहपछि ईस्लामिक गणतन्त्र बन्यो ।

पल्लवी शासन अन्त्य गर्नका लागि महत्वपूर्ण भूमिका खेलेका धर्मगुरु तथा राजनीतिज्ञ रुहोल्लाह मुसाभी खामेनाई मृत्युपर्यन्त देशको सर्वोच्च नेता बने । यहाँ निर्वाचनले राष्ट्रपति चयन गर्ने भएपनि शासनसत्ता सर्वोच्च नेताकै वरीपरी घुम्छ । रुहोल्लाहको निधनपछि १९८९ मा अली खामेनाई सर्वोच्च नेता बने ।

मध्यपूर्वमा यस अवधिमा सबै राजतन्त्रतात्मक देशमा राजा फेरिइसकेका छन् । तर, गणतन्त्र ईरानमा उनी ३६ वर्षदेखि सत्तामा छन् । शाह महोम्मद रेजा पल्लबीपछि ईरानमा लामो समय शासन गर्ने किर्तिमान उनको नाममा बनिसकेको छ । ईरानको रिभोलुशनरी गार्ड सर्वोच्च नेताअन्तर्गत रहने भएकाले उनी शक्तिशाली बनेका हुन् । तर, जनताले उनको स्वेच्छाचारी प्रवृत्तिविरुद्ध पटक–पटक आन्दोलन गरिसकेका छन् । 

ईस्लामिक क्रान्ति सम्पन्न भएको दुई साताभित्रै इरानमा महिलाहरु आन्दोलनमा उत्रिएका थिए । यसबेला रुहोल्लाहको सत्ताले महिलालाई हिजाब अनिवार्य गरेको थियो । यसको केही समयपछि अल्कोहलमाथि प्रतिबन्ध लगाइयो । विश्वविद्यालयमा महिला र पुरुषका लागि बेग्लाबेग्लै कक्षाकोठाको व्यवस्था गरियो ।

स्कुल, स्विमिङ पुल र समुद्र तटमा पनि यो नियम लागु भयो । रेडियो र टेलिभिजनमा संगीत प्रशारणमाथि अंकुश लगाइयो । यी सबै घटनाक्रमको विरोधमा प्रदर्शन भएको थियो । 

१९९९ मा विद्यार्थीहरुले सुधारको माग गर्दै देशव्यापी प्रदर्शन गरे । हार्डलाइनरहरुले विभिन्न पत्रपत्रिकाहरु बन्द गराएपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका थिए । यो आन्दोलन झन्डै चार वर्षसम्म जारी रह्यो ।

सन् २००७ मा राष्ट्रपति महमौद अहमदिनेजादले एक्कासी ल्याएको पेट्रोलियम प्रयोगलाई सिमित गर्ने योजनाविरुद्ध देशभर  प्रदर्शन भयो । पेट्रोल आयात कम गर्न योजना ल्याइएको थियो । तर, पेट्रोल पम्पअगाडि लगाइन बस्नुपर्दा जनता निकै आक्रोशित थिए । यो आन्दोलन केवल एक दिनमात्रै चलेको थियो । त्यसक्रममा देशका केही पेट्रोल पम्पमा आगो लगाइएको थियो । 

२००९ को निर्वाचनमा धाँधली भएको भन्दै ईरानमा फेरि प्रदर्शन सुरु भयो । यस निर्वाचनबाट महमौद अहमदिनेजाद नै सत्तामा दोहोरिएका थिए । तर जनताले यस परिणामलाई धाँधली ठहर गर्दै आन्दोलन गरे । उनीहरुले सुधारवादी उम्मेदवार मिर हुसैन मोसाभीको समर्थनमा हरियो कपडा लगाएकाले यसलाई हरियो आन्दोलन पनि भन्ने गरिन्छ ।

प्रदर्शनकारीले ‘मेरो मत खोइ ?’ नारा लगाएका थिए । सुरुवातमा यो आन्दोलन शान्तिपूर्ण नै थियो । तर, २०१० पछि सरकारले दमन सुरु गर‍्यो‍ । २०११ देखि २०१५ सम्म अनियमित रुपमै भएपनि प्रतिरोध चलिरह्यो । अरब वसन्तको समर्थनमा पनि सर्वसाधारणले र्या‍ली निकालेका थिए ।

२०१७ मा आर्थिक कठिनाई र मुद्रास्फीतीको विरोधमा १ सयभन्दा धेरै स्थानमा प्रदर्शन भयो । श्रम अधिकार, खानेपानीको हाहाकार र वातावरण संरक्षणलाई पनि प्रदर्शनकारीले मुद्दा बनाएका थिए । नोभेम्बर २०१९ मा इन्धनको मुल्य बढ्दा देशभर प्रदर्शन भयो । सरकारले आन्दोलनमाथि दमन गरेको थियो । त्यस्तै देशका धेरै ठाउँमा इन्टरनेट बन्द गरेको थियो ।

सन् २०२२ मा अनुचित तवरले हिजाब लगाएको आरोपमा पक्राउ परेकी युवती महसा अमिनीको हिरासतमै मृत्यु भएपछि आन्दोलन चर्किएको थियो । यसक्रममा महिलाहरुले हिजाब बन्द गर्नुपर्ने माग गरेका थिए । यस घटनामा सुरक्षाकर्मीको गोली प्रहारबाट ५ सय ५० भन्दा धेरैको मृत्यु भएको मानवअधिकारवादी संस्थाहरुले जनाएका छन् । यद्यपी, इरानको सत्ताले मृत्युका घटना लुकाउँदै आएको छ । यी आन्दोलनहले इरानी समाजमा रहेको गरिहो सामाजिक, राजनीतिक र आर्थिक उत्पीडनलाई उजागर गरेका छन् । ( एजेन्सीको सहयोगमा)

कान्तिपुर

Link copied successfully