अमेरिकी अदालतमा मदुरो, ट्रम्पको निसाना अब कता ? 

मदुरो र उनीसँग आबद्धको बैंक खाता तथा सम्पत्ति रोक्का, ग्रिनल्यान्डमाथि ट्रम्पको नजर, क्युबा र कोलम्बियालाई चेतावनी, भेनेजुएलाकी कार्यवाहक राष्ट्रपतिलाई ‘मदुरोभन्दा पनि ठूलो मूल्य चुकाउनुपर्ने’ धम्की

पुस २२, २०८२

दया दुदराज

Maduro in US court, where is Trump's target now?

What you should know

काठमाडौँ — अमेरिकाद्वारा कब्जामा लिइएका भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई सोमबार अमेरिकी अदालतमा उपस्थित गराइएको छ । गत ३ जनवरीमा अमेरिकी सैन्य कारबाहीका क्रममा पत्नी सिलिया फ्लोरेससहित पक्राउ परेका मदुरोलाई सोमबार न्युयोर्क सिटी अदालतमा उपस्थित गराइएको हो । 

अमेरिकाले मदुरोविरुद्ध २०२० मै लागूऔषध तस्करीको अभियोग दर्ता गरेको थियो । शनिबार सार्वजनिक गरिएको नयाँ अभियोगपत्रमा मदुरोले भेनेजुएलाको सत्तामा रहँदा मेक्सिकोको सिनालोआ र जेटासजस्ता कुख्यात कार्टेलहरूसँग मिलेर अमेरिकामा हजारौं टन कोकिन भित्र्याएको पनि उल्लेख छ ।

त्यस्तै मदुरोले आफ्नै नेतृत्वमा ‘स्टेट स्पोन्सर्ड’ (राज्य संरक्षित) लागूऔषध तस्करी सञ्जाल चलाएको र त्यसबाट प्राप्त रकम आफ्नो र परिवारको हितमा प्रयोग गरेको आरोप छ । विदेशमन्त्री रहँदा उनले लागूऔषध तस्करहरूलाई कूटनीतिक राहदानी बिक्री गरेको र तस्करीको पैसा ओसारपसार गर्न कूटनीतिक च्यानल प्रयोग गरेको पनि अभियोगपत्रमा छ । 

अदालतमा मदुरोले आफूमाथि लगाइएका सबै आपराधिक आरोपहरू अस्वीकार गरेका छन् । ‘म मेरो देशको निर्वाचित राष्ट्रपति हुँ । कुनै अपराधमा दोषी छैन, निर्दोष छु,’ उनले अदालतमा भनेका छन् ।

मदुरोको सम्पत्ति रोक्का

यसैबीच स्विट्जरल्यान्ड सरकारले भेनेजुएलाका राष्ट्रपति मदुरो र उनीसँग आबद्ध व्यक्तिहरूको बैंक खाता तथा सम्पत्ति रोक्का गरेको जनाएको छ । बीबीसीका अनुसार भेनेजुएलाको सार्वजनिक कोषबाट हिनामिना गरिएको धन लुकाउन नमिल्ने गरी स्विट्जरल्यान्डले तत्कालै लागू हुने गरी यस्तो निर्णय गरेको हो ।

२०१८ देखि नै भेनेजुएलामाथि प्रतिबन्ध लगाउँदै आएको स्विट्जरल्यान्डले हालसम्म ५४ उच्च अधिकारीहरूको सम्पत्ति रोक्का गर्नुका साथै उनीहरूलाई यात्रामा समेत प्रतिबन्ध लगाइसकेको छ । स्विट्जरल्यान्डको संघीय परिषद्ले एक विज्ञप्ति जारी गर्दै शंकास्पद सम्पत्ति देशबाहिर लैजान रोक्न यो कदम चालिएको स्पष्ट पारेको छ । छानबिनबाट उक्त सम्पत्ति अवैध पुष्टि भएमा त्यसलाई भेनेजुएलाका जनताकै हितका लागि फिर्ता गरिनेसमेत उसले प्रतिबद्धता व्यक्त गरेको छ ।

मदुरो अमेरिकी अदालतमा उपस्थित भइरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशलाई सैन्य कारबाहीको धम्की दिन थालेका छन् । मदुरोलाई सत्ताच्युत गर्न भएको सैन्य कारबाहीको भोलिपल्टै आइतबार ट्रम्पले आफ्नो वैदेशिक रणनीतिको अर्को लक्ष्य संकेत गरेका छन् । मदुरोको गिरफ्तारीलाई लिएर विश्वव्यापी आलोचना भइरहँदा ट्रम्पले भने आफ्ना आगामी रणनीतिक लक्ष्यहरू सार्वजनिक गर्दै थप आक्रामक बन्ने संकेत दिएका छन् । उनले युरोप, दक्षिण अमेरिका र एसियाका केही देशहरू लक्षित चेतावनी दिएका छन् ।

ग्रिनल्यान्डमा ट्रम्पको नजर

आइतबार सञ्चारकर्मीहरूसँग बोल्दै ट्रम्पले डेनमार्कको अधीनमा रहेको ग्रिनल्यान्डमा अमेरिकी नियन्त्रण हुनुपर्ने दाबी दोहोर्‍याएका छन् । 

फ्लोरिडाबाट वासिङ्टन फर्कने क्रममा ट्रम्पले ग्रिनल्यान्ड अमेरिकी राष्ट्रिय सुरक्षाका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण रहेको बताए । ‘ग्रिनल्यान्डमा अहिले रुसी र चिनियाँ जहाजहरूको चहलपहल बढेको छ,’ सञ्चारकर्मीसँग उनले भने, ‘सुरक्षाको दृष्टिकोणले हामीलाई ग्रिनल्यान्ड आवश्यक छ, जुन डेनमार्क एक्लैले धान्न सक्दैन ।’

भेनेजुएलाको सैन्य कारबाहीले ग्रिनल्यान्डका लागि के संकेत गर्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा ट्रम्पले घुमाउरो जवाफ दिँदै ‘त्यो त उनीहरू आफैंले बुझ्नुपर्ने कुरा हो’ भनेका थिए । ट्रम्पको अभिव्यक्तिप्रति डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले ग्रिनल्यान्ड कब्जा गर्ने धम्की बन्द गर्न आग्रह गरेकी छन् । भनिन्, ‘अमेरिकाले ग्रिनल्यान्ड कब्जा गर्न आवश्यक छ भन्ने कुरा गर्नुको कुनै अर्थ छैन । डेनिस अधिराज्यका तीनमध्ये कुनै पनि देशलाई गाभ्ने अधिकार अमेरिकासँग छैन ।’ 

फ्रेडरिक्सनको अभिव्यक्तिपछि आइतबारै ‘एयर फोर्स वान’ विमानमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले आफ्नो दाबी दोहोर्‍याए । भने, ‘रणनीतिक हिसाबले ग्रिनल्यान्ड संयुक्त राज्यका लागि अत्यावश्यक छ । हामीलाई त्यो भूभाग चाहिन्छ ।’

डेनमार्कका अधिकारीहरू ट्रम्प प्रशासनका पूर्वअधिकारीले सामाजिक सञ्जालमा पोस्ट गरेको एउटा नक्सालाई लिएरसमेत रुष्ट छन्, जसमा ग्रिनल्यान्डलाई अमेरिकी झन्डाको रङमा देखाउँदै ‘सुन’ (छिट्टै) लेखिएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एपीका अनुसार ट्रम्पले आफ्नो ‘राष्ट्रिय सुरक्षा रणनीति’ मा पश्चिमी गोलार्द्धमा अमेरिकी वर्चस्व पुनःस्थापित गर्ने लक्ष्य राखेका छन् ।

बेलायती प्रधानमन्त्री कियर स्टार्मर भने डेनमार्कको पक्षमा उभिएका छन् । स्टार्मरले समकक्षी फ्रेडरिक्सनको अडानलाई समर्थन गर्दै ग्रिनल्यान्डमाथि अमेरिकाले कुनै पनि दाबी गर्न नसक्ने बताएका हुन् । नेटो सहयोगी राष्ट्र डेनमार्कप्रति ऐक्यबद्धता जनाउँदै स्टार्मरले फ्रेडरिक्सनको निर्णय सही भएको उल्लेख गरे ।

क्युबा र कोलम्बियालाई चेतावनी

ट्रम्प मदुरोका निकट सहयोगी मानिने क्युबाप्रति पनि निकै आक्रामक देखिएका छन् । मदुरोको सुरक्षामा क्युबाली अंगरक्षकहरू खटिएको र उनीहरूले नै भेनेजुएलाको आन्तरिक जासुसी संयन्त्र चलाएको विदेशमन्त्री मार्को रुबियोले आरोप लगाए । 

त्यस्तै कोलम्बियाका वामपन्थी राष्ट्रपति गुस्ताभो पेट्रोलाई समेत निसानामा पारेका छन् । कोलम्बियालाई ‘विश्वको कोकिन कारखाना’ को संज्ञा दिँदै ट्रम्पले भने, ‘उनले (पेट्रो) लामो समय यो काम गर्न पाउने छैनन् ।’ कोलम्बियामाथि सैन्य कारबाही हुने सम्भावनाबारे सोधिएको प्रश्नमा ट्रम्पले ‘त्यो उचित सुनिन्छ’ बताएका थिए । ट्रम्प प्रशासनले यसअघि नै लागूऔषध तस्करीमा संलग्न रहेको आरोपमा पेट्रो र उनको परिवारमाथि प्रतिबन्ध लगाउनुका साथै कोलम्बियालाई दिइँदै आएको सहायतामा कटौती गरिसकेको छ । 

राष्ट्रपति पेट्रोले ट्रम्पको धम्कीप्रति जवाफ दिएका छन् । राष्ट्रपति पेट्रोले आफूमाथि लगाइएको ‘अवैध शासक’ र ‘लागूऔषध तस्कर’ को आरोपलाई पूर्ण रूपमा अस्वीकार गरेका छन् । पेट्रोले लेखेका छन्, ‘मैले फेरि कहिल्यै हतियार नछुने कसम खाएको थिएँ तर मातृभूमिको रक्षाका लागि म पुनः हतियार उठाउन तयार छु ।’

पूर्वविद्रोही लडाकुसमेत रहेका पेट्रोले २०२२ मा कोलम्बियाको सत्ता सम्हालेका थिए । ट्रम्पको पछिल्लो अभिव्यक्तिले दुई देशबीचको कूटनीतिक सम्बन्धमा तनाव थपिने संकेत देखिएको छ । ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा दक्षिण अमेरिकी देशहरूबाट हुने लागूऔषध ओसारपसार रोक्न कडा कदम चाल्ने दाबी गर्दै आएका छन् ।

ट्रम्पले कोलम्बियासँगै मेक्सिकोमा पनि लागूऔषध तस्कर गर्ने गिरोह सक्रिय रहेको भन्दै कडा कदम चाल्ने चेतावनी दिएका थिए । मेक्सिकोबाट अमेरिकातर्फ लागूऔषधको मात्रा धेरै आइरहेको भन्दै त्यहाँका आपराधिक गिरोहहरू नियन्त्रण गर्ने बताएका थिए ।

ट्रम्पले मेक्सिकोको सन्दर्भमा ‘केही न केही कदम चाल्नुपर्ने’ बताएका थिए । तर जवाफमा मेक्सिकन राष्ट्रपति क्लाउडिया सेनवामले आफ्नो देशमा अमेरिकी सैन्य हस्तक्षेपको सम्भावनालाई नकार्दै कुनै पनि प्रकारको बाह्य हस्तक्षेप स्वीकार्य नहुने बताएकी छन् । 

सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपति सेनवामले अमेरिका महाद्वीप कुनै खास सिद्धान्त वा शक्तिको नभई यहाँका जनताको भएको स्पष्ट पारिन् । उनले भनिन्, ‘हामी लागूऔषध तस्करीविरुद्ध सहकार्य गर्न तयार छौं तर कसैको अधीनमा बस्न वा हस्तक्षेप स्वीकार गर्न सक्दैनौं ।’ अमेरिकी सेना मेक्सिकोमा प्रवेश गर्ने विषयमा उनले भनिन्, ‘मैले यस विषयमा निकै दृढताका साथ नाइँ भनिसकेकी छु ।’

त्यस्तै इरानमा जारी सरकारविरोधी आन्दोलनप्रति लक्षित गर्दै ट्रम्पले सैन्य हस्तक्षेपको चेतावनी दिएका थिए । विगत दुई सातादेखि इरानमा भइरहेको प्रदर्शनमा १६ जनाको मृत्यु भइसकेको भन्दै त्यहाँ सैन्य हस्तक्षेप हुन सक्ने बताएका थिए । उनले भने, ‘यदि इरानले शान्तिपूर्ण प्रदर्शनकारीलाई मार्न थाल्यो भने अमेरिका उनीहरूको उद्धारमा आउनेछ । हामी पूर्ण तयारी अवस्थामा (लक्ट एन्ड लोडेड) छौं ।’

मदुरोको भन्दा पनि ठूलो मूल्य चुकाउनुपर्ने धम्की

विश्वका विभिन्न देशलाई चेतावनी दिइरहँदा ट्रम्पले भेनेजुएलाका नवनियुक्त कार्यवाहक राष्ट्रपतिलाई पनि बाँकी राखेनन् । सर्वोच्चको आदेशसँगै कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी डेल्सीलाई ट्रम्पले धम्कीपूर्ण चेतावनी दिएका हुन् । ‘द एटलान्टिक’ म्यागजिनलाई दिएको एक अन्तर्वार्तामा डेल्सीले ‘सही निर्णय नगरे मदुरोको भन्दा पनि ठूलो मूल्य चुकाउनुपर्ने’ चेतावनी दिएका छन् । 

फ्लोरिडास्थित वेस्ट पामबिच गल्फ कोर्स पुग्ने क्रममा टेलिफोन अन्तर्वार्ता दिँदै ट्रम्पले भने, ‘यदि उनले सही काम गरिनन् भने निकै ठूलो मूल्य चुकाउनुपर्नेछ, सम्भवतः मदुरोको भन्दा पनि ठूलो ।’ ट्रम्पले चेतावनी दिएलगत्तै डेल्सीले उनीसँग सहकार्यका लागि आह्वान गरेकी छन् ।

डेल्सीले अमेरिकासँग ‘साझा विकास’ का लागि सहकार्यको प्रस्ताव गरेकी हुन् । सुरुमा अमेरिकी कदमलाई ‘स्रोत साधनमाथिको अवैध कब्जा’ भन्दै आलोचना गरेकी डेल्सीले ट्रम्पको चेतावनीलगत्तै सामाजिक सञ्जालमार्फत नरम शैलीमा संवादको आह्वान गरेकी हुन् ।

‘हामी अमेरिकी सरकारलाई अन्तर्राष्ट्रिय कानुनको परिधिभित्र रही साझा विकास र सहकार्यको एजेन्डामा अघि बढ्न निमन्त्रणा गर्दछौं,’ तेलमन्त्रीको जिम्मेवारीसमेत सम्हालेकी रोड्रिग्वेजले भनेकी छन्, ‘राष्ट्रपति डोनाल्ड ट्रम्प, हाम्रा जनता र यो क्षेत्र युद्ध होइन, शान्ति र संवादको हकदार छन् ।’ ट्रम्पको पछिल्लो अभिव्यक्तिले पश्चिमी गोलार्द्धमा अमेरिकाले आफ्नो प्रभाव विस्तार गर्न थप सैन्य आक्रामक र राजनीतिक कदम चाल्न सक्ने देखिएको छ । (एजेन्सीको सहयोगमा)

दया दया कान्तिपुरका मिडिया रिपोर्टर हुन् ।

Link copied successfully