सन् २०२५ को विवरण आउनै बाँकी छ । तर, यस वर्ष खर्च बढेर २.८ देखि ३ ट्रिलियन नजिक पुगेको हुनसक्ने प्रक्षेपण लगाइएको छ । किनकी, यस वर्ष युरोप र मध्यपूर्वमा सैनिक खर्च १०% ले बढेको थियो ।
What you should know
काठमाडौँ — कसले सोचेको थियो होला : २१ औं शताब्दीमा एउटा सार्वभौम देशको निर्वाचित राष्ट्रप्रमुख र उनकी पत्नीलाई अर्को देशको सेनाले बिछ्यौनाबाटै उठाएर लैजान्छ । तर, दन्त्य कथाको झल्को दिने यस्तो घटना शनिबार राति भेनेजुएलाको काराकासस्थित मिराफ्लोर्स दरबारमा मञ्चन भयो ।
यो आक्रमण अचानक भएको थिएन। महिनौं पहिलेदेखि जासुसहरूले यसको योजना बनाएका थिए । दरबारकै कर्मचारीहरुलाई भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरो र उनकी पत्नीको सुराकी गर्न लगाइएको थियो ।
९० वटासम्म विमान बोक्नसक्ने युएसएस गेराल्ड आर फोर्ड गत अगस्टदेखि नै खतराको घण्टी बनेर क्यारेबियन सागरमा तैरिरहेको थियो ।
एफ ३५ विमानहरूले मध्यराति सटिक हमला गरे । ईए-१८ जीले राडरलाई काम नलाग्ने बनायो । अपरेशन यति द्रूत थियो : बाँकी विश्वले भेनेजुएलामा आक्रमण भएको पत्तो पाउँदासम्म त्यहाँका राष्ट्रपति नै अमेरिकाको कब्जामा पुगिसकेका थिए ।
लगत्तै वाशिंगटनबाट डोनाल्ड ट्रम्पको आवाज गुन्जियो, 'दक्षिण अमेरिकामा हाम्रो कुरा नटेर्नेहरूले चर्को मूल्य चुकाउनुपर्छ।' यो चेतावनी स्पष्ट रूपमा क्युवा र कोलम्बियाका लागि थियो ।
विश्वमा शक्तिशाली देशहरूले कमजोरमाथि आक्रमण गर्नु नौलो होइन । तर पछिल्ला केही वर्ष युद्धले हरेक कुनालाई आक्रान्त बनाएको छ । सन् २०२५ मा पृथ्वीको पश्चिमी गोलार्दध इक्वेडरदेखि पूर्वी गोलार्दध म्यान्मारसम्म ठूलो जनसंख्या हिंसाको चपेटामा थियो । नयाँ वर्षले परिस्थिती थप बिगारिदिएको छ ।
वैश्विक वैमनस्यता बढेको यो परिवेशमा सामाजिक सुरक्षा तथा स्वाथ्य–शिक्षाजस्ता क्षेत्रमा बजेट कटौती भएको छ । देशहरुले ठूलो लगानी युद्धमा लगाएका छन् । तर, बन्दूकको बलमा विपक्षीलाई हायल–कायल बनाउने विश्वका ठूला–साना राष्ट्र तथा समुहको यो होडबाजीमा लगाम लगाउन संयुक्त राष्ट्रसंघ असफल छ । जसले शक्तिशाली राष्ट्रहरुलाई सैन्य ताकत वृद्धि गर्नका लागि अझै धेरै उत्प्रेरित गरेको छ ।
स्विडेनस्थित स्टकहोम अन्तर्राष्ट्रिय शान्ति अनुसन्धान संस्थानको रिपोर्टले सन् २०२४ मा हतियार कारोबार अहिलेसम्मकै उच्च रहेको देखाउँछ । अनुसन्धानअनुसार उक्त वर्ष विश्वको कुल सैन्य खर्च २.७ ट्रिलियन अमेरिकी डलर पुगेको थियो ।
सन् २०२५ को विवरण आउनै बाँकी छ । तर, यस वर्ष खर्च बढेर २.८ देखि ३ ट्रिलियनसम्म पुगेको हुनसक्ने प्रक्षेपण लगाइएको छ । किनकी, यस वर्ष युरोप र मध्यपूर्वमा सैनिक खर्च १०% ले बढेको थियो ।
सन् २०२६ सम्म आइपुग्दा कुन देशसँग सैन्य सामथ्र्य कति छ ? विभिन्न एजेन्सीहरुले गरेको अध्ययनका आधारमा यो सामाग्री तयार गरिएको छ ।
बजेट
सेनाका लागि सबैभन्दा ठूलो बजेट अमेरिकाले खर्च गर्छ । सन् २०२४ को तथ्याङकअनुसार उसको रक्षा बजेट खर्च ९ सय ९७ बिलियन अमेरिकी डलर थियो । जो अमेरिकाको कुल जिडिपीको ३ दशमलव ४ प्रतिशत हो ।
दोस्रो नम्बरमा चीन छ । जसले ३ सय १४ बिलियन डलर खर्च गर्छ । जो उसको कुल जिडिपीको १ दशमलव ४ प्रतिशत हो ।
तेस्रो नम्बरमा रुस छ । उसले १ सय ४९ बिलियन डलर खर्च गर्छ । जो उसको कुल जिडिपीको ७ दशमलव १ प्रतिशत हो । चौथो स्थानको जर्मनीले ८८ दशमलव ५ बिलियन र पाँचौ स्थानको भारतले ८६ दशमलव १ बिलियन अमेरिकी डलर रक्षा क्षेत्रमा खर्च गर्छन् ।
यस सुचीमा बेलायत छैटौं, साउदी अरेबिया सातौं, युक्रेन आठौं, फ्रान्स नवौं र जापान दशौं स्थानमा छ । जिडिपीको अनुपातमा सुरक्षा खर्चको् तुलना गर्दा सन् २०२४ मा युक्रेन पहिलो नम्बरमा थियो ।
उसले आफ्नो कुल जिडिपीको ३४ प्रतिशत सुरक्षामा खर्च गर्यो । इजरायलले कुल जिडिपीको ८.८ प्रतिशत सुरक्षामा खर्च गरेको थियो । यस वर्ष अल्जेरियाले आफ्नो कुल जिडिपीको ८ प्रतिशत सेनामा खर्च गरेको थियो ।
सक्रिय सैनिक संख्या
चीनसँग सबैभन्दा धेरै सक्रिय सेना छन् । यस देशमा सक्रिय सैनिकको संख्या झन्डै २० लाख हाराहारीमा छ ।
१४ लाख ५० हजार सेना रहेको भारत सुचीको दोस्रो स्थानमा, १३ लाख ९० हजार सैनिक भएको अमेरिका तेस्रो स्थानमा, १२ लाख सैनिक भएको उत्तर कोरिया चौथो स्थानमा र ८ लाख ३० हजार सैनिक भएको रुस पाँचौ स्थानमा छन् ।
यस सुचीमा ६ लाख ५० हजार सेना भएको पाकिस्तान छैटौं, ५ लाख ७५ हजार सेना राखेको इरान सातौं, ५ लाख ५५ हजार सेना भएको दक्षिण कोरिया आठौं, ४ लाख ७० हजार सेना भएको भियतनाम, नवौं र ४ लाख ४० हजार सेना भएको इजिप्ट दशौं स्थानमा छन् ।
रिजर्भ सेना
देशमा रहेका सैन्य तालिम लिएका र शारिरीक रुपमा फिट रहेका व्यक्तिलाई यस सुचीमा राखिन्छ । यी त्यस्ता व्यक्तिहरु हुन्, जो राष्ट्रिय संकटको घडी वा अन्य देशसँग युद्ध भइरहेका बेला तत्कालै बर्दी लगाएर कार्यस्थलमा खटिनसक्छन् ।
सैनिक तालिम अनिवार्य रहेका देशहरुमा रिजर्भ सेनाको संख्या बढी हुने गरेको छ । ग्लोबल फायरपावर डटकमका अनुसार यो सुचीमा भियतनाम पहिलो स्थानमा छ । भियतनाममा ५० लाख रिजर्भ सेना छन् ।
यस देशमा १८ वर्षदेखि २७ वर्षसम्मका युवाले कम्तिमा १८ देखि २४ महिनाको सैनिक तालिम अनिवार्य लिनुपर्छ । शिक्षा, स्वास्थ्य, पारिवारीक कारण आदी देखाएर एक–दुई वर्ष ढिला वा चाडोंं लिन पाइन्छ । दक्षिण कोरियामा ३१ लाख, रुसमा २० लाख, फिलिपिन्स र युक्रेनमा क्रमशः १२् १२ लाख तथा भारतमा ११ लाख ५५ हजार रिजर्भ सेना छन् ।
एयरफोर्स
अमेरिकाको हवाई सेना अतुलनीय छ । यहाँको सेनासँग १३ हजार ०४ वटा विमान छन् । यसमा अत्याधुनिक हेलिकोप्टर तथा लामो र छोटो दूरीका विमान समावेश छन् । रुससँग ४ हजार २ सय ९२ वटा विमान छन् ।
तेस्रो नम्बरको चीनसँग ३ हजार ३ सय ९ , भारतसँग २ हजार २ सय २९ र दक्षिण कोरियासँग १५ सय ९२ वटा युद्ध विमान छन् । यस सुचीमा जापान छैटौं, पाकिस्तान सातौं, इजिप्ट आठौैं, टर्किए नवौं र फ्रान्स दशौं स्थानमा छन् ।
जलसेना
अमेरिकी जलसेनाका ११ वटा विमानवहाक तथा ९२ वटा विध्वंशकमा १०,००० भन्दा धेरै मिसाइल्स छन् । जसले हजारौं किलोमिटर टाढासम्म मार हान्न सक्छन् । उदाहरणका लागि, टोमाहाक मिसाइलले २,५०० किमी परसम्म मार हान्छ । त्यस्तै ६६ वटा पनडब्बु छन् ।
विश्वका धेरै समुद्रहरुमा यी पनडब्बु परिचालित छन् । यी पनडब्बुमार्फत ट्रिडेन्ट सेकेन्ड परिचालन गरेर अमेरिकाले १२ हजार किलोमिटर परसम्म आणविक प्रहार गर्नसक्छ ।
अमेरिकासँग युद्धमा प्रयोग गर्न मिल्ने कुल २ सय ३२ वटा अत्याधुनिक पानीजहाज छन् । ती जहाजलाई विभिन्न क्षेत्रमा तैनाथ गरिएको थियो । भेनेजुएलामा आक्रमण गर्नुअघि गत अगस्टमा क्यारेबियन क्षेत्रमा गेराल्ड फर्ड तैनाथ गरिएको थियो ।
यस जहाजमा झन्डै ९० वटा युद्ध विमान पार्किङ गर्न मिल्छ । भेनेजुएलामा संयोजित आक्रमण गर्न यी विमानले महत्वपूर्ण भूमिका खेलेका थिए । चीनको जल सेनासँग ७३० वटा लडाकु पानीजहाज छन् ।
चीनले आफ्नो जलसेनाको क्षमता लगातार बढाउँदै लगेको छ । उसले शक्तिशाली पनडुब्बी, नयाँ विमानवाहक, फ्रिगेट र स्टिल्थ विनाशकहरू निर्माण गर्न ठूलो लगानी गरेको छ । विशषेगरी इन्डो-प्यासिफिक र दक्षिण चीन सागर क्षेत्रहरूमा आफ्नो स्वार्थ रक्षा गर्नका लागि चीनले समुद्री सेनालाई तयारी अवस्थामा राखेको छ ।
रुसको जलसेना सामर्थ्यका आधार तेस्रो स्थानमा आउँछ । रूससँग १.२६ मिलियन टनभन्दा बढीको बेडा भएको मिसाइलसहितको लडाकु जहाज छ । त्यस्तै आणविक-सामर्थ्य भएका पनडुब्बीहरू छन् । विशेषगरी, आर्टिक, बाल्टिक सागर र भूमध्यसागरमा मस्कोले आफ्नो शक्तिशाली उपस्थिति जनाएको छ ।
ट्यांक
जमिनमा कुनै पनि मिशन सञ्चालन गर्न बलियो ट्यांक महत्वपूर्ण मानिन्छ । आधुनिक, सुसज्जित ट्याङ्क फोर्सले देशहरूलाई आक्रमणबाट बचाउन, विद्रोहहरूसँग लड्न, आक्रमणकारीहरूलाई रोक्न र क्षेत्रीय शक्ति प्रक्षेपण गर्न मद्दत गर्छ ।
ग्लोबल फायर पावरका अनुसार चीनलसँग झन्डै ६,८०० ट्याङ्कहरू छन् । त्यस्तै, रूससँग ५,७५० ट्याङ्कहरू छन् । अमेरिकासँग ४,६४० अब्राम्स ट्यांकहरू छन् । उत्तर कोरिया, भारत, इजिप्ट र पाकिस्तानमा पनि ठूलो संख्यामा ट्यांकहरु छन् ।
आणविक शक्ति
आणविक हतियार निर्माणमा ईरान अन्तिम चरणमा रहेको आशंका गरिएको भएपनि यसको पुष्टि भइसकेको छैन । अहिलेसम्म विश्वका ९ वटा देशसँग आणविक हतियार रहेको पुष्टि भइसकेको छ ।
त्यसमध्ये ९० प्रतिशतभन्दा धेरै आणविक हतियार रुस र अमेरिकासँग छ । यसबाहेक फ्रान्स, बेलायत, चीन, भारत, पाकिस्तान, इजरायल र उत्तर कोरिया पनि आणविक हतियार सम्पन्न देश हुन् ।
रुससँग कुल ५ हजार ४ सय ५९ वटा आणविक वरहेड छन् । यसमध्ये ४ हजार ३ सय ९ वटा वार हेड सक्रिय अवस्थामा छन् । त्यस्तै अमेरिकासँग भएका ५ हजार १ सय ७७ वटा वार हेडमध्ये ३ हजार ७ सय वटा सक्रिय अवस्थामा छन् ।
अमेरिकाले १९४५ र रुसले १९४९ मा आणविक हतियार परीक्षण गरेका थिए । विश्वमा आणविक हतियारलाई युद्धमा प्रयोग गर्ने अमेरिका एकमात्रै देश हो । उसले सन् १९४५ मा हिरोसीमा र नागासाकीमा एटम बम खसालेको थियो ।
पूर्वाधार
अमेरिकाले सैन्य पूर्वाधारमा पनि ठूलो लगानी गरेको छ । विश्वभर अमेरिकाका झन्डै ७ सय ५० भन्दा बढी सैन्य अखडा छन् । अमेरिकासँग सी–१७ जस्ता अत्याधुनिक कार्गो विमान ५ सयभन्दा धेरैको संख्यामा छन् ।
गेराल्ड आर फर्डजस्ता विमानवहाक ६ महिना समुद्रमा रहनसक्छन् । जापानको याकोसुका, मोरिसियस छेऊको डिएगो गार्सिया, कतारको अल उद्दियजस्ता क्षेत्रमा उसले अखडा बनाएको छ । त्यसैगरी, युरोपका जर्मनी, बेल्जियम, नेदरल्यान्ड, बेलायत, टर्कीएमा उसले आफ्नो आणविक बम राखेको छ ।
चीनसँग अमेरिकाजस्तो विश्वव्यापी सैनिक अखडा छैन । तर, पछिल्लो समय बेल्ट एन्ड रोड इनिसियटिभमार्फत उसले आफ्नो प्रभाव विश्वव्यापी बनाएको छ । अहिले १ सय ३६ देशमा ३ सय ७५ वटा बन्दरगाहमा चीनको पहुँच छ । पाकिस्तानको ग्वादर, श्रीलंकाको हम्बानटोट्टालगायत बन्दरगाहलाई चीनले रणनीति रुपमा प्रयोग गरिरहेको छ ।
भौगोलिक रुपमा विश्वकै सबैभन्दा ठूलो देश रुसको सीमा युरोप र एशिया दुबै महादेशमा फैलिएको छ । यसबाट रुसले निकै राम्रो फाइदा लिएको छ । उसले पूर्वमा साइबेरियादेखि पश्चिम युरोपसम्म आफ्ना सेनालाई तयारी अवस्थामा राखेको छ ।
हतियार र मिसाइल क्षमता
विश्वका शक्ति राष्ट्रहरूले आधुनिक मिसाइल र हतियारमा ठूलो लगानी गरेका छन् । अमेरिका, चीन र रुससँग हजारौं किलोमिटर टाढा मार हान्न सक्ने क्षमता छ । अमेरिकासँग एलजीएम–३०जी मिनुटम्यान–थ्री नामक अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल छ ।
जसले १३,००० किलोमिटर परसम्म मार हान्न सक्छ । यसले एक वा धेरै परमाणु वारहेड बोक्न सक्छ ।
भविष्यमा यसलाईज्ञ बिस्थापित गर्नेगरी अमेरिका अहिले एलजीएम–३५ए सेन्टिनेल विकास गरिरहेको छ । यो मिसाइल अझै बढी सटीक, सुरक्षित र दीर्घकालीन प्रयोगका लागि डिजाइन गरिएको छ ।
परम्परागत हतियारतर्फ, अमेरिकासँग लङ रेन्ज हाइपरसोनिक हतियार ‘डार्क ईगल’ प्रणाली छ । यसलाई जमिनबाट प्रक्षेपण गरिन्छ । यसले २,७०० किलोमिटरभन्दा बढी दूरीमा मार हान्नसक्छ ।
चीनको डीएफ- ४१ आईसीबीएमले १४,००० किमी सम्म मार हान्नसक्छ । अर्थात् अमेरिकासम्म पुग्नसक्छ । डिएफ -२६ गुआम किलरले ४,००० किलोमिटर परसम्म विमानवाहक डुबाउन सक्छ। चीनसँग टाइप ०५५ तथा सुपरसोनिक मिसाइलजस्ता विध्वंशक छन्।
रुसको किन्जल हाइपरसोनिक मिसाइल १० मिनेटभित्र २,००० किलोमिटर पर पुग्नसक्छ । जिर्कोनले १,००० किमीसम्म पुगेर विमानवाहकलाई मार चाहन्नसक्छ आरएस २८ सार्मत आईसीबीएमले १८,००० किलोमिटरसम्म १० एमआईआरभी वारहेड हान्न सक्छ ।
अन्तर महादेशिय मिसाइल क्षमतामा उत्तर कोरियाले पनि पछिल्ला वर्ष ठूलो लगानी गरिरहेको छ । उत्तर कोरियासँग ह्वासोंग-१७ जस्ता अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल छन्, जसले १५,००० किलोमिटरभन्दा बढी दूरी पार गर्न सक्छन् । यसले अमेरिकाको महाद्वीपीय भागसम्म मार हान्न सक्ने क्षमता राख्छ र एकभन्दा बढी वारहेड बोक्न सक्छ ।
ह्वासोंग-१८ जस्ता अत्याधुनिक मिसाइल विकास गर्न उत्तरले लगानी गरिरहेको छ । जसले तरल इन्धनको सट्टा ठोस इन्धन प्रयोग गरेर छिटो मार हान्न सक्छ । केएन २३ सर्फेस टु सर्फेस मिसाइलजस्ता ६ सय ९० किलोमिटर तथा १ हजार किलोमिटर दूरीमा तिव्र गतिमा मार हान्नसक्ने हाइपरसोनिक मिसाइलहरु उत्तर कोरियासँग ठूलो संख्यामा छन् ।
यसले छिमेकी जापान र दक्षिण कोरियाको टाउको दुखाउने गरेको छ । उत्तर कोरियाले ५० भन्दा बढी परमाणु हतियार बनाइसकेको अनुमान छ, जसलाई मिसाइलमा राखेर हमला गर्न सकिन्छ ।
निष्कर्ष : विभिन्न एजेन्सी तथा रिपोर्टहरूलाई आधार मान्दा अमेरिका पहिलो, रूस दोस्रो, चीन तेस्रो र भारत चौथो स्थानमा छन् । शीर्ष १० भित्र दक्षिण कोरिया (५), बेलायत (६), फ्रान्स (७), जापान (८), टर्कीए (९) र इटली (१०) स्थानमा छन् ।
