मदुरो दम्पतीलाई अदालततर्फ लग्दै गर्दा प्रहरी गाडी, ब्ल्याक एसयूभी र विशेष सुरक्षा दस्ताले मोटरकेडलाई एस्कर्ट गरेका थिए ।
काठमाडौँ — अपदस्थ भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई लिएर अमेरिकी सुरक्षाकर्मीको घेरासहितको मोटरकेड सोमबार ब्रुक्लिनस्थित मेट्रोपोलिटन डिटेन्सन सेन्टरबाट न्यूयोर्क सिटीको अदालततर्फ प्रस्थान गरेको देखिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनका अनुसार सोमबार अदालतमा उपस्थित गराइनुअघि सेन्टर बाहिर सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । मदुरो दम्पतीलाई अदालततर्फ लग्दै गर्दा प्रहरी गाडी, ब्ल्याक एसयूभी र विशेष सुरक्षादस्ताले मोटरकेडलाई एस्कर्ट गरेका थिए । अमेरिकी न्याय विभागका अनुसार मदुरो 'उच्च जोखिम' अभियुक्तको सूचीमा राखिएका छन् ।
लामो समय भेनेजुएलाको सत्ता सम्हालेका मदुरोको गिरफ्तारीले ल्याटिन अमेरिकी राजनीति र अन्तर्राष्ट्रिय कूटनीतिमा नयाँ तरंग ल्याएको छ । उनको मुद्दा सुनुवाइलाई विश्वभरका सुरक्षा विश्लेषक, कूटनीतिज्ञ र मानव अधिकारवादीले नजिकबाट नियालिरहेका छन् ।
अमेरिकी सेनाले शनिबार भेनेजुएलामा गरेको एक आकस्मिक सैन्य अपरेसनका क्रममा मदुरोलाई नियन्त्रणमा लिएको थियो । पक्राउपछि उनलाई न्यूयोर्क ल्याइएको हो । अमेरिकी अभियोजन पक्षले उनीमाथि लागूऔषध (ड्रग्स) तस्करी, अवैध हतियार कारोबार तथा हतियारसम्बन्धी आपराधिक षड्यन्त्रमा संलग्न रहेको अभियोग लगाएको छ । मदुरोले भने यी आरोप अस्वीकार गर्दै आएका छन् ।
