अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सका अनुसार ट्रम्पले कोलम्बियाली सरकारविरुद्ध सैन्य कारबाहीको चेतावनी दिँदै राष्ट्रपति गुस्ताभो पेट्रोमाथि अमेरिकामा लागूऔषध तस्करी गरेको आरोप लगाएका थिए ।
काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सैन्य कारबाहीको धम्की दिएपछि कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले कडा प्रतिक्रिया दिएका छन् । उनले देशको रक्षाका लागि आफू पुनः 'हतियार उठाउन' तयार रहेको बताएका हुन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सका अनुसार ट्रम्पले कोलम्बियाली सरकारविरुद्ध सैन्य कारबाहीको चेतावनी दिँदै राष्ट्रपति पेट्रोमाथि अमेरिकामा लागूऔषध तस्करी गरेको आरोप लगाएका थिए ।
सामाजिक सञ्जालमा एक पोस्ट जारी गर्दै राष्ट्रपति पेट्रोले ट्रम्पको भनाइको अनुवाद आधिकारिक रूपमा एकिन नभएसम्म प्रत्यक्ष जवाफ नदिने स्पष्ट पारेका छन् । यद्यपि, उनले आफूमाथि लगाइएको 'अवैध' शासक र 'लागूऔषध तस्कर' को आरोपलाई पूर्ण रूपमा अस्वीकार गरेका छन् ।
पेट्रोले लेखेका छन्, 'मैले फेरि कहिल्यै हतियार नछुने कसम खाएको थिएँ, तर मातृभूमिको रक्षाका लागि म पुनः हतियार उठाउन तयार छु ।'
पूर्व विद्रोही लडाकुसमेत रहेका पेट्रोले सन् २०२२ मा कोलम्बियाको सत्ता सम्हालेका थिए । ट्रम्पको पछिल्लो अभिव्यक्तिले दुई देशबीचको कूटनीतिक सम्बन्धमा तनाव थपिने संकेत देखिएको छ ।
ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा दक्षिण अमेरिकी देशहरूबाट हुने लागूऔषध ओसारपसार रोक्न कडा कदम चाल्ने दाबी गर्दै आएका छन् ।
