अमेरिकासँग वार्ता गर्न भेनेजुएला तयार, यी हुन् विवादका ५ कारण

भेनेजुएलामा व्यवसाय गरिरहेको एकमात्रै अमेरिकी कम्पनी चेभरोनलाई उनीहरुले चाहेकै ठाउँमा उद्योग खोल्न र व्यवसाय सञ्चालनको अनुमति दिन तयार रहेको पनि मदूरोले बताए ।

पुस १८, २०८२

कान्तिपुर संवाददाता

Venezuela ready to negotiate with the US, these are the 5 reasons for the dispute

What you should know

काठमाडौँ — भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले अमेरिकासँग ड्रग्स र तेल तस्करीका विषयमा वार्ता गर्न तयार रहेको बताएका छन् ।

भेनेजुएलाको सरकारी टेलिभिजनलाई दिएको अन्तर्वार्तामा उनले भने, ‘उनीहरू जहाँ र जहिले चाहन्छन् । म वार्ताका लागि तयार छु ।’ अमेरिकाले क्यारेबियन सागर र पूर्वी प्रशान्त महासागर हुँदै आउने डुंगाहरूलाई निशाना बनाउन थालेको तीन महिनापछि मदुरोले यस्तो प्रतिक्रिया दिएका हुन् ।

ट्रम्प प्रशासनले यस अवधिमा कम्तिमा ३० पटक आक्रमण गरिसकेको छ । ती आक्रमणमा कम्तीमा १ सय १० जनाको मृत्यु भएको छ । पछिल्लो पटक बुधबार ड्रग्स बोकेको आशंकामा दुईवटा डुंगामाथि अमेरिकी सेनाले आक्रमण गर्दा पाँच जनाको मृत्यु भएको अमेरिकाले जानकारी दिएको छ ।

गत सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ड्रग्स बोक्ने डुंगा राख्नका लागि भेनेजुएलाले बनाएको पूर्वाधारमा आक्रमण गरिएको बताएका थिए । अमेरिकाले भेनेजुएलाभित्र गरेको यो पहिलो आक्रमण हो । यस क्रममा ठूलो बिस्फोट सुनिएको थियो । न्युयोर्क टाइम्सका अनुसार उक्त विस्फोट सीआईएको ड्रोन हमलाबाट भएको थियोे ।

यस विषयमा पनि टेलिभिजन प्रस्तोताले मदुरोसँग प्रश्न राखेका थिए । तर, मदुरोले पुष्टि वा खण्डन दुवै गरेनन् । “यस विषयबारे हामी केही दिनमा कुराकानी गर्न सक्छौँ,” उनले भने ।

ड्रग्स तस्करीसँगै तेल र आप्रवासनबारे पनि कुराकानी गर्न तयार रहेको मदुरोले बताए । भेनेजुएलामा व्यवसाय गरिरहेको एकमात्रै अमेरिकी कम्पनी चेभरोनलाई उनीहरुले चाहेकै ठाउँमा उद्योग खोल्न र व्यवसाय सञ्चालनको अनुमति दिन तयार रहेको पनि मदूरोले बताए । 

मदुरो सरकारले आफ्ना जेलमा रहेका अपराधीहरूलाई अमेरिकातर्फ बसाइँ सर्न बाध्य बनाएको आरोप ट्रम्पले लगाउँदै आएका छन् । ‘भेनेजुएला आफ्ना जेलहरू खाली गर्दैछ र अमेरिकामा शरणार्थी संख्या बढाउँदैछ,’ ट्रम्पले दाबी गर्दै आएका छन् । तर, उनले यसको ठोस प्रमाण भने सार्वजनिक गरेका छैनन् ।

भेनेजुएलामा प्रवेश गर्ने र त्यहाँबाट बाहिरिने तेलका ट्यांकरहरूलाई पनि अमेरिकाले अवरोध गर्ने तथा कब्जामा लिने कार्य गरिरहेको छ । १० डिसेम्बरमा अमेरिकाले भेनेजुएलाको समुद्री तटबाट एउटा तेल ट्यांकर कब्जामा लिएको थियो ।

भेनेजुएलाबाट इरानमा अवैध रूपमा तेल पठाउन उक्त ट्यांकर प्रयोग गरिएको अमेरिकाको आरोप छ । भेनेजुएलाले भने यसलाई अन्तर्राष्ट्रिय डकैतीको संज्ञा दिएको छ । त्यसयता अमेरिकाले अर्को एक ट्यांकर कब्जामा लिइसकेको र तेस्रो ट्यांकर कब्जामा लिने तयारी भइरहेको जनाएको छ । 

दुई देशबीचका मुख्य ५ विवाद

लागुऔषध तस्करी : अमेरिकामा लागुऔषध आपुर्ति गर्नेहरुलाई भेनेजुएलाले संरक्षण दिइरहेको ट्रम्पको आरोप छ । दक्षिण अमेरिकी देशबाट भेनेजुएला हुँदै युरोप र अमेरिकातर्फ ठूलो परिमाणमा कोकिन गइरहेको अमेरिकी तथ्यांकले देखाउँछ ।

अमेरिकाले गत नोभेम्बरमा ‘कार्टेल दे लोस सोलेस’ लाई आतंककारी संगठन घोषणा गरेको छ । त्यस्तै, मदुरोलाई यसको नेता ठहर गर्दै उनको गिरफुतारीका लागि सुचना दिनेलाई ५ करोड अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ । यद्यपी, मदुरोले यस आरोप अस्विकार गरेका छन् ।

 २ सेप्टेम्बरदेखि क्यारेबियन र प्रशान्त महासागर क्षेत्रमा अमेरिकाले लागु पदार्थ विरोधी अभियान चलाइरहेको छ । जसक्रममा भेनेजुएला हुँदै आउने डुंगामाथि लागुऔषधमा संलग्न भएको आशंकामा आक्रमण गरिरहेको छ । यस कदमले मानवअधिकार उल्लंघन गरेको भन्दै भेनेजुएलाले कडा आपत्ति जनाएको छ ।

मोन्रो डक्ट्रिन  : ट्रम्पको विदेश नीति भेनेजुएलासँगको तनावको अर्को कारण हो । उनले १९ औं शताब्दीको मोन्रो सिद्धान्तलाई पछ्याइरहेका छन् । जसले पृथ्वीको पश्चिमी गोलार्धलाई अमेरिकाको प्रभाव क्षेत्र मान्छ ।

ट्रम्पले यस क्षेत्रमा चीनलाई सैन्य अड्डा र महत्वपूर्ण खनिजजस्ता स्रोतमा पहुँच दिन नहुने बताइरहेका छन् । तर, मदुरो सरकारले चीनसँग उर्जा र खनिज सम्बन्धी सम्झौता गरेको छ । त्यस्तै, इरान र रुससँग पनि उसले सहकार्य बढाएको छ । अमेरिकी राष्ट्रिय सुरक्षाका लागि भेनेजुएला महत्वपूर्ण रहेको ट्रम्पको बुझाई छ ।

उनको चाहना भेनेजुएलामा अमेरिका निकट सरकार बनाउने हो । विगतमा ट्रम्पले गुएदोको दाबीलाई (राष्ट्रपति घोषणा) समर्थन गरेपनि मदुरोलाई सत्ताच्युत गर्न सकेनन् ।

अहिले भेनेजुएलाकी विपक्षी नेता तथा नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना माचाडोले ट्रम्पको नीतिमा आफ्नो पूर्ण समर्थन रहेको बताएकी छिन् । 

तेल : भेनेजुएलाका विश्वकै सबैभन्दा ठूलो तेल भण्डार हो । तर प्रचुर स्रोत हुँदाहुँदै पनि तेल उत्पादन निकै कम छ । 

१९९८ अघिसम्म भेनेजुएला र अमेरिकाको सम्बन्ध निकै सौहाद्र थियो । यहाँका अधिकांशः पेट्रोल खानी  अमेरिकी निजी कम्पनीको स्वामित्वमा थिए । तर, १९९८ मा कम्युनिष्ट नेता हुगो चाभेज सत्तामा आएसँगै चाभेजले पेट्रोल उद्योगहरुलाई सरकारीकरण गर्न थाले ।

यसले निर्णयले अमेरिकासँगको सम्बन्ध बिगार्यो । बिस्तारै क्युवा, इरान र रुससँग भेनेजुएला नजिकिदैं गयो । २०१३ मा चाभेजको निधनपछि उनकै चेला निकोलास मदुरो राष्ट्रपति निर्वाचित भए ।

सन् २०१७ मा अमेरिकामा ट्रम्पले राष्ट्रपतिको सपथ लिएलगत्तै भेनेजुएलामाथि नाकाबन्दी लगाउने घोषणा गरे । यसपछि भेनेजुएलामा राष्ट्रिय संकट सुरु भयो । यही मौकाको फाइदा उठाएर  ०१९ मा भेनेजुएलाको राष्ट्रियसभाका तत्कालीन अध्यक्ष जोआन गुएदोले आफैंलाई राष्ट्रपति घोषणा गरे ।

उनको दाबीलाई अमेरिका, युरोपेली युनियन र अन्य धेरै पश्चिमा देशहरुले समर्थन गरेका थिए । तर, भेनेजुएलाको सेनाले मदुरोलाई नै साथ दियो । यस घटनापछि चीनसँग भेनेजुएलाको सम्बन्ध र आर्थिक निर्भरता थप बढ्यो ।

वर्षौदेखि अमेरिकी प्रतिबन्ध झेलेकाले  यहाँ तेल उत्खनन्का लागि आवश्यक लगानी र उपकरणको अभाव छ । पछिल्ला वर्षहरुमा चीनले त्यसमा सहयोग गर्दै आएको छ । वासिङटनले आफ्नो देशको तेलमा आँखा गाढेको मदुरोको आरोप छ ।

तेल र दुर्लभ पृथ्वी तत्वको खानी भएको र भौगोलिक रुपमा अमेरिकासँग निकै नजिक रहेको देश चीन र रुससँग निकट हुँदा अमेरिकाले निको मानेको छैन ।

जो बाइडेन प्रशासनले सन् २०२० पछि भेनेजुएलासँगको सम्बन्ध सुधार्न उसको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीति लिएको थियो । तर, ट्रम्प दोस्रो कार्यकाल निर्वाचित भएयता फेरि मदुरोसँग सम्बन्ध बिग्रिएको छ । 

क्युवा–इरान : अमेरिकी विदेशमन्त्री मार्को रुबियोसहित ट्रम्पका निकट सहयोगीहरु क्युबाको कम्युनिष्ट सरकार ढाल्नुपर्ने पक्षमा छन् ।

अमेरिकी प्रतिबन्ध झेलिरहेको भेनेजुएलाले आफ्नो तेल क्युबामा पठाउँछ र क्युबाबाट अन्तर्राष्ट्रिय बजारमा बिक्री हुन्छ ।

मदुरो सरकार र क्युाबका राष्ट्रपति मिगेल डियाज–कानेल दुबैलाई सत्तामा रहिरहन यस सम्बन्धले ठूलो भूमिका खेलेको छ । अर्कोतर्फ, इरानमा पनि सत्ता परिवर्तन गर्ने ट्रम्पको योजना छ ।

भेनेजुएलाले इरानमा पनि तेल पठाउने गरेको र ईरानले उक्त तेल सस्तोमा अन्यत्र बेच्दै आएको ट्रम्प प्रशासनको आरोप छ । त्यही रकमबाट इरानले मध्यपूर्वमा उग्रवादी समुह सञ्चालन गरिरहेको र अमेरिकी स्वार्थमा बाधा पुर्‍याएको ट्रम्पको आँकलन छ ।

आप्रवासन : अमेरिकामा ठूलो संख्यामा भेनेजुएलाका नागरिक अवैध बसोवास गर्छन् । सन् २००० देखि २०२१ सम्म अमेरिकामा बसोबास गर्ने भेनेजुएलाका नागरिकको संख्या ९५ हजारबाट बढेर ६ लाख ४० हजार पुगेको प्यु रिसर्च सेन्टरको तथ्यांक विश्लेषणले देखाउँछ ।

 मदुरो सरकारले जनाजान अमेरिकामा शरणार्थी पठाउने काम गरेको ट्रम्पको आरोप छ । 

कान्तिपुर संवाददाता

Link copied successfully