संसद् भवनमा महिला शौचालय बढाउन माग गर्दै जापानी प्रधानमन्त्रीसहितको ज्ञापनपत्र 

जापानको संसद् भवन सन् १९३६ मा निर्माण भएको हो । यसको ९ वर्षपछि जापानमा महिलालाई मतदान अधिकार मिलेको थियो ।

पुस १८, २०८२

कान्तिपुर संवाददाता

Memorandum with Japanese Prime Minister demanding more women's toilets in Parliament Building

What you should know

एजेन्सी — जापानी प्रधानमन्त्री साना ताकाइचीसहितका ५८ जनाभन्दा धेरै महिला सांसद्हरुले संसद् भवनमा महिला शौचालयको संख्या बढाउनुपर्ने मागसहित ज्ञापनपत्र बुझाएका छन् ।

उनीहरुले तल्लो सदनको नियम तथा प्रशासन समितिका अध्यक्ष यासुकाजु हमादालाई ज्ञापनपत्र बुझाएका हुन् । यस मागमा अध्यक्ष हमादा सकारात्मक रहेको जापानी दैनिक पत्रिका आशाही सिम्बुनमा प्रकाशित समाचारमा उल्लेख छ ।

जापानको ४ सय ६५ सिट भएको जापानको तल्लो सदनमा अक्टुबरमा २०२४ को निर्वाचनबाट ७३ महिला निर्वाचित भएका छन् । यो अहिलेसम्मकै उच्च संख्या हो । यसअघिको किर्तिमान सन् २००९ को निर्वाचनमा बनेको थियो, त्यतिबेला ५४ जना निर्वाचित भएका थिए । 

विपक्षी दलकी सांसद् यासुको कोमीयामाले प्रायः अवस्थामा संसद् बैठक सुरु हुनअघि शौचालयमा लामो लाईन लाग्ने गरेको बताइन् ।  संसद्को बैठक कक्षनजिक दुईवटा कम्पार्टमेन्टसहितको एउटा शौचालय छ ।

समग्र संसद् भवनमा २२ वटा कम्पार्टमेन्टसहितका ९ शौचालय छन् ।  जबकी पुरुषका लागि ६७ वटा स्टल्स र युरिनलसहितका १२ वटा शौचालय रहेको स्थानीय मिडियाले जनाएका छन् ।

महिलाको संख्या संसद्मा बढ्दै गएकाले शौचालयको संख्या पनि बढाउनुपर्ने अवस्था रहेको सांसद्हरुको माग छ । 

जापानको संसद् भवन सन् १९३६ मा निर्माण भएको हो । यसको ९ वर्षपछि जापानमा महिलालाई मतदान अधिकार मिलेको थियो । जापानको संसद्मा १९४६ मा पहिलोपटक महिलालाई नियुक्ती दिइएको थियो । 

सन् २०२० भित्र समाजका हरेक तप्कामा कम्तिमा ३० प्रतिशत नेतृत्वदायी भूमिकामा महिलालाई पुर्या‍उने लक्ष्य जापानको थियो । तर यो लक्ष्य पूरा हुन नसकेपछि यसलाई आगामी दशकका लागि धकेलियो । 

जापानको तल्लो सदनमा अहिले झन्डै १६ प्रतिशत महिला छन् । त्यस्तै माथिल्लो सदनका १ सय २५ सिटमध्ये ४२ जना महिला छन् । 

गत अक्टुबरमा साना ताकाइजी जापानको पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् । उनले नोर्डिक देशहरुकै हाराहारीमा आफ्नो मन्त्रीपरिषद्मा पनि महिलालाई समेट्ने वाचा गरेकी थिइन् ।

नोर्डिक देशहरु महिला प्रतिनिधित्वका लागि निकै अगाडि छन् । तर, उनको वाचा र व्यवहार मिल्दोजुल्दो छैन । जापानकोे १९ सदस्यीय मन्त्रिपरिषद्मा   केवल दुई महिला मात्रै छन् । 

कान्तिपुर

Link copied successfully